npl.977 Nepal News Stream

News of Nepal logo News of Nepal

विराटनगरका २ क्यासिनोबाट २० जना पक्राउ

न्युज अफ नेपाल 17 hours ago

विराटनगर । 

विराटनगरस्थित होटल बिग र होटल रत्नामा सञ्चालित क्यासिनोमा प्रहरीले आइतबार मध्यरातमा छापा मार्दा उच्च पदस्थ व्यक्तिसहित २० जना नेपाली जुवाडे पक्राउ परेका छन् ।पक्राउ पर्नेमा पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङका पूर्व डाइरेक्टर तेजराज गिरीदेखि बिग होटलकै डाइरेक्टर हरि भट्टराईसम्म  रहेका छन् ।

  नेपाली नागरिकलाई क्यासिनो प्रवेशमा पूर्ण प्रतिबन्ध लगाइएको कानुनी व्यवस्थालाई लत्याउँदै यी क्यासिनोहरूले लामो समयदेखि नेपालीलाई निर्वाध रूपमा जुवा खेलाउँदै आएका थिए । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङको विशेष टोलीले अपरेसन चलाउँदा रत्ना होटलको च्याम्पियन जोन क्यासिनोबाट १४ जना र बिग होटलको गोल्डेन क्यासिनोबाट ६ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा गोल्डेन क्यासिनोका महाप्रबन्धक लोकेन्द्र बहादुर बस्नेत र च्याम्पियन जोन क्यासिनोका व्यवस्थापक रामकृष्ण गौतम समेत छन् ।   

प्रहरीका अनुसार पक्राउ विवके कुमार मण्डल, कृष्ण कुर्मी, राज लामा, रुपेश दाहाल, आदेश विक, महोमद जागिर हुसेन, घनश्याम शर्मा, सुरज राय, सान्तोष बस्नेत, प्रमोद घिमिरे, पवन गोस्वामी, साजन साह र सुरेन्द्र बहादुर चन्द रहेका छन् । पक्राउ परेका मध्ये १७ जनामाथि जुवा ऐन अन्तर्गत मुद्दा चलाउने तयारी गरिएको छ भने ३ जना क्यासिनो कर्मचारीलाई थप अनुसन्धानपछि प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।

विराटनगरका यी क्यासिनोहरूले विदेशीका लागि मात्रु भनिएको अनुमति पत्रको दुरुपयोग गर्दै नेपालीका घरबार उजाड्ने गरी जुवा खेलाइरहेको गुनासो बढेपछि प्रहरीले यो विशेष अप्रेशन चलाएको हो ।

 जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला र मोरङका प्रहरी प्रमुख एसपी कोवित कटुवालको नेतृत्वको टोलीले आइतबार छापा मारेपछि यस्तो तथ्य खुलेको हो ।क्यासिनोको लतले विराटनगरका ठुला व्यापारिक घरानाका युवाहरू टाट पल्टिने अवस्थामा पुगेका छन् । 

 कोइरालाका अनुशार ‘हामीलाई पटक–पटक पीडित परिवारका सदस्यहरू आएर गुनासो गरिरहनुभएको थियो । हामी उपयुक्त मौकाको पर्खाइमा थियौँ,’  । अहिले पक्राउ परेका २० जनालाई जुवा ऐन अन्तर्गत मुद्दा चलाउने प्रक्रिया अघि बढेको छ । तर क्यासिनो सञ्चालकहरूको पहुँच र प्रहरीसँगको सम्बन्ध हेर्दा यो कारबाही कति टिक्छ भन्नेमा सर्वसाधारणको आशंका छ । प्रशासनले अब आधार कार्ड देखाउने ‘नक्कली भारतीय’हरूमाथि मात्र होइन, उनीहरूलाई प्रवेश दिने होटल र क्यासिनोका सञ्चालकहरूमाथि पनि उत्तिकै कडाइ गर्नुपर्ने दबाब बढेको छ । 

रत्ना होटलमा सम्राट क्यासिनो प्रालि सञ्चालनमा छ । दुवै कम्पनीका सञ्चालक को हुन् भन्ने विषय प्रशासनले औपचारिक रुपमा खुलाएको छैन । तर सुरक्षा स्रोतका अनुसार होटल बिगको क्यासिनोमा एमालेका केन्द्रीय सदस्य समेत रहेका पर्शुराम बस्नेतको लगानी छ भने रत्ना होटलको क्यासिनोमा कांग्रेसका स्थानीय नेता समेत रहेका अभिषेक गिरीको लगानी छ ।   क्यासिनो सञ्चालन नियमावली, २०७० अनुसार क्यासिनो सञ्चालन गर्न इजाजतपत्र लिन चाहने कम्पनीले निवेदन दस्तुरवापत १० लाख रुपैयाँ बुझाउनुपर्छ भने आधुनिक मेसिन वा उपकरणको माध्यमबाट मात्र खेलाइने खेलको हकमा त्यस्तो क्यासिनो कम्पनीले ५ लाख रुपैयाँसहित विभागमा निवेदन दिनुपर्छ ।  इजाजतपत्र दस्तुरका लागि भने ठुला क्यासिनोका लागि २ करोड रुपैयाँ र साना क्यासिनोका लागि एक करोड रुपैयाँ लाग्ने व्यवस्था सोही नियमावलीमा गरिएको छ । तर क्यासिनो सञ्चालन गर्न चाहने कम्पनीले निर्धारित अर्थात् तोकिएको एक वर्षको रोयल्टी रकम बराबरको बैंक ग्यारेन्टी विभागमा बुझाउनुपर्छ । क्यासिनोमा नेपालीलाई प्रवेश निषेध गरिएको छ ।

Read more news from News of Nepal

Explore by Source or Category