npl.977 Nepal News Stream

Clickmandu logo Clickmandu

१० बैंकका १३८ शाखा हट्दै, कुन कहाँ ?

क्लिकमान्डु 3 hours ago

काठमाडौं । नेपाल राष्ट्र बैंकले महानगर क्षेत्रभित्र रहेका बैंक शाखाहरू समायोजन वा एकीकरण गर्नसक्ने व्यवस्था गरेपछि बैंकहरूले धमाधम शाखा बन्द गर्न लागेका छन् । विगतमा अन्धाधुन्ध शाखा खोलेका बैंकहरूले अहिले धमाधम शाखाहरू बन्द गर्न लागेका हुन् ।

विशेष गरी मर्जरमा गएका बैंकहरूले शाखा समायोजन वा एकीकरण गर्ने प्रक्रिया अगाडि बढाउँदा आधा दशक अगाडिसम्म आक्रामक रूपमा शाखा विस्तार गरेको एनआईसी एशिया बैंकले भने सबैभन्दा धेरै शाखा बन्द गर्न लागेको हो ।

२० मध्ये १० वटा वाणिज्य बैंकहरूले देशभरका ६ वटा महानगरपालिकाभित्र रहेका १३८ वटा शाखा कार्यालय तथा एक्सटेन्सन काउन्टर बन्द गर्ने भएका हुन् ।

राष्ट्र बैंकको पूर्वस्वीकृति बिना शाखा वा कुनै पनि किसिमको कार्यालय बन्द गर्न वा स्थानान्तरण गर्न वा गाभ्न नसक्ने व्यवस्था भए पनि महानगरपालिकाभित्र रहेका शाखा भने वाणिज्य बैंकहरूले राष्ट्र बैंकले तोकेका सर्तहरूमा बन्द गर्नसक्ने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा बैंकहरूको शाखा विस्तार नीतिमा पुनरावलोकन गर्ने घोषणा गरेको थियो । ‘विद्युतीय भुक्तानी प्रणाली सुदृढ हुँदै गएको सन्दर्भमा बैंक तथा वित्तीय संस्थाहरूको विद्यमान शाखा विस्तार नीति पुनरावलोकन गरिनेछ,’ राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा भनेको थियो ।

मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामार्फत महानगर क्षेत्रभित्र रहेका शाखाहरू बैंकहरूले आफैँ समायोजन वा एकीकरण गरी राष्ट्र बैंकलाई जानकारी गराउँदा हुने व्यवस्था गर्‍यो ।

‘विद्युतीय भुक्तानी कारोबार बढिरहेको तथा महानगरपालिकामा बैंक तथा वित्तीय संस्थाको शाखा उल्लेख्य रहेको सन्दर्भमा बैंक तथा वित्तीय संस्था स्वयंले महानगरपालिकामा रहेका शाखा समायोजन/एकीकरण गर्नसक्ने व्यवस्था मिलाइनेछ,’ मौद्रिक नीति समीक्षामा भनिएको थियो ।

महानगर क्षेत्रभित्र रहेका शाखा बैंकहरूले आफैँ बन्द गर्नसक्ने व्यवस्था गरेसँगै बैंकहरूले धमाधम शाखा बन्द गरिरहेका छन् ।

६ वटा सर्त पूरा गरी बैंकहरू स्वयंले निर्णय गरी महानगरपालिका भित्र रहेका शाखा समायोजन गर्न सक्ने गरी मौद्रिक नीतिको घोषणाको आधारमा २०८२ मंसिर २९ गते परिपत्र जारी गरेको थियो ।

विद्युतीय भुक्तानी कारोबार बढिरहेको तथा वित्तीय संस्थाको शाखा उल्लेख्य रहेको सन्दर्भमा बैंक तथा वित्तीय संस्था स्वयंले महानगरपालिकामा रहेका शाखा समायोजन/एकीकरण गर्न सक्ने पहिलो सर्त छ ।

त्यस्तै सरकारी निकाय वा सार्वजनिक संस्था लक्षित गरी स्थापना भएको शाखाको हकमा उक्त संस्थाको लिखित सहमति पश्चात् मात्र शाखा समायोजन गर्न सक्ने व्यवस्था छ ।

शाखा समायोजन गर्नुपूर्व सरोकारवालाको जानकारीका लागि कम्तिमा ९० (नब्बे) दिनको सूचना राष्ट्रिय स्तरको दैनिक पत्रिका, सम्बन्धित संस्थाको वेबसाइट र उक्त शाखाको सूचनापाटीमा समेत प्रकाशन गर्नुपर्ने व्यवस्था सर्त तोकेको छ ।

दुई वा सोभन्दा बढी शाखाहरू समायोजन हुने अवस्थामा समायोजन हुने शाखाका ग्राहकले उक्त संस्थाको कर्जा चुक्ता गर्न चाहेमा वा अन्य सेवा बन्द गर्न चाहेमा कुनै पनि प्रकारका शुल्क नलिई कर्जा चुक्ता वा सेवा स्थगित गर्न सक्ने व्यवस्था मिलाउनुपर्ने निर्देशनमा उल्लेख छ ।

