npl.977 Nepal News Stream

Sutra News logo Sutra News

कांग्रेस बटम लाइन ‘निर्वाचन नभए संसद् पुनर्स्थापना हुनुपर्छ’

सुत्र न्युज 6 hours ago

 

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अन्तरिम सरकारलाई कडा चेतावनी दिएका छन्। अन्तरिम सरकारले निर्वाचनमार्फत नयाँ संसद् ल्याउन नसके विघटित प्रतिनिधिसभा पुनर्स्थापना नै एकमात्र विकल्प हुने उनको स्पष्ट भनाइ छ।

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको ४३औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहमा बोल्दै महतले वर्तमान राजनीतिक अवस्थालाई संवैधानिक मोडमा लैजान ढिलाइ गर्न नहुने बताए।

‘निर्वाचनबाट संसद् बनाउनु पर्‍यो। त्यो सरकारले सक्दैन भने संसद् पुनर्स्थापनाबाट हुनुपर्छ भन्ने मलाई लाग्छ,’ महतले भने, ‘अहिलेको स्थिति यही हो।’

महतले सरकारलाई २१ फागुनमै निर्वाचन गराउन दबाब दिँदै कांग्रेस चुनावका लागि पूर्ण रूपमा तयार रहेको जिकिर गरे।

उनका अनुसार निर्वाचनबाट आएको जनादेश नै लोकतन्त्रको मूल आधार हो र जनताको इच्छा संसद्मार्फत अभिव्यक्त हुन्छ। त्यही संसद्ले आवश्यक सुधार, संवैधानिक परिमार्जन र राजनीतिक स्थायित्वका कदम अगाडि बढाउने उनको तर्क छ।

तर, २१ फागुनमा निर्वाचन हुन नसके अवस्था गम्भीर मोडमा जाने महतको चेतावनी छ। यस्तो अवस्थामा प्रतिनिधिसभा पुनर्स्थापनाको बाटो खुल्ने र पुनर्स्थापित संसद्ले सरकार गठन गरेर चाँडै निर्वाचनको प्रक्रिया अघि बढाउने उनको भनाइ छ।

‘अब होइन भनेदेखि संसद् पुनर्स्थापनाको बाटोमा जान्छ। संसद्ले सरकार बनाउँछ,’ महतले भने, ‘त्यसले फेरि चाँडै गर्छ। इलेक्सन ०८४ सम्म बस्नु पर्दैन। २०८३ निर्वाचन हुन्छ।’

संवैधानिक शून्यता लामो समयसम्म राख्नु देशका लागि खतरनाक हुने भन्दै महतले बंगलादेशको पछिल्लो राजनीतिक अवस्थालाई स्मरण गर्दै त्यहाँ देखिएको अन्यौलता, उग्रवाद र निर्वाचनप्रतिको अनिश्चितता नेपालले दोहोर्याउन नहुने बताए।

Read more news from Sutra News

Explore by Source or Category