दाङको सञ्जीवनी टिचिङ हस्पिटलमा विशिष्टीकृत सेवा विस्तार गरिँदै
दाङ – दाङमा सञ्चालित सञ्जीवनी टिचिङ हस्पिटलले सेवा विस्तारलाई तीव्रता दिएको छ। माघ २८ गतेदेखि सेवा सुरु गरेको अस्पतालले अब एक महिनाभित्र न्युरोलोजी, कार्डियोलोजी र युरोलोजी अन्तर्गतका विशिष्टीकृत (सुपरस्पेशियालिटी) सेवाहरू सञ्चालनमा ल्याउने तयारी गरेको छ। लमहीमा बिहीवार पत्रकार सम्मेलन गर्दै अस्पतालको सेवाबारे जानकारी दिइएको थियो।
विशेषज्ञ सेवा उपलब्ध गराउँदै आएको अस्पतालले सुपरस्पेशियालिटी सेवा सुरु भएपछि साविक राप्ती क्षेत्रका बिरामीलाई उपचारका लागि बाँके र रुपन्देही जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

अस्पतालमा जर्मनीको सिमेन्स कम्पनीको १.५ टेस्ला क्षमताको अत्याधुनिक एमआरआई मेसिन जडान गरिएको छ। ‘हेलियम फ्री’ प्रविधियुक्त उक्त मेसिन नेपालमै पहिलो भएको अस्पतालले जनाएको छ। त्यस्तै १९२ स्लाइस क्षमताको सिटी स्क्यान मेसिनबाट पनि सेवा दिइँदै आएको छ।
करिब चार अर्ब रुपैयाँ लगानीमा निर्माण सम्पन्न अस्पतालमा हाल ३०० शय्या सञ्चालनमा छन्। ओपिडी सेवाअन्तर्गत जनरल फिजिसियन, हाडजोर्नी तथा नशा, स्त्री तथा प्रसूति, जनरल सर्जरी, मानसिक तथा नसारोग, छाला तथा यौन, बालरोग, मुटुरोग, ग्यास्ट्रोलोजी, इएनटी, दन्त, नेत्र, एनेस्थेसियोलोजी, प्याथोलोजी, रेडियोलोजी तथा फिजियोथेरापी सेवा उपलब्ध छन्।
क्रिटिकल केयरतर्फ आइसियु, सिसियु, एमआइसियु, एनआइसियु, पिआइसियु, एसआइसियु, एचडियु तथा हेमोडायलासिस सेवा सञ्चालनमा छन्। त्यस्तै रेडियोग्राफी सेवाअन्तर्गत डिजिटल एक्स–रे, भिडियो एक्स–रे, म्यामोग्राफी, इसिजी, इको, सिटी स्क्यान, एमआरआई, इन्टरभेन्सनल इन्डोस्कोपी र कोलोनोस्कोपी सेवा उपलब्ध छन्।
भर्ना हुनुपर्ने बिरामीका लागि जनरल वार्ड तथा क्याबिनको व्यवस्था गरिएको छ। साथै क्याथ ल्याब, पीएफटी, इएमजी, ईईजी, ब्लड बैंक र एम्बुलेन्स सेवा पनि उपलब्ध छन्। अस्पतालले २४ सै घण्टा इमर्जेन्सी, फार्मेसी, ल्याब र सिटी स्क्यान सेवा दिइरहेको छ। मोडुलर अपरेशन थिएटरमार्फत सामान्यदेखि जटिल सर्जरीसमेत सञ्चालन भइरहेका छन्।

शैक्षिक कार्यक्रमअन्तर्गत आगामी वर्षदेखि नर्सिङ तथा पारामेडिक्स विषय अध्यापन सुरु गर्ने योजना रहेको अस्पतालले जनाएको छ। आगामी तीन वर्षभित्र एमबीबीएस र बीडीएस कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखिएको छ।
अस्पतालले तीन वर्षभित्र शैया संख्या ५०० पुर्याउने लक्ष्य राखेको छ। हालकै संरचनाबाट उक्त क्षमता विस्तार गर्न सकिने अस्पतालले जनाएको छ। अहिले करिब ३५० जनाले रोजगारी पाएका छन्।
निजी क्षेत्रको लगानीमा स्थापना भएको अस्पतालले जनस्वास्थ्य सेवा ऐन २०७५, जनस्वास्थ्य सेवा नियमावली २०७७ तथा स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७ अनुरूप सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएको छ। अस्पतालका प्रमुख कार्यकारी अधिकृत दीपक रोकाले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न संस्था प्रतिबद्ध रहेको बताए।