npl.977 Nepal News Stream

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

क्यान्सरसँग लड्दै ३ वर्षीय छोरा,आर्थिक सहयोगका लागि अपिल

राजधानी समाचारदाता 14 hours ago

काठमाडौं । भारतस्थित चण्डिगढको पीजीआई अस्पतालको एउटा कोठामा बसिरहेका पदम शाहीका दिनहरू अस्पतालको बेड वरिपरि सीमित भएका छन् । ३ वर्षका छोरा निर्देश शाही क्यान्सरसँग जुधिरहेका छन्, र बुबा पदमको जीवन आशा र पीडाको बीचमा अल्झिएको छ ।

२०८२ कात्तिक २२ गतेबाट सुरु भएको यो संघर्ष सुरुमा सामान्यजस्तो देखिएको थियो । छोराको घाँटीको एकातिर सानो खटिरा देखियो । सुर्खेतको बाल क्लिनिकमा देखाइयो, एन्टिबायोटिक दिइयो । सुधार नआएपछि नेपालगञ्ज लगियो ‘गर्मीले होला, ठिक भइहाल्छ’ भन्ने सल्लाह पाइयो। तर रोगले झन् गहिरो रूप लिँदै गयो ।

अन्ततः काठमाडौंको कान्ति बाल अस्पतालमा एक महिना बित्यो-मंसिर १६ देखि पुस १६ सम्म । तर पदमलाई लाग्यो, उपचारभन्दा बढी प्रतीक्षा भइरहेको छ । ‘डाक्टरको व्यवहार फरक लाग्थ्यो, केयर गरेको जस्तो लाग्दैनथ्यो,’ उनी सम्झिन्छन्, ‘ओपीडीमा १ बजेसम्म बस्दा पनि राम्रोसँग हेर्ने समय नपाइन्थ्यो ।’

जब देशभित्र उपचारको आशा कमजोर हुँदै गयो, अन्तिम विकल्प बनेर उनी भारतको चण्डिगढ पुगे । अहिले त्यहीँ पीजीआई अस्पतालमा छोरा उपचाररत छन् । डाक्टरहरूले कम्तीमा एक वर्षभन्दा बढी समय लाग्ने बताएका छन् । तर पदमका लागि यो केवल रोगसँगको लडाइँ मात्र होइन-यो जीवनसँगको संघर्ष पनि हो । उनको यो पीडा नयाँ होइन । २०७४ माघ १४ गते, उनले आफ्नो ७ वर्षको अर्को छोरा पनि काठमाडौँको कान्ति बाल अस्पतालमा गुमाइसकेका छन् । डेढ महिना आईसीयूमा राख्दा करिब ८ लाख खर्च भयो, तर बचाउन सकिएन ।

‘त्यो बेला आफुसँग केही पैसा थियो र पनि बचाउन सकिएन, अहिले त पैसा पनि छैन, गाउँबाट साथीभाइसँग सरसापट गरेर ल्याएको पनि सकिनै लाग्योे, कताबाट पैसाको जोहो गर्नेहोला भन्ने पीरले दिनरात छटपटिनुबाहेक कुनै उपाय छैन’ उनी भन्छन् ।

अहिले फेरि उस्तै परीक्षा दोहोरिएको छ । ३५ सय रुपैयाँ भाडाको सानो कोठामा श्रीमतीसहित बसिरहेका पदमसँग चार सन्तान छन-तीन छोरी (१०, ८, ६ वर्ष) र बिरामी ३ वर्षको छोरा । घरबाट ल्याएको ३ लाख रुपैयाँ काठमाडौंमै सकियो, चण्डिगढ आइपुग्दा थप ४ लाख सकियो । गाउँघरका साथीभाइले उठाइदिएको सहयोग पनि सकिनै लागेको छ । ‘एउटै किमोथेरापीमा ४०–४५ हजार रुपैयाँ लाग्छ,’ उनी भन्छन्, ‘कसरी धान्ने, केही थाहा छैन, दिनरात चिनताले पिरोल्न थालेको छ ।’

आर्थिक संकट झन् गहिरो छ । पदम पहिले ठाटीकाँध गाउँपालिकाअन्तर्गत चुली प्रावि, गैरागाउँमा शिक्षक थिए । तर १० महिनादेखि तलब पाएका छैनन् । ‘कार्यपालिका बैठकमा राख्ने भनेको पनि सम्पर्क छैन,’ उनी गुनासो गर्छन् ।

उनको विगत पनि अस्थिरताले भरिएको छ । २०७४ मा एकमुष्ट तलब प्रणाली हटेपछि १६ महिनाको पारिश्रमिक नपाएको पीडा अझै ताजै छ । अहिले निजी स्रोतमा पढाउँदा पनि अवस्था उस्तै छ । ‘मेरो जिन्दगी एकदमै नाजुक अवस्थामा छ,’ पदम भन्छन्, आँखामा आँसु झल्काउँदै, ‘छोरालाई बचाउन चाहन्छु, तर हात खाली हुँदै गइरहेको छ ।’ पीजीआई अस्पतालको कोठामा, सानो बालक क्यान्सरसँग लडिरहेको छ । सँगै, बुबा पदम पनि आफ्नो हैसियत, अवस्था र समयसँग लडिरहेका छन् ।

आफ्नो आर्थिक अवस्था दिनहुँजस्तो नाजुक र दयनीय हुँदै गएकोले उपचारको लागि अन्य कुनै ठाउँबाट आउने आयस्रोत नभएकोले छोरालाई बचाउन सहयोगको याचना गरेका छन् । उनलाई सहयोग गर्नेले कुमारी बैंक लिमिटेडमा रहेको उनको नाम पदम बहादुर शाही खाता नम्बर २०३०२०१६०७९००००१ मा सहयोग गर्न सकिएने उनले बताए ।

The post क्यान्सरसँग लड्दै ३ वर्षीय छोरा,आर्थिक सहयोगका लागि अपिल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Read more news from राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

Explore by Source or Category