npl.977 Nepal News Stream

Clickmandu logo Clickmandu

यो वर्ष सामान्य रह्यो डलरको प्रदर्शन, अर्को साल के होला ?

क्लिकमान्डु 23 hours ago

एजेन्सी । अमेरिकी डलरका लागि निराशाजनक रहेको यो वर्ष स्थिरताका संकेतहरूसहित समाप्त हुँदैछ । तर, धेरै लगानीकर्ताहरू विश्वव्यापी आर्थिक वृद्धिमा सुधार आउने र अमेरिकाको केन्द्रीय बैंक फेडले नीति थप खुकुलो पार्दै जाने भएकाले अर्को वर्ष मुद्राको गिरावट पुनः सुरु हुने विश्वास गर्छन् ।

विभिन्न मुद्राहरूको बास्केट (डलर इन्डेक्स) को तुलनामा अमेरिकी डलर यो वर्ष ९ प्रतिशतले घटेको छ । फेडरल रिजर्भको ब्याजदर कटौतीको अपेक्षा, अन्य प्रमुख मुद्राहरूसँगको ब्याजदर अन्तरमा आएको कमी र अमेरिकाको वित्तीय घाटा तथा राजनीतिक अनिश्चितताका कारण डलर आठ वर्षयताकै सबैभन्दा खराब प्रदर्शनको बाटोमा रहेको छ ।

अन्य प्रमुख केन्द्रीय बैंकहरूले आफ्नो नीति यथावत राख्ने वा थप कडा बनाउने र फेडको नयाँ अध्यक्षले कार्यभार सम्हाल्ने भएकाले डलर अझै कमजोर हुने अपेक्षा लगानीकर्ताहरूले व्यापक रूपमा गरेका छन् । यसे परिवर्तनले केन्द्रीय बैंकमा थप लचिलो झुकाव ल्याउने अपेक्षा गरिएको छ ।

सामान्यतया फेडले ब्याजदर कटौती गर्दा डलरको मूल्य घट्छ किनभने कम ब्याजदरले डलरमा आधारित सम्पत्तिहरूलाई लगानीकर्ताका लागि कम आकर्षक बनाउँछ जसले मुद्राको माग घटाउँछ ।

विश्वव्यापी कर्पोरेट भुक्तानी कम्पनी कोर्पेका मुख्य बजार रणनीतिकार कार्ल शामोटाले रोयटर्स समाचार संस्थालाई बताएअनुसार, आधारभूत दृष्टिकोणबाट हेर्दा अमेरिकी डलर अझै पनि अत्यधिक मूल्यांकन गरिएको अवस्थामा छ ।

विश्वव्यापी अर्थतन्त्रमा डलरको केन्द्रीय भूमिकालाई ध्यानमा राख्दै यसको दिशालाई सही रूपमा बुझ्नु लगानीकर्ताहरूका लागि महत्त्वपूर्ण छ । डलर कमजोर हुँदा विदेशबाट प्राप्त हुने राजस्वलाई डलरमा रूपान्तरण गर्दा यसको मूल्य बढ्ने भएकाले अमेरिकी बहुराष्ट्रिय कम्पनीहरूको कमाइ बढ्छ । साथै, यसले विदेशी मुद्राको लाभ प्रदान गर्दै अन्तर्राष्ट्रिय बजारहरूको आकर्षणलाई पनि बढाउँछ ।

पछिल्ला महिनाहरूमा डलरमा केही सुधार आए तापनि (सेप्टेम्बरको न्यून विन्दुबाट डलर इन्डेक्स झण्डै २ प्रतिशतले बढेको छ) विदेशी मुद्रा रणनीतिकारहरूले सन् २०२६ मा डलर कमजोर रहने पूर्वानुमानलाई कायमै राखेका छन् । नोभेम्बर २८ देखि डिसेम्बर ३ सम्म रोयटर्सले गरेको सर्वेक्षणले यो देखाएको छ ।

बैंक फर इन्टरनेशनल सेटलमेन्ट्सको तथ्यांक अनुसार, मुद्रास्फीति अनुरूप समायोजन गरिएको डलरको वास्तविक प्रभावकारी विनिमय दर अक्टोबरमा १०८.७ रहेको छ । जनवरीको ११५.१ को रेकर्ड उच्च विन्दुभन्दा यो थोरै मात्र कम हो । यसले अमेरिकी मुद्रा अझै पनि अत्यधिक मूल्यांकन गरिएको देखाउँछ ।

अन्य प्रमुख अर्थतन्त्रहरूले गति लिँदा अमेरिकाको अग्रता साँघुरिने र विश्वव्यापी वृद्धि दरहरू एकै ठाउँमा आउने कुरामा डलर कमजोर हुने अपेक्षामा आधारित छ ।

ब्रान्डीवाइन ग्लोबलका पोर्टफोलियो म्यानेजर अनुजीत सरिनले भने, ‘मलाई लाग्छ, अर्को वर्ष बाँकी विश्वमा आर्थिक वृद्धि अझ बढी हुनेछ ।’

जर्मनीको आर्थिक प्रोत्साहन, चीनको नीतिगत सहयोग र युरो क्षेत्रको सुधारिएको आर्थिक वृद्धिको दिशाले पछिल्ला वर्षहरूमा डलरलाई टेवा पुर्याएको यूएस ग्रोथ प्रिमियमलाई कम गर्ने अपेक्षा लगानीकर्ताहरूले गरेका छन् ।

