npl.977 Nepal News Stream

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

आहा राराको फाइनल हुनेछ रोचक

विजय नेपाल 2 hours ago

पोखरा । पोखरा रंगशालामा शनिबार हुने २५ औं आहारारा पोखरा गोल्डकपको उपाधि भिडन्त रोचक हुने भएको छ । किनकि आयोजक सहारा क्लब पोखरा र जावलाखेल युथ क्लब क्रमशः ९ र १४ वर्षपछि उपाधि भिडन्तमा पुगेका हुन् ।

यति लामो समयपछि फाइनल पुगेका उनीहरु दुबैले जसरी पनि रजत संस्करणको ट्रफी उचाल्ने दाउमा हुनेछन् ।

सहारा क्लब पोखरा आयोजनामा गत २७ माघदेखि सुरु ऐतिहासिक रजत संस्करण आफैँमा पनि महत्वपूर्ण छ । १२ टिमले भाग लिएको सो प्रतियोगितामा सर्वाधिक विजेता टिम होस् वा उपाधि दाबेदार मानिएका टिमहरु पाखा लागिसकेका छन् ।

शुक्रबार आयोजित प्रि–म्याच कन्फरेन्समा सहारा र जावालाखेलका प्रशिक्षक तथा टिम क्याप्टेनले उपाधि आ–आफ्नो टिमले जित्ने दाबी गरे । सहाराका प्रशिक्षक सुनिल रानामगर सहाराले १२ औं संस्करणको उपाधि जित्दा म्यानेजर भूमिकामा थिए । उनी आयोजकलाई ९ वर्षपछि दोस्रोपल्ट उपाधि दिलाउन भरमग्दूर लागेका छन् ।

प्रशिक्षक रानामगरले भने, ‘१२ वर्षपछि खोला फर्काउने तयारीमा छौं ।’ आयोजकले १२ वर्षअघि १२ औं संस्करणमा मनाङ मस्र्याङ्दी क्लबलाई १–० ले हराउँदै पहिलोपल्ट उपाधि चुमेको हो । ११ र १५ औं संस्करणमा फाइनल पुगेर पनि उपविजेतामै सीमित भएको थियो ।

‘सबैको मनोबल हाइमोरल छ । जति पनि परफमेन्स भयो, त्यसमा स्कोर नकिस्ने पनि फाइनलमा स्कोर निकाल्ने एकमात्र उद्देश्य हुनेछ,’ रानामगरले पत्रकार सम्मेलनमा भने ।

यसैगरी, जावलाखेलका प्रशिक्षक सुनिलकुमार श्रेष्ठले भने, ‘होम टाउनमा आयोजकसँग खेल्दा हामीलाई दर्शकको प्रेसर त पर्छ नै, तर पनि हामीहरु सेटअप गर्छौ ।’ सहाराको टिम पनि राम्रो भएको उनको प्रतिक्रिया थियो । जावलाखेल २०६८ सालमा मात्र फाइनल पुगेको थियो ।

सहाराका क्याप्टेन सुशील लामा र जावलाखेलका क्याप्टेन उनेश चौधरीले शनिबारको फाइनल निकै प्रतिस्पर्धात्मक र स्कोर लिने दाउमा हुने बताए । सहाराका क्याप्टेनको भूमिकामा रहेका सुशील सहारा एकेडेमीका दोस्रो ब्याचका उत्पादन पनि हुन् ।

सहाराले उद्घाटन खेलमा गोर्खा इन्टरनेशनल फुटबल क्लबलाई हराउँदै विजयी यात्रा सुरुआत गरेको थियो । सर्वाधिक ६ पल्टका उपाधि विजेताहरु पुलिस फुटबल क्लबलाई क्वाटरफाइनलमा र मनाङ मस्र्याङ्दी क्लबलाई सेमिफाइनलमा सडन डेथको शिकार बनाउँदै फाइनल पुगेको हो ।

उता, पहिलो खेलमा मच्छिन्द्र क्लबलाई हराएको जावलाखेलले प्रिक्वाटरमा चर्च ब्वाइज युनाइटेड र सेमिफाइनलमा आभा फुटबल क्लब, उज्वेकिस्तानलाई पराजित गर्दै उपाधि भिडन्त सुनिश्चित गरेको हो ।

विजेताले १४ लाख र उपविजेताले ७ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । साथै, विधागत पुरस्कारको व्यवस्था पनि रहेको प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङले बताए ।

The post आहा राराको फाइनल हुनेछ रोचक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Read more news from राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

Explore by Source or Category