npl.977 Nepal News Stream

Nepali Link

लन्डनमा यही साता तेश्रो बिस्का जात्रा, यूकेमै बनाइए रथ र योसिंद्दो

Nabin Pokharel 2 days ago

लन्डन– पासा पुचः गुथि यूकेले यही साता १९ अप्रिल आइतबार डार्टफोर्ड ओपन एयर थिएटर सेन्ट्रल पार्कमा गर्न लागेको तेश्रो लन्डन बिस्का जात्राको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएका छन् ।

पासा पुचः गुथि यूकेले लन्डनस्थित नेपाली दूतावासको सहकार्य र स्थानीय संघसंस्थाको सहयोगमा गर्ने तयारी गरिरहेको बिस्का जात्राका लागि बेलायतमै रथ बनाउने कार्य सकिएको छ ।

तान्ने दुईवटा भैरव रथ र भद्रकाली रथ एवं उठाउने योसिंद्दो निर्माण भइसकेको पासा पुच गुथि यूके बिओटी अध्यक्ष सुशील प्रजापतिले जानकारी दिए ।

उनले मध्यपुरको प्रख्यात बिस्का जात्रा (सिन्दुर जात्रा) बालकुमारी खः, सिद्दीकाली खः, बिष्णुवीर खः र दक्षिण बाराही खः देखाउने योजना अनुरुप तयारी भइसकेको पनि बताए ।

जात्राको आकर्षण ठानिएका बाजाका लागि पासा पुचः गुथि यूकेका विभिन्न शाखाहरु तयारी अवस्थामा छन् । साउथ इष्ट लन्डन, लन्डन र अल्डरसट शाखाले धिमे बाजाको ४ टोलीको प्रवन्ध गरेका छन् भने धाः बाजाको २ टोली जात्रामा ल्याउन साउथ इष्ट लन्डन र रेडिङ शाखा जुटिरहेका छन् । त्यस्तै, बासुरी बाजाको ४ टोली रहनेछन् जसलाई साउथ इष्ट लन्डन लन्डन, अल्डरसट र रेडिङ शाखाले संयोजन गरिरहेका छन् ।

साउथ इष्ट लन्डन शाखाले नाय् खिं बाजा प्रस्तुत गर्ने तयारी गरेको छ । अरु बाजाहरु खिं, पोंगा, मिरध्ंगा लगायत पनि प्रस्तुत गरिने प्रजापतिले जनाए ।

जात्राका दिन हुने अन्य गतिविधि र आकर्षणमा समेबजि दों, खानाका परिकारहरु, आइसक्रिम भ्यान, पेय पदार्थ तथा व्यापारिक स्टलहरु, राफल ड्र (नेपाल जाने आउने हवाइ टिकट पुरस्कार) फेस पेन्टिंग पनि समावेश हुने आयोजकले जनाएका छन् ।

प्रजापतिका अनुसार, भैरव गण नाच, शेर शिंह नाच, गोर्खाली टाकटुके नाच र धिमे नाच जात्राका थप आकर्षण छन् ।

नेवा कला संस्कृतिलाई अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यसहित बिस्का जात्रा गरिएको आयोजकको भनाइ छ । भक्तपुरको प्रख्यात बिस्का जात्रालाई कपी नगरि लन्डन फ्यूजनमा परिणत गर्न आयोजक प्रयत्नरत छन् ।

अध्यक्ष प्रजापतिले नेपालबाट विभिन्न नगरपालिका मेयरहरु, सम्पदा र संस्कृतिविदहरु एवं लन्डनस्थित नेपाली दूतावास परिवार, बेलायती नेपाली डायष्पोरा लिडरहरु, युरोप र विश्वका अन्य देशबाट समेत अतिथीहरु बोलाइएको जनाए ।

इभेन्ट को–अर्डिनेटरका रुपमा पासा पुच गुथि यूके साउथ इष्ट लन्डनले संयोजन गरिरहेको छ । जात्रा मध्यान्ह १२ बजे शुरु भई सांझ ६ बजे समापन हुनेछ भने करिब २५०० दर्शक अपेक्षा गरिएको छ । जात्रा हेर्न अनलाइन लिए १० पाउण्ड र प्रवेशद्धारमा लिए १५ पाउण्ड टिकट शुल्क लाग्नेछ । १२ वर्ष मुनिका बालबालिकालाई भने निःशुल्क प्रवेश दिइनेछ ।

यस जात्रा सन् २०२२ मा लन्डनमा पहिलोपटक गरिएको थियो । दोश्रो २०२४ मा गरियो भने यसपटक तेश्रो संस्करण अझ परिष्कृत स्वरुपमा हुन लागेको हो ।

Read more news from Nepali Link

Explore by Source or Category