Clickmandu
कान्तिपुरको प्रधानसम्पादकमा निनुक्त भएका गोकर्ण अवस्थी को हुन् ?

काठमाडौं । नेपालको आर्थिक पत्रकारिता र निजी क्षेत्रको नीतिगत पैरवीमा स्थापित नाम हो, गोकर्ण अवस्थी । दार्चुलाको विकट गाउँबाट सुरु भएको उनको जीवनयात्राले आगामी वैशाख २२ गते (सन् २०२६ मे ५) देखि एउटा नयाँ र शक्तिशाली मोड लिँदैछ । देशको सबैभन्दा ठूलो सञ्चारगृह कान्तिपुर दैनिकको प्रधान सम्पादकका रूपमा उनी नियुक्त भएका छन् । सोही दिनदेखि अवस्थीले कान्तिपुरको सम्पादकीय टिम हाँक्नेछन् ।
दार्चुलाको लेक–बेंसीदेखि काठमाडौंको न्युजरुम, संयुक्त राष्ट्र संघको कार्यालय र नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकको कार्यकक्षसम्म पुग्दा अवस्थीले पार गरेको बाटो भने कुनै सोझो रेखाजस्तो छैन ।
वि.सं. २०४२ सालतिर अवस्थी दार्चुलाको एउटा प्राथमिक विद्यालयमा काठको पाटी बोकेर पढ्न जान्थे । झण्डै डेढ घण्टाको उकालो–ओरालो र जंगलको बाटो पार गरेर स्कुल पुग्नु उनको दैनिक तालिका थियो । बुबा शिक्षक भएकाले उनको परिवार गाउँमा हुनेखानेमै गनिन्थ्यो । तर, सुखका ती दिन लामो समय टिकेनन् ।
उनी कक्षा ३ मा पढ्दै गर्दा बुबा भीरबाट लडेर गम्भीर घाइते भए । उपचारका लागि काठमाडौं ल्याउन ५ दिन लाग्यो । बुबा अस्पतालको शैय्यामा जीवन र मरणको दोसाँधमा रहेकै बेला अवस्थीले ९ वर्षको कलिलो उमेरमा आमा गुमाए । परिवार छिन्नभिन्न भयो । त्यसपछि उनलाई काकाकाकीले काठमाडौं ल्याए र डिल्लीबजारस्थित विजय स्मारक स्कुलमा भर्ना गरिदिए ।
डोटेली मातृभाषा बोल्ने अवस्थीलाई काठमाडौंका साथीहरूको भाषासँग भिज्न समय लाग्यो । सुरूका दिनमा त साथीहरूले पनि गिज्याउँथे । तर, पढाइमा उनी सधैं अब्बल रहे । बानेश्वर क्याम्पसबाट बीबीएस गर्दा उनले कलेज टप गरे, जसको जानकारी उनले कलेजबाट ‘तपाईंको पुरस्कारको रकम लिन आउनुस्’ भन्ने फोन आएपछि मात्र पाएका थिए ।
स्नातक पढ्दै गर्दा अवस्थी आर्थिक अभावका कारण कामको खोजीमा भौतारिएका थिए । कुनै पनि काम गर्ने सोचका साथ उनी नेपाल टेलिभिजनमा ‘अर्थको अर्थ’ कार्यक्रम चलाउने आफ्नै गुरु हृदय गौतमलाई भेट्न पुगे ।
उनले गौतमसँग भनेका थिए, ‘सर, मलाई पैसाको खाँचो छ, कार्यालय सहयोगी (पियन) को काम भए पनि गर्छु ।’ तर, गौतमले आफ्नो जेहेन्दार विद्यार्थीलाई पियन होइन, रिपोर्टिङको बाटो देखाए ।
पत्रकारिताबारे शून्य ज्ञान भएका अवस्थीले ‘अर्थको अर्थ’ मा रिपोर्ट बनाउन थाले । सुरुका महिनाहरू निकै कठिन भए । उनले बनाएको स्टक मार्केटको रिपोर्ट ३ महिनासम्म प्रसारण भएन । जब रिपोर्ट प्रसारण भयो, उनले पहिलो पारिश्रमिक १ हजार रुपैयाँ पाए । त्यसपछि मासिक २ हजार तलबमा उनी ‘फुलटाइम’ पत्रकार बने ।
पत्रकारितामा लागे पनि उनलाई यसैमा भविष्य छ भन्ने ढुक्क थिएन । वातावरण पत्रकार समूह (नेफेज) को तालिमले उनलाई स्क्रिप्ट लेखन, भ्वाइस ओभर र सम्पादन सिकायो । केही समय उनले ‘नेपाल वान’ टेलिभिजनमा काम गरे, तर त्यहाँ चित्त नबुझेपछि पुनः ‘अर्थको अर्थ’ मै फर्किए ।
उनको क्षमता देखेर गुरु हृदय गौतमकै पहलमा उनले भारतीय दूतावासमार्फत भारतको ‘इन्डियन इन्स्टिच्युट अफ मास कम्युनिकेसन’मा छात्रवृत्तिमा पढ्ने अवसर पाए । लोकसेवा भिडेर सरकारी जागिर खाने कि पत्रकारिता पढ्न दिल्ली जाने भन्ने दोधारका बीच उनले दिल्ली रोजे । त्यहाँबाट स्वर्ण पदक (अवार्ड) सहित फर्केपछि उनमा व्यावसायिक पत्रकारिताको आत्मविश्वास पलायो ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले उनको करिअरलाई नयाँ उचाइ दियो । उनी सेजनको सदस्य, उपाध्यक्ष हुँदै अध्यक्षसम्म निर्वाचित भए । सन् २००४ मा नेपाल विश्व व्यापार संगठनको सदस्य बन्दै गर्दा उनले यसलाई आफ्नो ‘बिट’ बनाए । व्यापार, अन्तर्राष्ट्रिय कानुन र अर्थतन्त्रका जटिल विषयमा उनले दख्खल बनाए । यही क्रममा उनले लण्डन, चीन, रुस लगायतका देशमा तालिम र भ्रमणको अवसर पाए ।
