राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)
गुल्मीमा साढे तीन वर्षमा तीन सयबढी बेपत्ता
गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिका–८ की ३० वर्षीया नवीना सापकोटा २४ माघ २०८२ मा घरबाट हि“डिन् । बुहारी आउने आशमा सासुआमा र आमा आउने शाखामा छोराछोरी बसे पनि उनी आइनन् । अन्ततः १ फागुनमा नवीनाकी सासु मीनाले जिल्ला प्रहरी कार्यालय गुल्मीमा ‘बुहारी हराएको’ उजुरी दिइन् । श्रीमती घर नआएपछि रोजगारीका लागि भारत रहेका श्रीमान पनि अहिले घरमै बसेका छन् । घरमा स–परिवारले नवीनाको बाटो हेरे पनि अहिलेसम्म अत्तोपत्तो छैन ।
रुरुक्षेत्र गाउँपालिका–१ रिडीका २८ वर्षीय गीता थापा गत १७ असोजदेखि सम्पर्कबिहीन छिन् । घर र माइतीमा थापा नभएपछि उनकी आमाले सोही दिन नै प्रहरीमा ‘छोरी हराएको’ सूचना दिइन् । घरमा उनका श्रीमानसँगै छोराछोरी छन् । तर, न थापा फर्केर घर गएकी छन्, न त उनी सम्पर्कमै छिन् ।
सापकोटा र थापामात्र होइन्, धुर्कोट गाउँपालिका–६ काफलपानीका यमबहादुर पोखरेल पनि ५ भदौ २०८१ देखि सम्पर्कबिहीन छन् । ७१ वर्षीय पोखरेल घरमा एक्लै बस्दै आएका थिए । केही दिन उनी गाउँमा नभेटिएपछि छिमेकी विष्णुप्रसाद पोखरेलले ११ भदौमा गुल्मी प्रहरीमा उजुरी दिए । उजुरी दिएको एक वर्ष कटिसक्दासमेत यमबहादुर भेटिएका छैनन् ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार पछिल्लो साढे तीन वर्षमा ३ सय ३२ जना हराएका छन् । जिल्लामा आर्थिक वर्ष २०७९ देखि चालू आर्थिक वर्ष फागुनसम्मको तथ्याकं हेर्दा हराएमध्ये १६ जना अझै भेटिएका छैनन् ।
जिल्लामा आव २०७९÷०८० मा १ सय ३१ जना हराए । जसमा १ सय २६ जना भेटिए भने पाँचजना अझै भेटिएका छैनन् । आव २०८०÷०८१ मा १ सय २६ जना हराएकोमा १ सय १९ जनामात्रै भेटिए । सातजना सम्पर्कविहीन छन् ।
यसैगरी, आव २०८१÷०८२ मा ८४ जना हराएकोमा ८२ जना भेटिए भने दुईजना भेटिएका छैनन् । चालू आवको साउनदेखि फागुनसम्म तीनजना हराएकोमा एक जनामात्र भेटिए भने दुईजना नभेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गंगाबहादुर सारुले जानकारी दिए । हराउनेमध्ये बढी मात्रामा १६ देखि ३० वर्षसम्मका महिला छन् ।
‘सहरउन्मुख जनसंख्या बढेको, विवाहको प्रलोभन र उमेरका कारण बढी मात्रामा हराउने गरेका छन्,’ सारुले भने, ‘बुटबल, काठामाडौंमा रोजगारीका लागि घरबाट भागेर जाँदा पनि हराएको संख्या बढी हुन सक्छ ।’ कतिपय अवस्थामा हराएको व्यक्ति सम्पर्कमा आए पनि प्रहरीकोमा सूचना नआउँदा पनि नभेटिएको संख्या बढी हुने उनले बताए । यद्यपि, प्रहरीले हराएका सबै व्यक्ति खोजीतलासी भने जारी राखेको छ ।
The post गुल्मीमा साढे तीन वर्षमा तीन सयबढी बेपत्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....