लुक्लाबाट नाम्चे बजार हुदै सगरमाथा बेसक्याम्प पुग्न हिँडेका हामी हतारमै थियौँ । यात्रामा उचाइ र थकाइले गलाउँदै थिए । तर ढाकरमा सगरमाथा बोकेर हिँड्ने साहसी भरियाहरुले हामीलाई उर्जा दिए । खुम्बुका भरिया
ओखलढुङ्गाका फूर्वा शेर्वा १५ वर्षदेखि खुम्बुमा भारी खेप्दैछन् ।
फेरुचेमा झोलुङ्गे पुल बन्न लागेको रहेछ । पुलका विशाल फलामे लठ्ठाहरु पनि यो अफ्ठ्यारो भुगोलमा भरियाका नाम्लोमा बाँधिएर हिमालतिर चढ्दै थिए ।
खुम्बु क्षेत्रमा पर्यटकहरु लज र होटलमा बस्छन् । भरियाहरुचाहिँ भट्टीमा । ४४१० मिटरको उचाइमा रहेको दिङ्बोचेको एउटा भट्टीमा भरियाहरु थकान बिसाइरहेका थिए ।
भरियाहरु बस्ने भट्टीमा मिङ्मा तामाङ भेटिए । कुनै समय गायक बन्ने सपना बोकेका मिङ्मा आजकल हिमाल चढ्नेलाई बाटो देखाउँछन् ।
सगरमाथा आधारशिविरसम्मको यात्रामा भरियाहरुको ठूलो जमघट हुने ठाउँ गोरकशेप । आधारशिविरका टेन्टहरुमा भरियाहरुले बास पाउँदैनन् । भारी बिसाएर उनीहरु बास बस्न फेरि गोरकशेप नै फर्कनुपर्छ ।
हिमालका सुन्दर तस्बिरहरु, खुम्बु पदयात्राका रोमान्चक कथाहरु अनि आरोहणका दर्जनौं नाम र किर्तिमानहरुमाझ शायद यहाँका भरियाका सुस्केरा र थकानहरु ओझेल परिरहेका छन् ।