अवस्थीले आफ्नो करिअरमा विश्व व्यापार संगठन र व्यापारिक मुद्दाहरूमा विशेषज्ञता हासिल गरे । सेजनको अध्यक्ष हुँदै गर्दा उनले आर्थिक पत्रकारितालाई नीतिगत वहसको तहमा पुर्याउन भूमिका खेले ।
वि.सं. २०६५ मा कान्तिपुर मिडिया हाउसमा विभाजन आएपछि न्युजरुम खाली भयो । त्यही बेला अवस्थी कान्तिपुर दैनिकमा प्रवेश गरे । कान्तिपुरको त्यो चर्चित तीनकुने बिल्डिङमा छिर्नु उनका लागि सपना पूरा भएजस्तै थियो । छिरेको दुई वर्षमै उनी ‘बिजनेश ब्युरो चिफ’ र पछि ‘बिजनेश एडिटर’ बने । सुधिर शर्माको नेतृत्वमा उनले १० वर्ष कान्तिपुरमा हार्ड–हिटिङ आर्थिक पत्रकारिताको नेतृत्व गरे ।
डेढ दशकको पत्रकारितापछि उनले नयाँ अनुभव लिने निर्णय गरे । कान्तिपुर छोडेर उनी संयुक्त राष्ट्र संघमा ‘दिगो विकास लक्ष्यसल्लाहकार’ का रूपमा नियुक्त भए । २ वर्ष त्यहाँ काम गरेपछि उनलाई निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघबाट अफर आयो ।
उनी महासंघमा उपमहानिर्देशक हुँदै २०७८ चैतमा ‘महानिर्देशक’ नियुक्त भए । निजी क्षेत्रको नीतिगत पैरवी, अध्ययन र अनुसन्धानमा उनले महत्वपूर्ण भूमिका खेले । हालै २०८१ भदौमा उनी नेपाल धितोपत्र बोर्डको सञ्चालक समेत बने ।
पत्रकारिता र प्रशासनसँगै अवस्थीको अर्को पाटो अध्यापन पनि हो । सन् २००९ देखि उनी विभिन्न कलेजमा ‘इन्टरनेसनल बिजनेश’ र ‘नेपाली बिजनेस इन्भायरोन्मेन्ट’ पढाइरहेका छन् । उनले झण्डै ३ हजार विद्यार्थीलाई पढाइसकेका छन् । हाल उनी काठमाडौं विश्वविद्यालयमा राजनीतिक अर्थशास्त्रमा पीएचडी (विद्यावारिधि) गरिरहेका छन् ।
अहिले ४५ वर्षका अवस्थीको जीवनले फेरि एउटा ठूलो फन्को मारेको छ । झण्डै ६ वर्ष मिडियाभन्दा बाहिर (यूएन र महासंघ) रहेर फेरि उनी आफ्नो पुरानो घर ‘कान्तिपुर’ फर्किएका छन्, तर यसपटक ‘प्रधान सम्पादक’ को सर्वोच्च जिम्मेवारीमा । उमेश चौहानको राजीनामापछि खुला प्रतिस्पर्धाबाट छानिएका तीन जनामध्ये अवस्थीलाई कान्तिपुर व्यवस्थापनले आगामी २०२६ मे ५ देखि कार्यभार सम्हाल्ने गरी नियुक्त गरेको हो ।
दार्चुलाको भीरपाखामा काठको पाटी बोक्ने बालकदेखि देशको सबैभन्दा ठूलो पत्रिकाको प्रधान सम्पादकसम्मको यो ३५ वर्षको यात्रामा गोकर्ण अवस्थीले कहिल्यै ‘सर्टकट’ खोजेनन् । एउटा कार्यालय सहयोगीको जागिर खोज्न जाँदा पत्रकार बनेका उनी आज त्यही पेसाको शिखरमा पुगेका छन् । उनको यो यात्राले भन्छ, ‘यदि तपाईंसँग उच्च नैतिकता र कडा मिहिनेत छ भने, अवसरहरू आफैं तपाईंको ढोका ढकढक्याउन आइपुग्छन् ।’
दार्चुलाको जंगलमा पाटी बोकेर हिँड्ने बालक, काठमाडौंका गल्लीमा पियनको जागिर खोज्ने युवा र आजको देशकै प्रभावशाली सम्पादक- गोकर्ण अवस्थीको यो यात्रा कडा मिहिनेत र व्यावसायिक इमानदारिताको परिणाम हो ।
‘मैले आजसम्म प्राप्त गरेका अवसरहरू कुनै योजना बनाएर पाएको होइन, तर जे जिम्मेवारी पाएँ, त्यसलाई इमानदारीका साथ निभाएँ,’ उनी भन्छन् । अवस्थि आगामी मे २०२६ बाट उनी कान्तिपुरको न्युजरूमको कमान्ड सम्हाल्ने गरी फर्किंदैछन्, जहाँ उनले आफ्नो दुई दशकको अनुभवलाई नेपाली पत्रकारिताको थप परिष्करणमा लगाउने अपेक्षा गरिएको छ ।