npl.977 Nepal News Stream

News of Nepal logo News of Nepal

निर्यात ५८ प्रतिशत बढे पनि व्यापार घाटा अझै चुनौतीपूर्ण

न्युज अफ नेपाल 17 hours ago

काठमाडौं।

नेपालको वैदेशिक व्यापारमा सुधार देखिएको छ । भन्सार विभागको तथ्यांकअनुसार, चालु आर्थिक वर्षको पाँच महिनामा कुल वैदेशिक व्यापार २०.०७ प्रतिशतले बढेर ८ खर्ब ८२ अर्ब ६९ करोड रुपियाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ७ खर्ब ३५ अर्ब १४ करोड थियो । यो वृद्धिमा आयात र निर्यात दुवैको योगदान छ । तर, निर्यातको तीव्र वृद्धिले व्यापार सन्तुलनमा सकारात्मक संकेत गरेको छ । यद्यपि, उच्च व्यापार घाटाले अर्थतन्त्रलाई दबाबमा राखेको छ ।
मंसिर मसान्तसम्म आयात १५.८३ प्रतिशतले बढेर ७ खर्ब ६६ अर्ब १८ करोड रुपियाँ पुगेको छ, जुन अघिल्लो वर्षको ६ खर्ब ६१ अर्ब ४८ करोडबाट उल्लेखनीय वृद्धि हो । यसमा इन्धन, कच्चा पदार्थ र उपभोग्य वस्तुको हिस्सा प्रमुख छ । यस्तै निर्यातमा ५८.१७ प्रतिशत वृद्धि हुँदै १ खर्ब १६ अर्ब ५० करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्ष ७३ अर्ब ६५ करोडमा सीमित थियो । कुल निर्यात अझै इन्धन आयात (१ खर्ब २१ अर्ब) भन्दा कम छ ।

पाँच महिनामा व्यापार घाटा १०.५२ प्रतिशतले बढेर ६ खर्ब ४९ अर्ब ६८ करोड पुगेको छ, जुन अघिल्लो वर्षको ५ खर्ब ८७ अर्ब ८२ करोडबाट उल्लेखनीय वृद्धि हो । यो घाटा कुल वैदेशिक व्यापारको ७३ प्रतिशतभन्दा बढी छ, आयात–निर्यात अनुपात अघिल्लो वर्षको ८.९८ बाट घटेर ६.५८ मा झरेको छ, जसले निर्यातको हिस्सा बलियो बन्दै गएको संकेत गर्दछ । कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १०.०२ प्रतिशतबाट बढेर १३.२० प्रतिशत पुगेको छ, जबकि आयातको हिस्सा ८९.९८ प्रतिशतबाट घटेर ८६.८० प्रतिशतमा सीमित भएको छ ।

मुख्य आयाततर्फ कच्चा भटमासको तेल ४६ अर्ब ९७ करोड रुपियाँबराबरको ३० करोड ३७ लाख लिटर आयात भएको छ । यसपछि डिजेल ४५ अर्ब ६० करोड, पेट्रोल २७ अर्ब ३३ करोड, खाना पकाउने ग्यास २२ अर्ब ३९ करोड, फलामजन्य सामग्री २१ अर्ब ८४ करोड, स्मार्टफोन १९ अर्ब १३ करोड, हाइड्रोजन अर्थोफोस्फेट १९ अर्ब ७ करोड, सुन १५ अर्ब ७२ करोड र फर्टिलाइजर ग्रेड १२ अर्ब २९ करोड छन् ।

त्यस्तै निर्याततर्फ प्रशोधित भटमासको तेल ४६ अर्ब ५५ करोड, अलैंची ५ अर्ब ५३ करोड, गलैंचा ४ अर्ब १३ करोड, सूर्यमुखीको तेल ३ अर्ब ७३ करोड, ब्लिच नगरिएको जुटका कपडा २ अर्ब ७३ करोड, अन्य फेल्टका सामग्री २ अर्ब ५८ करोड, पाम तेल २ अर्ब ५१ करोड, धागो २ अर्ब ९ करोड, स्कार्फ तथा मफ्लर १ अर्ब ८८ करोड र चिया १ अर्ब ८६ करोड रुपियाँ रहेको छ ।

उक्त अवधिमा नेपालले भारतबाट ४ खर्ब ३४ अर्बको आयात गर्दा ९५ अर्बको निर्यात गरेको छ । त्यस्ते चीनबाट १ खर्ब ६३ अर्ब आयात हुँदा ४६ करोडको मात्रै निर्यात गरेको छ । अर्जेन्टिनाबाट ४४ अर्ब ५६ करोड आयात गर्दा निर्यात ८ लाखको भएको छ, यूएईबाट २३ अर्ब ४५ करोडको आयात हुँदा निर्यात ८४ करोड र अमेरिकाबाट १० अर्ब ३५ करोडको आयात हुँदा निर्यात ७ अर्ब ४२ करोड रुपियाँको भएको छ ।

Read more news from News of Nepal

Explore by Source or Category