News of Nepal
धादिङका दुबै क्षेत्रका एमाले उम्मेदवारको प्रतिवद्धतापत्र सार्वजनिक
धादिङ ।
प्रतिनिधिसभा निर्वाचन २०८२ लाई लक्षित गर्दै नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का धादिङका दुवै निर्वाचन क्षेत्रका उम्मेदवारहरूले छुट्टाछुट्टै रूपमा विस्तृत प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन्। उनीहरूले संविधानको रक्षा, सुशासन, दीगो विकास र समृद्धिलाई केन्द्रीय एजेन्डा बनाएका छन्।


धादिङ निर्वाचन क्षेत्र नं। २ का उम्मेदवार धनबहादुर घलेले जिल्लाको सन्तुलित र दीगो विकास, सामाजिक रूपान्तरण र आत्मनिर्भर अर्थतन्त्र निर्माणलाई प्राथमिकतामा राख्दै प्रतिवद्धता सार्वजनिक गर्नुभएको हो। उहाँले लोकतान्त्रिक आन्दोलन र संविधान निर्माणमा एमालेले खेलेको भूमिकाको स्मरण गर्दै राष्ट्रिय स्वाधीनताको रक्षा, स्थिर परराष्ट्र सम्बन्ध, रोजगारी सिर्जना र औद्योगिक पूर्वाधार विकासमा स्पष्ट योजना रहेको बताउनुभयो।
घलेले सडक सञ्जाल विस्तार तथा स्तरोन्नति, ग्रामीण सडक कालोपत्रे, पक्की पुल निर्माण र अव्यवहारिक सडक मापदण्ड पुनरावलोकन गरिने उल्लेख गर्नुभयो। कृषि तथा पशुपालनको व्यावसायिक विकास, स्थानीय उत्पादनको ब्रान्डिङ, कृषि बीमा, सिंचाइ व्यवस्थापन र कृषि पर्यटन प्रवर्द्धनलाई जोड दिइने उहाँको भनाइ छ। गुठी जग्गा समस्याको समाधानका लागि पहल गरिने पनि प्रतिवद्धतामा समेटिएको छ।
ऊर्जा क्षेत्रतर्फ बुढीगण्डकी जलाशय आयोजना शीघ्र कार्यान्वयनका लागि अधिकतम पहल गरिने र दुई वर्षभित्र निर्माण सुरु नभए पदत्याग गरी संघर्षमा उत्रने घोषणा उहाँले गर्नुभएको छ। साना जलविद्युत् आयोजनामा स्थानीय सहभागिता सुनिश्चित गरिने पनि उल्लेख छ। साथै गणेश हिमाल क्षेत्रका खनिज स्रोतको अध्ययन, उत्खनन र प्रशोधन तथा रुबीभ्याली क्षेत्रका जडीबुटी र पत्थरको बजारीकरणका लागि नीतिगत व्यवस्था गरिने प्रतिबद्धता जनाइएको छ।
त्यसैगरी निर्वाचन क्षेत्र नं। १ का उम्मेदवार भूमि त्रिपाठीले संविधान २०७२ को रक्षा, स्थायित्व र समृद्धिको यात्रालाई प्राथमिकता दिँदै अधुरा आयोजना सम्पन्न गर्नु पहिलो काम हुने बताउनुभएको छ। उहाँले नागढुंगा–नौबिसे सुरुङमार्गको पूर्ण उपयोग गर्दै पृथ्वी राजमार्ग आसपास एकीकृत शहरी विकास गर्ने, धुनिबेसी र लामीडाँडालाई वैकल्पिक सहरका रूपमा विकास गर्ने योजना अघि सार्नुभएको छ।
भीमढुंगा–लामीडाँडा–गल्छी–सिद्धलेक–बेनिदोभान सडक स्तरोन्नति गरी त्रिशूली किनारमा औद्योगिक करिडोरसहित शहर स्थापना गर्ने, मोटरेबल पुल निर्माण, सिँचाइ नहर विस्तार तथा बृहत् खानेपानी आयोजना सम्पन्न गर्ने प्रतिबद्धता पनि जनाइएको छ।
पर्यटन प्रवर्द्धनमार्फत रोजगारी विस्तार गर्ने लक्ष्यसहित चन्द्रागिरी–शक्तिखोर पदमार्ग सम्पन्न गर्ने, चेपाङ, तामाङ र मगर समुदायको संस्कृति तथा सीपलाई पर्यटनसँग जोड्ने तथा होमस्टे कार्यक्रम विस्तार गर्ने योजना अघि सारिएको छ। त्रिशूली नदी संरक्षण, पर्यटकीय गन्तव्य विकास र स्थानीय व्यापार विस्तारलाई पनि प्राथमिकता दिइने बताइएको छ।
दुवै उम्मेदवारले युवा रोजगारी सृजनाका लागि सीप विकास केन्द्र सञ्चालन, सहुलियत ऋण तथा उद्यमशीलता प्रवर्द्धन गर्ने बताएका छन्। शिक्षा र स्वास्थ्य क्षेत्रको गुणस्तर सुधार, स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बनाउने, स्वच्छ खानेपानी विस्तार, बहुउद्देश्यीय कभर्डहल र खेलमैदान निर्माण जस्ता कार्यक्रम पनि प्रतिवद्धतामा समेटिएका छन्।
सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्ने दुवै उम्मेदवारको प्रतिबद्धता रहेको छ। संविधानको रक्षा गर्दै स्थायित्व, विकास र समृद्धिको एजेन्डासहित एमालेका उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका छन्।