राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)
८ बुँदा थप्दै चलचित्र सेन्सर नयाँ कार्यविधि लागू
काठमाडौं । पञ्चायतकालिन चलचित्र जाँच पास नीतिमा ८ वटा बुँदा थप्दै केन्द्रीय चलचित्र जाँच पास समिति (चलचित्र सेन्सर बोर्ड)ले नयाँ कार्यविधि ल्याएको छ ।
चलचित्र जाँच पास समिति कठोर भएको आरोप चलचित्रकर्मीहरूको लगाउँदै आएका थिए । दुई साता अघि यही विषयमा चलचित्रकर्मी र सेन्सरका पदाधिकारीलाई राखेर सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले सेन्सर नीतिलाई कार्यविधिको रूपमा परिवर्तन सहित सहज बनाउन निर्देशन दिएका थिए । सोही निर्देशन पछि पुरानो ८ वटा बुँदा थप्दै ‘सेन्सर बोर्डले चलचित्र जाँचसम्बन्धी कार्यविधि २०८२’ ल्याएको हो ।
‘हामीले सेन्सरसम्बन्धी नयाँ कार्यविधि ल्याएसँगै अब सेन्सर प्रक्रियामा रहेका विभिन्न त्रुटिको समाधान हुने अपेक्षा गरिएको छ । यो कार्यविधि पुस २ गतेबाट लागु गरिएको हो,’ सेन्सर बोर्ड सदस्य कुवेर गिरीले राजधानीसँग भने,‘चलचित्र सम्बन्धी राष्ट्रिय सभामा रहेको चलचित्र विधेयक नीतिको रूपमा आएपछि धेरै समास्याहरु हटेर जान्छन् । त्यति बेलासम्मको लागि यो कार्यविधि ल्याइएको हो ।’
सेन्सर बोर्डले चलचित्रकर्मीलाई आफ्नो चलचित्र सेन्सर गर्न सजिलो होस् भनेर स्वयंले जाँच गर्ने (सेल्फ सेन्सर) पद्धतिको समेत विकास गरेको छ । त्यसका लागि बोर्डले एउटा फारमको समेत व्यवस्था गरेको छ । जसबाट चलचित्रकर्मीले आफ्नो चलचित्रको सेन्सरबाट देखिने त्रुटि आफैँले पत्ता लगाएर बोर्ड समितिलाई बुझाउँदा सेन्सर सहज हुने व्यवस्था गरिएको छ । जसका कारण चलचित्रकर्मीले व्यहोर्नु पर्ने विभिन्न झन्झटबाट मुक्त भई सेन्सर बोर्ड र चलचित्रकर्मी दुवैको समय बचत हुने विश्वास पनि आयोजक पक्षद्धारा गरिएको छ ।
‘सेल्फ सेन्सर चलचित्रकर्मीलाई आफ्नो फिल्मको त्रुटि आफैँले पत्ता लगाएर करेक्सन गर्ने एउटा प्रणालीको रूपमा हामीले लिएका छौँ,’ उनले भने, ‘यसले सेन्सर बोर्ड र चलचित्रकर्मीलाई अनावश्यक झन्झट व्यहोर्नु पर्ने अवस्थाबाट मुक्त गर्छ ।’ सेल्फ सेन्सरले चलचित्रकर्मीलाई सेन्सर प्रमाणपत्र लिन समेत सजिलो हुने सेन्सर बोर्डका अध्यक्ष उदयबहादुर रानाको भनाइ छ ।
यो नयाँ कार्यविधिलाई बोर्डले आफ्नो वेबसाइटमा समेत शुक्रवारबाट राखिएको छ । सेन्सर बोर्डका अध्यक्ष रानाले चलचित्र सेन्सर प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र झन्झटमुक्त बनाउन नयाँ कार्यविधि ल्याइएको बताएका छन् ।
‘सेन्सर बोर्डका प्रक्रियागत जटिलताहरूलाई हटाउन र पुराना त्रुटि सच्याउन हामीले बुँदाहरू परिमार्जन गरेका छौँ,’बोर्ड अध्यक्ष मगरले भने, ‘सेन्सरमाथि प्रश्न चिन्ह उठिरहेको बेलामा प्रक्रियालाई समयसापेक्ष बनाउने प्रयास हो । नयाँ कार्यविधिले चलचित्रकर्मीलाई चलचित्र सेन्सरमा निकै सहज हुने हाम्रो छ ।’
बोर्डले ल्याएको ‘चलचित्र जाँचसम्बन्धी कार्यविधि–२०८२’ मा बैठकसम्बन्धी केही विषय परिमार्जन गरिएको छ । पशुपक्षीमाथि गरिएको अनावश्यक निर्दयी पूर्ण जघन्य हिंसा, अश्लीलता वा अस्वाभाविक यौनजन्य क्रियाकलाप, मानव अधिकारको संरक्षण र सम्वद्र्धन, चलचित्रको दृश्य तथा संवादको मनसाय लगायत धेरै बुँदामा परिमार्जन समेत गरेको हो ।
यस्तै बैठकसम्बन्धी व्यवस्थाको बुँदा नम्बर ४ मा उपदफा (३)मा चलचित्र जाँच गर्दा विज्ञ सदस्यको पदावधि सकिएको र नयाँ नियुक्त नहुँदा चलचित्र विकास बोर्डको समन्वयमा मन्त्रालयले चलचित्र विज्ञ सदस्य आमन्त्रित गरी सेन्सर गर्न सक्ने व्यवस्था गरिएको छ । यसले चलचित्र सेन्सरमा विज्ञको उपस्थिति हुनुपर्ने मागलाई सम्बोधन गरेको बोर्डले जनाएको छ ।
त्यस्तै बोर्डले कार्यविधिको बुँदा नम्बर ४ को ‘इजाजत माग गर्दा र समितिबाट जाँच गर्दा लिइने आधार’ मा भने पुरानो कार्यविधिका २० बुँदामा ८ बुँदा घटाएर १२ बुँदा बनाएको छ । विभिन्न झन्झटिलो र संविधानले संशोधन गरिसकेको बुँदा अहिले हटाइएका हुन् ।
The post ८ बुँदा थप्दै चलचित्र सेन्सर नयाँ कार्यविधि लागू appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....