Sutra News
राजनीतिक दललाई घण्टीघरबाट रवि लामिछानेको एक सन्देश
काठमाडौं । अदालतको आदेशबमोजिम थुनामुक्त भएका रास्वपा सभापति रवि लामिछाने आइतबार बनस्थलीस्थित केन्द्रीय पार्टी कार्यालय घण्टीघर पुगे । पार्टी कार्यालयबाट उनले राजनीतिक दल (विघटित संसद्का प्रमुख दलहरु)लाई एक सन्देश दिएका छन्, जसले आगामी निर्वाचनमा कडा चुनौती दिने उनको विश्वास छ ।
गत बिहीबार (पुस ३) उच्च अदालत तुलसीपुर बुटवल इजलासले उनलाई बिगोबमोजिमको रकम बुझेर थुनामुक्त गर्न आदेश दिएको थियो ।
सहकारी ठगीसहित अभियोग लागेका रविले आफूविरुद्धको अभियोगबमोजिम बिगो बुझेर थुनामुक्त गरी बाहिरै बसेर कानुनी लडाइँ लड्ने मौका दिन माग गर्दै दिएको थिए । सोही निवेदनउपर गत उच्च अदालतका न्यायाधीश बासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले रविलाई २ करोड ७४ लाख ८४ हजार रुपैयाँ जमानतवापत राखेर थुनामुक्त गर्न आदेश दिएको हो । साथै थप करोड धरौटी पनि माग गरिएको थियो । अदालतको आदेशबमोजिम सबै प्रक्रिया पूरा गरेर रवि शुक्रबार (पुस ४) थुनामुक्त भए ।
थुनामुक्त भएपछि आइतबार पहिलो पटक पार्टी कार्यालय पुगेका उनले पुराना भनिएका राजनीतिक दलप्रति आक्रोश, जेनजी आन्दोलनको मागको रक्षादेखि आगामी निर्वाचनको रणनीतिसम्मका विषयमा अभिव्यक्ति दिए ।
रविको एक सन्देश
सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्ने गरी कार्य गरिरहेको छ । उक्त निर्वाचनका लागि राजनीतिक पार्टीले दल दर्ता पनि गरिसकेका छन् । सोही क्रममा कुलमान घिसिङले उज्यालो नेपाल पार्टीदेखि अभियन्ता खगेन्द्र सुनारको हाम्रो पार्टी नेपाल गरी २५ वटा नयाँ दल दर्ता भए ।
पुरानो राजनीतिक दलहरुले आफूविरुद्ध प्रतिशोध साँधेको बताउँदै आएका रास्वपा सभापति रवि लामिछानेले आवश्यक परे सबै नयाँ दलहरुले एकढिक्का भएर अघि बढ्ने चेतावनी दिए । सबै नयाँ दलहरु एकढिक्का भएर पुराना दलहरुलाई आगामी निर्वाचन पराजित गरिदिने उनको चेतावनी थियो ।
‘देश अहिले कमजोर अवस्थामा पुगेको छ। यो अवस्थामा ठाउँ–ठाउँबाट चलखेल गर्दै कमजोर बनाउन खोज्ने र आफ्नो रोटी सेक्न खोज्नेहरू सलबलाइरहेका छन् । म उनीहरूलाई सलबलाउन नअनुरोध गर्न चाहन्छु । कमजोर भएका बेला हामीले एकजुट भएर संरक्षण गर्ने बेला हो, लुछ्ने बेला होइन । मुलुकलाई लुछ्ने सोच कसैले पनि राख्न जरुरी छैन । यो जोगाउने समय हो,’ उनले भने, ‘कमजोर छ, यसैबेला केही पाइहालिन्छ कि भनेर गिद्धे नजर लगाएर नहिँड्नु होला । एकचोकटा पनि पाइँदैन, किनकि यसलाई जोगाउन रास्वपा र नयाँ शक्तिहरू आवश्यक परे एकढिक्का भएर अगाडि बढ्दै छन् ।’
रास्वपा, उज्यालो नेपालसहित नयाँ राजनीतिक दलबिच चुनावी तालमेल गरेर अघि बढ्न सक्ने अनुमान गरिएका बेला आइतबार रविले पनि यसप्रति संकेत गरेका हुन् । उनका अनुसार आगामी निर्वाचनमा नयाँ राजनीतिक शक्ति एक भएर अघि बढ्नेछन् ।