npl.977 Nepal News Stream

Sutra News logo Sutra News

पेट्रोल छर्केर सासू र नन्दले सुशीलाको ज्यान लिए, श्रीमान् रोजगारीका लागि कोरियामा

सुत्र न्युज 7 hours ago

 

 

काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका–४, धुराफाँटमा आइतबार अपराह्न साढे ४ बजेतिर ३२ वर्षीया सुशीला घिसिङको पेट्रोल छर्केर आगजनी गरी हत्या गरिएको अवस्थामा शव फेला पर्यो। घरायसी विवादले चुलिएको पारिवारिक द्वन्द्व अन्ततः जघन्य हत्यामा परिणत भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

घटनामा संलग्न भएको आरोपमा मृतककी सासू ५९ वर्षीया मायारानी बमजन र नन्द ३५ वर्षीया मिना बमजनलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीका अनुसार दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ।

घटनास्थलबाट पेट्रोलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

मृतकका माइती पक्षले ६५ वर्षीय ससुरा दुर्गामान बमजनविरुद्ध पनि किटानी जाहेरी दिएका छन्। आगो निभाउने क्रममा घाइते भएको दाबी गर्दै आएका दुर्गामान हाल कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत छन्।

‘उनी निभाउन जाँदा घाइते भएको भन्छन्, तर वास्तविकता के हो भन्ने विषयमा हामी अनुसन्धान गरिरहेका छौं,’ एसपी सुवेदीले बताए।

मृतक सुशीलाका श्रीमान रोजगारीका सिलसिलामा कोरियामा रहेका छन्। स्थानीयका अनुसार सुशीला र ससुराली पक्षबीच लामो समयदेखि घरायसी विवाद चलिरहेको थियो। आइतबारको विवादले हिंस्रक मोड लिएपछि सुशीलाको ज्यान गएको बताइएको छ।

सुशीलाको शव पोष्टमर्टमका लागि जिल्ला अस्पताल सिन्धुलीमा राखिएको छ। पक्राउ परेका सासू र नन्दलाई जिल्ला अदालत सिन्धुलीबाट पाँच दिनको म्याद थप गरी प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ।

 

 

Read more news from Sutra News

Explore by Source or Category