npl.977 Nepal News Stream

Clickmandu logo Clickmandu

अदालतमा तारिख बुझ्न गएपछि रविले भने: केपी ओलीले लगाएको गुन तिर्न आएको हुँ

क्लिकमान्डु 21 hours ago

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको ‘गुन’ तिर्न आफू अदालत धाइरहेको टिप्पणी गरेका छन् ।

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको मुद्दामा तारिख बुझ्न बिहीबार काठमाडौं जिल्ला अदालत पुगेका लामिछानेले ओलीले लगाएको गुन तिर्न आफू अदालत धाइरहेको बताएका हुन् ।

एक टेलिभिजन अन्तर्वार्तामा अध्यक्ष ओलीले आफूले रवि लामिछानेलाई धेरै गुन लगाएको तर लामिछानेले गुन बिर्सिएर आफ्नो विरोध मात्र गरेको गुनासो गरेका थिए । सोही विषयलाई लिएर अदालत परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले व्यङ्ग्यात्मक शैलीमा भने, ‘केपी ओलीजीले गुन लगाइदिनुभएको छ, त्यही गुन तिर्न अदालत आएको हुँ।’

आफूमाथि लगाइएका मुद्दा र अदालती प्रक्रियाप्रति असन्तुष्टि पोख्दै उनले आफू सातवटै जिल्लाका अदालतमा जानुपर्ने अवस्था रहेको सुनाए । ‘जीउभरि किला ठोकेजस्तो भएको छ। अबको सात दिनभित्र बाँकी सबै जिल्लाका अदालतमा पुगेर हाजिर गर्नुपर्ने र तारिख मिलाउनुपर्ने छ,’ लामिछानेले भने, ‘दौडादौड चलिरहेको छ, विष शरीरभरि बाँकी नै छ, त्यसका लागि तयारी गर्दैछु।’

सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका लामिछाने बिहीबार उच्च अदालत तुलसीपुरको आदेशमा रिहा भएका थिए । रिहा भए पनि विभिन्न जिल्लामा रहेका सहकारी मुद्दाका कारण उनले अदालती झमेला खेपिरहनु परेको छ ।

Read more news from Clickmandu

Explore by Source or Category