npl.977 Nepal News Stream

News of Nepal logo News of Nepal

केमिकल अभावमा एचआईभी संक्रमितको भाइरल लोड गर्ने मेसिन बेकामे

न्युज अफ नेपाल 7 hours ago

पोखरा ।

रिएजेन्ट (रसायनिक पदार्थ) अभावमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सञ्चालित एचआईभी संक्रमितको उपचार केन्द्र एआरटी (एन्टिरेट्रो भाइरल थेरापी) मा रहेको भाइरल लोड मेसिन लामो समयदेखि त्यत्तिकै थन्किएको छ ।

भाइरल लोड एचआईभी संक्रमितहरूको रगतमा एचआईभी भाइरसको मात्रा पत्ता लगाउन प्रयोग हुने मेसिन हो । उक्त परीक्षणका लागि सम्बन्धित भाइरल लोड मेसिनकै रिएजेन्ट आवश्यक पर्छ । तर, हाल जडित कम्पनीको मेसिनले रिएजेन्ट उत्पादन गर्न छाडेपछि मेसिन झन्डै एक वर्षदेखि बेकामे भएको हो ।

नयाँ मेसिन ल्याउन करोडौं लाग्ने भएपछि अस्पतालले सेवाग्राहीलाई प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पठाउने गरेको छ । प्रयोगशालाबाट रिपोर्ट आउन ढिलाइ हुने भएकाले सेवाग्राही मर्कामा परेका छन् । ‘अस्पतालभित्रै भाइरल लोड मेसिन प्रयोग हुँदा काम छिटो हुने गथ्र्यो’ –एआरटी सेवामा सहयोग गर्दै आएको एड्स हेल्थकेयर फाउन्डेसन (एएचएफ) गण्डकी प्रदेशकी कार्यक्रम संयोजक विद्या कोइरालाले भन्नुभयो ।

२०६३ मा यस अस्पतालमा एआरटी सेवा सुरु भएकोमा एएचएफले २०७२ देखि सहयोग गर्दै आएको छ । एचआईभी संक्रमितको उपचार यही एआरटीमार्फत गरिन्छ । यो थेरापीले एचआईभी भाइरसलाई दबाउन र रोगको प्रगतिको गति रोक्न मद्दत पु¥याउँछ । एन्टिरेट्रो भाइरल औषधिहरूको संयोजनसमेत रहेको एआरटीले एचआईभी भाइरसको प्रतिलिपि बनाउन पनि रोक्छ ।

‘एआरटीको मुख्य उद्देश्य भनेको एचआईभी भाइरसको मात्रा घटाउनु हो ताकि शरीरको प्रतिरक्षा प्रणाली बलियो रहन सकोस्’, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका फिजिसियन डा.शरदचन्द्र बरालले भन्नुभयो– ‘एचआईभी भाइरसको वृद्धि नियन्त्रण, प्रतिरक्षा प्रणाली बलियो बनाउन, भाइरसको प्रगति रोक्न, एचआईभीसँग सम्बन्धित रोगहरूको जोखिम घटाउन र जीवनको गुणस्तर सुधार्न एआरटी अनिवार्य छ ।

’ एचआईभी संक्रमितले नियमित रूपमा औषधि सेवन गरेमा उसको आयु सामान्य मानिस बराबर हुने उहाँले बताउनुभयो । यसका लागि एआरटी औषधीहरू दैनिक रूपमा लिनुपर्ने, नियमित जाँच गराई चिकित्सकको सल्लाहबमोजिम औषधि लिनुपर्ने भन्दै उहाँले एआरटी खाँदैमा एचआईभी निको नहुने र यो औषधि बाँचुन्जेल खानुपर्ने सुनाउनुभयो । एचआईभीको परीक्षण स्वास्थ्य संस्थामा निःशुल्क हुन्छ ।

