Sutra News
रिलिजको दुई महिनामै ‘झरीपछिको इन्द्रेणी’ युट्युबमा (भिडियाेसहित)
काठमाडौं । भ्रष्टाचार र बेथितीविरुद्धको सशक्त सन्देश बोकेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ अब युट्युबमा हेर्न सकिने भएको छ। पुस ४ गतेदेखि सिनेमा हलमा प्रदर्शनमा आएको यो फिल्म हलबाट उत्रिएको दुई महिनामै युट्युब च्यानलमार्फत सार्वजनिक भएकाे हाे ।
फिल्म रास्वपाका वरिष्ठ नेता बालेन शाहको आधिकारिक युट्युब च्यानलमार्फत बिहीबार सार्वजनिक गरिएकाे हाे ।
फिल्मका निर्देशक अर्जुन घिमिरे (पाँडे) हुन्। उनका अनुसार समसामयिक राजनीतिक र सामाजिक परिवेशलाई मध्यनजर गर्दै फिल्मलाई युट्युबमा ल्याउने निर्णय गरिएको हो।
“यो चेतना जगाउने फिल्म हो। सुशासन र न्यायको पक्षमा नागरिकलाई जागरूक बनाउन सिनेमा प्रभावकारी माध्यम हुन सक्छ भन्ने हाम्रो विश्वास हो,” युट्युबमा फिल्म सार्वजनिक गरिएकाे बारे निर्देशक घिमिरेले भनेका छन् ।
फिल्ममा स्वयं निर्देशक अर्जुन घिमिरेसहित गणेश उप्रेती, रमेश उप्रेती, दीपाश्री निरौला, सरिता गिरी, प्रकाश घिमिरे, विमोचन दवाडी, जेसिका पोखरेल र प्रियना आचार्यलगायत कलाकारहरूको अभिनय रहेको छ।
हेर्नुहाेस् फिल्म