शाखा समायोजन गरेको ३ कार्यदिनभित्र राष्ट्र बैंकले तोकेको अनुसूची १४.२ बमोजिमको विवरण राष्ट्र बैंक समक्ष पेस गर्नुपर्ने निर्देशनमा उल्लेख छ ।

नेपाल राष्ट्र बैंकका अनुसार एनआईसी एशिया बैंकले सबैभन्दा धेरै ४४ वटा शाखा समायोजन वा बन्द गरेको छ । त्यस्तै कुमारी बैंकले पनि एक्सटेन्सन काउन्टर र शाखासमेत गरी २५ वटा शाखा कार्यालय बन्द गरेको हो ।

कुनै बैंकले कति शाखा बन्द गर्दै ?

१. ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंक विभिन्न ८ शाखा कार्यालयहरूलाई समायोजन (एकीकरण) गरी बन्द गर्ने भएको छ । बैंकले एक सार्वजनिक सूचना जारी गर्दै काठमाडौं र ललितपुर महानगरपालिकाका विभिन्न स्थानमा रहेका नजिकका शाखाहरूलाई २०८३ साल वैशाख २८ गतेदेखि समायोजन गरी एकीकृत कारोबार सुरु गर्न लागेको हो ।

बैंकका अनुसार सेवाग्राहीलाई थप व्यवस्थित र प्रभावकारी बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले एकै क्षेत्रमा रहेका शाखाहरूलाई गाभ्न लागिएको हो । समायोजन पश्चात् साबिकका शाखाका ग्राहकहरूले समायोजन भई कायम भएका शाखा कार्यालयमार्फत सम्पूर्ण बैंकिङ सेवा–सुविधाहरू प्राप्त गर्न सक्नेछन् ।

समायोजन हुने शाखाहरू र एकीकृत भई कायम रहने स्थानहरूः
– काठमाडौंको ज्ञानेश्वर शाखा सानो गौचरन शाखामा समायोजन हुने ।
– काठमाडौंको नयाँबानेश्वर शाखा शंखमुल शाखामा समायोजन हुने ।
– काठमाडौंको इन्द्रचोक शाखा असन शाखामा समायोजन हुने ।
– काठमाडौंको बाफल कलंकी शाखा कलंकी शाखामा समायोजन हुने ।
– ललितपुरको खुमलटार शाखा सातदोबाटो शाखामा समायोजन हुने ।
– ललितपुरको धोबीघाट शाखा एकान्तकुना शाखामा समायोजन हुने ।
– सुन्धारा (ललितपुर) शाखा ग्वार्को शाखामा समायोजन हुने ।
– ललितपुरको कुमारीपाटी शाखा लगनखेल शाखामा समायोजन हुने ।

यी शाखाहरू एक–अर्काबाट २०० मिटरदेखि ३ किलोमिटरसम्मको दूरीमा रहेका छन् ।

२. नेपाल इन्भेष्टमेण्ट मेगा बैंक

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले विभिन्न स्थानका १८ वटा शाखा कार्यालयहरूलाई एकआपसमा गाभ्ने (मर्जर गर्ने) प्रक्रिया अघि बढाएको छ । नेपाल राष्ट्र बैंकको नियामकीय व्यवस्था पालना गर्दै बैंकको आन्तरिक नीति बमोजिम एकै स्थान वा नजिकै रहेका शाखाहरूलाई गाभेर सेवालाई थप प्रभावकारी बनाउन लागिएको बैंकले जनाएको छ ।

बैंकले एक सूचना जारी गर्दै चैत ३ गतेदेखि ८ वटा शाखाहरू अन्य शाखामा समायोजन गरिसकेको छ । त्यस्तै यसै वैशाख ६ गतेदेखि थप १० वटा शाखा अन्य शाखामा समायोजन गर्न लागेको हो । चैत ३ गतेदेखि काठमाडौँ र ललितपुरका ८ वटा शाखाहरू समायोजन गरेको हो ।

– लाजिम्पाट र नक्साल शाखा : ‘नक्साल’ शाखाबाट एकीकृत कारोबार भएको ।
– खिचापोखरी र न्यूरोड शाखा : ‘न्युरोड’ शाखाबाट एकीकृत कारोबार भएको ।
– कुमारीपाटी र लगनखेल शाखा : ‘लगनखेल’ शाखाबाट एकीकृत कारोबार भएको ।
– जावलाखेलका २ वटा शाखा : ललितपुर महानगरपालिका ४ जावलाखेल शाखाबाट एकीकृत कारोबार भएको ।
– नयाँ बानेश्वर (०९४) र नयाँ बानेश्वर (०२८) शाखा : नयाँ बानेश्वर (०२८) शाखाबाट एकीकृत कारोबार सुरु भएको ।
– टेकु शाखा र त्रिपुरेश्वर शाखाः त्रिपुरेश्वर शाखाबाट एकीकृत कारोबार सुरु भएको ।
– चाबहिल (१६५) शाखा र चाबहिल (०५६) शाखा : चाबहिल (०५६) शाखाबाट एकीकृत कारोबार सुरु भएको ।
– कलंकी (१५२) शाखा र कलंकी (२५२) शाखा : कलंकी (२५२) शाखाबाट एकीकृत कारोबार सुरु भएको ।

