npl.977 Nepal News Stream

Clickmandu logo Clickmandu

हिमालयन लार्ज क्याप फण्डको अनुसन्धानमा तानिने भएपछि धितोपत्र बोर्ड अध्यक्ष श्रेष्ठको राजीनामा

क्लिकमान्डु 7 hours ago

काठमाडौं । सुलभ अग्रवाल अध्यक्ष रहेको हिमालयन लाइफ इन्स्योरेन्सको सहायक कम्पनी हिमालयन लार्ज क्याप फण्डको अनुमति र रकम दुरुपयोगका विषयमा छानबिन हुने भएपछि नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले राजीनामाको घोषणा गरेका छन् ।

हिमालयन रि–इन्स्योरेन्स, हिमालयन लार्ज क्याप फण्ड लगायतका विभिन्न पब्लिक कम्पनीको रकम दुरुपयोग गरेको विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग लगायतका निकायले छानबिन गरिरहेका छन् ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाललाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । उनीहरूमाथि करिब ५ अर्ब रुपैयाँ रकम दुरुपयोग गरेको आरोप छ ।

विभागले धितोपत्र बोर्डको भूमिकामाथि पनि प्रश्न उठाएको छ । सुलभ अग्रवाल अध्यक्ष रहेको हिमालयन लाइफ इन्स्योरेन्सको सहायक कम्पनी हिमालयन क्यापिटलको हिमालयन लार्ज क्याप फण्डको स्वीकृति र सर्कुलर ट्रेडिङका विषयमा समेत विभागले अनुसन्धान अगाडि बढाएको छ ।

विभागले उक्त म्युचुअल फण्ड स्वीकृतिको फाइल मगाएर अनुसन्धान गरिरहेको छ । अनुसन्धानका क्रममा विभागले त्यसको स्वीकृति प्रक्रियामा गम्भीर चासो राखेको छ ।

२०८२ साउन ११ मा धितोपत्र बोर्डमा आवेदन दिएको हिमालयन लार्ज क्याप फण्डले साउन २२ गते स्वीकृति पाएको थियो । अन्य धेरैवटा म्युचुअल फण्डहरूले ६ महिनासम्म पनि स्वीकृति नपाई पाइपलाइनमा रहँदा समेत उक्त म्युचुअल फण्डले भने आवेदन दिएको १२औं दिनमै स्वीकृति पाएको थियो ।

सोही म्युचुअल फण्डले पनि नेपाल पुनर्बिमा कम्पनीको करिब साढे ३ लाख कित्ता सेयर किनेको छ । दीपक भट्ट र सुलभ अग्रवालमाथि भइरहेको कतिपय अनुसन्धानमा धितोपत्र बोर्डको समेत भूमिका शंकास्पद पाइएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सरकारमार्फत नै राजीनामा दिएर अनुसन्धानमा सहयोग गरिदिन भनेपछि अध्यक्ष श्रेष्ठले राजीनामा दिएका हुन् ।

तत्कालीन केपी ओलीको सरकारले २०८१ मंसिर तेस्रो साता बोर्डको अध्यक्ष नियुक्ति भएका श्रेष्ठलाई भट्टकै जोडबलमा नियुक्ति गरिएको आरोप लाग्दै आएको थियो । दीपक र सुलभमाथि अनुसन्धान तीव्र भएपछि श्रेष्ठमाथि पनि अनुसन्धानको सुई तेर्सिएको हो ।

शुक्रबार साँझ बसेको बोर्डको सञ्चालक समिति बैठकमा अध्यक्ष श्रेष्ठले पदबाट राजीनामाको घोषणा गर्दै अहिलेसम्म सहयोग गरेकोमा सबैलाई धन्यवाद दिँदै विदा भएका छन् ।

श्रेष्ठले रास्वपाले अघिल्लो सरकारका पालामा नियुक्ति लिएकाहरूले राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेकाले आफूले त्यसको सम्मान गर्दै राजीनामा दिने निर्णयमा पुगेको बताएका छन् ।

बैठकमा सहभागी बोर्डका एक सञ्चालकका अनुसार अध्यक्ष श्रेष्ठले आफूले पदबाट राजीनामा दिन लागेको जानकारी गराएको क्लिकमान्डुलाई बताए । अध्यक्ष श्रेष्ठले भोलि मन्त्रालयमा राजीनामा बुझाउँदैछन् ।

Read more news from Clickmandu

Explore by Source or Category