युरोपको सबैभन्दा ठूलो सम्पत्ति व्यवस्थापक कम्पनी अमुन्डीका स्थिर आय र मुद्रा रणनीति निर्देशक परेश उपाध्यायले भने, ‘बाँकी विश्वको वृद्धि राम्रो देखिन थाल्दा डलर थप कमजोर हुनका लागि अनुकूल वातावरण बन्छ ।’

डलरको गिरावटको खराब समय समाप्त भइसकेको विश्वास गर्ने लगानीकर्ताहरूले पनि अमेरिकी वृद्धिमा पर्ने कुनै पनि ठूलो धक्काले मुद्रालाई कमजोर पार्न सक्ने बताएका छन् ।

म्युचुअल फन्ड कम्पनी गाइडस्टोन फन्ड्सका लगानी विश्लेषक ज्याक हेरले भने, ‘अर्को वर्ष कुनै पनि विन्दुमा कमजोरी देखियो भने त्यो बजारका लागि खराब हुन सक्छ तर त्यसले निश्चित रूपमा डलरलाई पनि असर गर्न सक्छ ।’ उनले सन् २०२६ का लागि डलरको थप ठूलो अवमूल्यनको पूर्वानुमान भने गरेका छैनन् ।

अन्य प्रमुख केन्द्रीय बैंकहरूले ब्याजदर यथावत राख्ने वा बढाउने भए तापनि फेडले दरहरू कटौती गर्न जारी राख्ने अपेक्षाले डलरलाई थप दबाबमा पार्न सक्छ ।

तीव्र रूपमा विभाजित फेडले डिसेम्बरमा ब्याजदर कटौती गरेको छ । त्यसमा नीतिनिर्माताहरूको औसत धारणाले अर्को वर्ष थप एकपटक ०.२५ प्रतिशतको कटौती हुने संकेत गरेको छ ।

फेड अध्यक्ष जेरोम पावलले राष्ट्रपति ट्रम्पको अर्को फेड अध्यक्ष नियुक्तिका लागि पद छाड्ने तयारी गरिरहँदा ट्रम्पले कम ब्याजदरका लागि गरिरहेको प्रयासलाई ध्यानमा राख्दै बजारले अर्को वर्ष थप लचिलो केन्द्रीय बैंकको अपेक्षा गर्न सक्छ ।

अध्यक्ष पदका लागि चर्चित अन्तिम उम्मेदवारहरूमा ह्वाइट हाउसका आर्थिक सल्लाहकार केभिन ह्यासेट, पूर्व फेड गभर्नर केभिन वार्स र वर्तमान फेड गभर्नर क्रिस वालर सामेल छन् । उनीहरूले अहिलेको भन्दा कम ब्याजदर हुनुपर्ने वकालत गरेका छन् ।

बोस्टनस्थित सिटिजन्सका ग्लोबल मार्केटका सहप्रमुख एरिक मर्लिसले भने, ‘बजारले अर्को वर्ष फेडरल रिजर्भबाट सीमित कारबाहीको अपेक्षा गरेको भए पनि प्रवृत्तिको झुकाव कम वृद्धि र कमजोर रोजगारीतर्फ रहेको हामीलाई अनुभव हुन्छ ।’ उनले आफूहरूले अन्य जी–१० मुद्राहरूको तुलनामा अमेरिकी डलरलाई ‘सर्ट’ (बेच्ने स्थिति) गरिरहेको बताए ।

यसैबीच, युरोपेली केन्द्रीय बैंकले सन् २०२६ मा ब्याजदर स्थिर राख्ने व्यापारीहरूले अनुमान गरेका छन् । तर, दर वृद्धिको सम्भावनालाई पूर्ण रूपमा नकार्न सकिँदैन । युरोपेली केन्द्रीय बैंकले डिसेम्बरको बैठकमा आफ्नो नीतिगत दरहरू स्थिर राख्यो र वृद्धि तथा मुद्रास्फीति प्रक्षेपणहरूलाई केही परिमार्जन गर्यो ।

डलर कमजोरीको दीर्घकालीन दृष्टिकोणका बाबजुद अल्पकालीन रूपमा डलरमा सुधार आउन सक्ने सम्भावनालाई नकार्न नसकिने लगानीकर्ताहरूले चेतावनी दिएका छन् ।

आर्टिफिसियल इन्टेलिजेन्स वरपरको निरन्तर लगानीकर्ता उत्साह र यसको फलस्वरूप अमेरिकी सेयर बजारमा हुने पूँजी प्रवाहले डलरलाई अल्पकालीन सहयोग पुर्याउन सक्छ ।

यस वर्षको सरकारी कामकाज बन्दपछि पुनः सञ्चालन र यसै वर्ष पारित भएका कर कटौतीहरूबाट अमेरिकाको आर्थिक वृद्धिमा मिल्ने बढोत्तरीले पहिलो त्रैमासिकमा डलरलाई माथि उठाउन सक्ने ब्रान्डीवाइनका सरिनले बताए ।

उनले थपे, ‘तर, यो वर्षभरि डलरलाई बलियो बनाइराख्ने दिगो आधार भने हुनेछैन जस्तो हामीलाई लाग्छ ।’

Read more news from Clickmandu

Explore by Source or Category