Sutra News
संसद पुनर्स्थापनाको रिटमा ६६ निवर्तमान कांग्रेस सांसदले गरे हस्ताक्षर, देउवा, शेखर, गगनले के गरे ?
काठमाडौं । गत मंसिर १९ गते एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेट भएपछि त्यसको पर्सिपल्ट मङ्सिर २१ गते ८ जना सांसदको हस्ताक्षर कांग्रेस पनि सर्वोच्च पुग्यो। त्यही रिट निवेदनमा पक्ष कायम गरी पाऊँ भनेर पूरक निवेदन दिने तयारी कांग्रेसको छ।
रिटमा पक्ष कायम गर्न अहिलेसम्म कांग्रेसका ८८ जना निवर्तमान सांसदमध्ये ६६ जनाले हस्ताक्षर गरेको निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरेले बताए। तर उक्त रिटमा सभापति देउवासहितले हस्ताक्षर गरेका छैनन्।
घिमिरे र सचेतक सुशीला थिङसहितका सांसदहरूले सर्वोच्च अदालतमा प्रतिनिधि सभा पुनर्स्थापनाका लागि रिट दिएका थिए।
‘हस्ताक्षर सङ्कलन करिब अन्तिम चरणमा पुगेको छ। हामी निर्वाचनमा पनि भाग लिन्नौँ भनेका छैनौँ, तर संविधान जोगाउन अदालत जानुपर्ने भयो,’ घिमिरेले भने, ‘२०४८ सालदेखि अहिलेसम्म सात पटक संसद् विगठन भइसकेको छ। हरेक चोटि संसद् विगठन हुँदा कांग्रेस त्यसविरुद्ध अदालत गएको इतिहास छ।’
बुझिएअनुसार सभापति देउवासहित कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा र नेता शेखर कोइरालालगायतले हस्ताक्षर गरेका छैनन्।
त्यसअघि कांग्रेसले पछिल्लो केन्द्रीय समिति बैठकमा फागुन २१ को प्रतिनिधि सभा चुनावमा भाग लिने निर्णय गरिसकेको थियो।