Clickmandu
राजेश मेटल क्राफ्टको व्यापार घट्यो, ६ महिनामा २ अर्ब २० करोडको व्यापार

काठमाडौं । राजेश मेटल क्राफ्टले चालु आर्थिक वर्षको ६ महिनामा २ अर्ब २० करोड ७० लाख रुपैयाँको कारोबार गरेको छ ।
कम्पनीले गत आर्थिक वर्षमा ५ अर्ब ४४ करोड ३० लाख रुपैयाँ, सन् २०२४ मा ४ अर्ब १० करोड १० लाख रुपैयाँ, सन् २०२३ मा ४ अर्ब ४६ करोड ८० लाख रुपैयाँ र सन् २०२२ मा ८ अर्ब ५७ करोड ९० लाख रुपैयाँको कारोबार गरेको थियो ।
कम्पनीले चालु आर्थिक वर्षमा व्यापार घटेको जनाएको छ । कम्पनीका अनुसार उच्च प्रतिस्पर्धा र मूल्यमा चाप पर्दा व्यापारमा प्रभाव परेको उल्लेख छ ।
गत आर्थिक वर्षमा जस्तापाताबाट हुने नाफा घटेको पाइएको कम्पनीले जनाएको छ । सन् २०२४ मा ४७ प्रतिशत मार्जिन रहेकोमा गत आर्थिक वर्षमा ३७ प्रतिशतमा झरेको जनाएको छ । त्यस्तै, कम मार्जिन पाइपको हिस्सा भने बढेको छ । सन् २०२४ मा ३१ प्रतिशत रहेकोमा गत आर्थिक वर्षमा ४२ प्रतिशत पुगेको छ ।
कम्पनीका अनुसार चालु आर्थिक वर्षमा जेन्जी आन्दोलन र तत्कालीन राजनीतिक परिस्थितिले व्यापारमा उल्लेखनीय प्रभाव पारेको छ ।
श्रवणकुमार अग्रवालले सन् १९९३ मा स्थापना गरेको कम्पनीमा ६ जनाको स्वामित्व रहेको छ । पारिवारिक सदस्यद्वारा सञ्चालित यो कम्पनी दोस्रो ठूलो स्टिल उत्पादन कम्पनी हो । कम्पनीले स्टिल पाइप र जस्तापाता उत्पादन गर्दै आएको छ । कम्पनीले हट रोल्ड कोयल विभिन्न देशबाट आयात गर्दै आएको छ ।
कम्पनीले अल्पकालीन कर्जाका लागि ६ अर्ब २६ करोड ५० लाख रुपैयाँ बराबरको रेटिङ गराएको छ ।