राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)
पाँचखपनले जित्यो अन्तरपालिका पुरुष भलिबल उपाधि
संखुवासभा । चिचिला गाउँपालिका–४ स्थित मत्स्यपोखरीमा ‘अन्तरपालिका पुरुष भलिबल तथा महिला प्रतियोगिता’ फाइनलमा पुरुषतर्फको उपाधि पाँचखपन नगरपालिकाले जितेको छ । चिचिला गाउँपालिकाको पर्यटकीय क्षेत्र मत्स्यपोखरीको प्रवर्धन उद्देश्यसहित खुल्ला अन्तरपालिका पुरुष तथा महिला भलिबल प्रतियोगिता र सांस्कृतिक कार्यक्रम आयोजना गरिएको हो ।
मंगलबार सम्पन्न फाइनलमा संखुवासभाको मकालु गाउँपालिकालाई हराउँदै पाँचखपन नगरपालिकाले उपाधि जितेस“गै २५—१९,२५—२१, २५—१७ अंक प्राप्त गरेको छ । मकालुले २५—१७ अंक प्राप्त गरेको थियो । पाँचखपनले एकविरुद्ध तीन सेटअन्तरमा मकालु गाउँपालिकालाई पराजित गरेको हो । मकालु गाउँपालिकाले एक सेट जित्दै उपविजेतामा नै चित्त बुझायो । त्यस्तै, आयोजक चिचिला गाउँपालिका ‘ए टिम’ र सभापोखरी गाउँपालिका सेमिफाइनलिस्ट भएका छन् ।
पुरुष भलिबलतर्फको विजेता पाँचखपनले नगद १ लाख ५५ हजार र उपविजेता मकालुले नगद ७५ हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्रसहित प्राप्त गरेका छन् । सेमिफाइनलिस्ट आयोजक चिचिला ‘ए’ र सभापोखरीले नगद २५–२५ हजार रुपैयाँ प्राप्त गरेको चिचिला गाउँपालिका खेलकुद विकास समिति अध्यक्ष आशिष गुरुङले जानकारी दिए ।
यसैगरी, ‘अन्तरपालिका महिला भलिबल प्रतियोगिता उपाधि’ भने भोजपुर आमचोक गाउँपालिकाले जितेको छ । मंगलबार नै सम्पन्न फाइनलमा भोजपुरकै साल्पा सिलिछो गाउँपालिकालाई पराजित गर्दै आमचोकले उपाधि जितेको हो । विजयी टिम आमचोकले नगद १ लाख रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्रसहित प्राप्त गरेको छ ।
उपविजेता साल्पा सिलिछोले नगद ५० हजार रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्रसहित प्राप्त गरेको छ । सेमिफाइनलिस्ट सभापोखरी गाउँपालिका र पाँचखपन नगरपालिकाले नगद १५–१५ हजार रुपैयाँ प्राप्त गरेको आयोजकले जनाएको छ । गत २६ चैतबाट सुरु भलिबल प्रतियोगितामा पुरुषतर्फ भोजपुर र संखुवासभाका पा“चवटा पालिका तथा महिला भलिबलतर्फ सातवटा पालिका सहभागी थिए ।
The post पाँचखपनले जित्यो अन्तरपालिका पुरुष भलिबल उपाधि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....