नोभेम्बरको अन्तिमसम्ममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट १ हजार ५ सय ७२ जनाले एआरटी सेवा लिइरहेका छन् । त्यसमा १४ वर्षसम्मका बालक ११ र बालिका १६ जना गरी २७ जना रहेका छन् । यसै गरी १५ वर्षभन्दा माथिका ८ सय १९ जना पुरुष र ७ सय २१ जना महिला गरी १ हजार ५ सय ४० जना र ५ जना तेस्रो लिङ्गी रहेका डा. बरालले बताउनुभयो । यो संख्या गण्डकी प्रदेशभरको आधाभन्दा बढी हो ।

प्रादेशिक जनस्वास्थ्य केन्द्र कास्कीका क्षयकुष्ठ अधिकृत लक्ष्मण बसौलाका अनुसार गण्डकी प्रदेशभर ३ हजार ६६ जना एआरटीमा उपचाररत छन् । त्यसमा १ हजार ५ सय ७ जना महिला र १ हजार ५ सय ५० पुरुष र यौनिक अल्पसंख्यक ९ जना रहेका र उमेर समूहअन्तर्गत १५ वर्षमुनिका ६४ जना र १५ वर्षमाथिका ३ हजार २ जना छन् । प्रदेशभरिका ११ अस्पतालमा एआरटी केन्द्र रहेका बसौलाले बताउनुभयो । तर, अधिकांश सेवा लिन पोखरा नै आउन चाहन्छन् । तथ्यांकअनुसार सबैभन्दा बढी ४० देखि ४९ वर्ष समूहका व्यक्तिहरू एचआइभी संक्रमित छन् ।

एआरटीमा चिकित्सक परामर्श, संक्रमितको नियमित फलोअप, कन्डम वितरण, जोखिममा रहेका समुदायको पहिचान, परीक्षण र उपचार, भाइरल लोड र सिटी४ परीक्षण, क्षयरोगको स्क्रिनिङ, पाठेघरको मुखको क्यान्सर स्क्रिनिङलगायत सेवा उपलब्ध हुन्छन् । साथै एएचएफको सहयोगमा खाद्यान्न र पोषण, औषधि सहयोग, गरिब परिवारलाई यातायात खर्चलगायत सेवा पनि दिइन्छ । ‘नेपाल सरकारले तोकेको जोखिमयुक्त समुदायमा गएर परामर्श दिने र शंकास्पदको परीक्षण पनि गर्ने गर्छौं’, संयोजक कोइराला भन्नुहुन्छ– ‘एचआइभीसहित यौनजन्य अन्य सेवा पनि दिँदै आएका छौं ।’

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्रेमराज पंगेनीले भाइरल लोड गर्ने मेसिन नहुँदा परीक्षणका लागि काठमाडौं पठाउने गरेको जानकारी दिनुभयो । ‘हामीसँग सिबी फोर छ । यसले कोष हेर्ने गर्छ । तर, भाइरल लोड मेसिन भने छैन त्यसका लागि काठमाडौं नै जानुपर्छ’ –उहाँले भन्नुभयो ।

एआरटीको सम्पर्कमा आएका कतिपय संक्रमितहरू नियमित नआउने, हराउने, नियमित औषधि सेवन नगर्नेजस्ता समस्या पनि रहेका छन् । साथै बजारमा सजिलै औषधि नपाइने, रियजेन्ट र किटको खरीदमा कठिनाइ तथा बहुवर्षीय खरिद योजनाको अभाव, एआरटी परामर्शकर्ताको स्थायी दरबन्दी अभाव, सामाजिक, आर्थिक अवस्था र भेदभावको कायमै रहँदा एचआईभी संक्रमितहरू खुलेर नआउनेलगायत चुनौती पनि सेवामा देखिएका छन् ।

नेपालमा महिला यौनकर्मी र उनीहरूका ग्राहक, सुईबाट लागुऔषधि प्रयोगकर्ताहरू, आप्रवासी कामदार र उनीहरूका परिवार, समलिङ्गी पुरुष र तेस्रो लिङ्गीहरू एचआईभीको उच्च जोखिममा रहेका छन् ।

Read more news from News of Nepal

Explore by Source or Category