आगामी वैशाख ६ गतेदेखि बैंकको १० शाखा गाभिँदै छन् ।

– बागबजार र पुतलीसडक शाखा : ‘पुतलीसडक’ शाखाबाट एकीकृत कारोबार हुने ।
– गौशाला र बत्तिसपुतली शाखा : ‘बत्तिसपुतली’ शाखाबाट एकीकृत कारोबार हुने ।
– ठमेल–२ र ठमेल शाखा : ‘ठमेल’ शाखाबाट एकीकृत कारोबार हुने ।
– कुलेश्वर शाखा र कालिमाटी शाखा : ‘कालिमाटी’ शाखाबाट एकीकृत कारोबार हुने ।
– ललितपुरको पाटन शाखा लगनखेल शाखामा गाभिने
– नारायणगढ (२२०) शाखा नारायणगढ (०१३) शाखामा गाभिने
– वीरगन्ज (०९८) शाखा वीरगन्ज (००३) शाखामा गाभिने
– विराटनगर–२ शाखा विराटनगर (०९७) शाखामा गाभिने
– पोखराको बझापाटन शाखा अमरसिंह शाखामा गाभिने
– पोखराको लेखनाथ शाखा तालचोक शाखामा गाभिने

३. प्राइम कमर्सियल बैंक

प्राइम कमर्सियल बैंकले विभिन्न ७ वटा शाखा कार्यालयहरूलाई अर्को शाखामा समायोजन गर्ने भएको छ । बैंकले एक सूचना जारी गर्दै २०८३ साल जेठ १९ गतेदेखि लागू हुने गरी काठमाडौँ, पोखरा र भरतपुरका नजिकका शाखाहरूलाई गाभ्न लागेको हो। ती कार्यालयमार्फत सम्पूर्ण बैंकिङ सेवा–सुविधाहरू प्राप्त गर्न सक्नेछन् ।

समायोजन हुने शाखाहरूको विवरणः
– भरतपुरको हाकिमचोक शाखा भरतपुर शाखामा समायोजन हुनेछ ।
– काठमाडौंको सुन्धारा शाखा न्यूरोड शाखामा समायोजन हुने ।
– काठमाडौंको बाङ्गेमुढा शाखा असन शाखामा समायोजन हुने ।
– काठमाडौंको गौशाला शाखा पुरानो बानेश्वर शाखामा समायोजन हुने ।
– पोखराको बि.पी. चोक र बगर शाखा दुवै न्यूरोड पोखरा शाखामा समायोजन हुने ।
– पोखराको बुढीबजार शाखा तालचोक शाखामा समायोजन हुने ।

४. प्रभु बैंक

प्रभु बैंकले सार्वजनिक गरेको सूचना अनुसार कुल १४ वटा शाखा कार्यालयहरू अन्य नजिकका शाखाहरूसँग समायोजन (गाभिन) हुन लागेका छन्।

बैंकका शाखाहरू २०८३ वैशाख १३ गतेदेखि एकीकृत भई सञ्चालनमा आउनेछन्।

कुन शाखा कुनमा समायोजन हुँदैछन् :
– विराटनगरको गोल्छाचोक शाखा तिनपैनी शाखामा समायोजन हुने ।
– पोखराको अर्घौचोक शाखा तालचोक शाखामा समायोजन हुने ।
– पोखराको हरिचोक शाखा बगर शाखामा समायोजन हुने ।
– पोखराको नयाँगाउँ शाखा अमरसिंह चोक शाखामा समायोजन हुने ।
– चितवनको बेलचोक शाखा लायन्स चोक शाखामा समायोजन हुने ।
– ललितपुरको पाटन शाखा मङ्गलबजार शाखामा समायोजन हुने ।
– ललितपुरको सातदोबाटो चोक शाखा सातदोबाटो शाखामा समायोजन हुने ।
– काठमाडौंको बौद्ध शाखा बौद्ध १ शाखामा समायोजन हुने ।
– काठमाडौंको बागदरबार शाखा खिचापोखरी शाखामा समायोजन हुने ।
– काठमाडौंको नरेफाँट शाखा कोटेश्वर शाखामा समायोजन हुने ।
– काठमाडौंको सिनामंगल एयरपोर्ट शाखा सिनामंगल शाखामा समायोजन हुने ।
– काठमाडौंको मित्रपार्क शाखा चाबहिल शाखामा समायोजन हुने ।
– काठमाडौंको टेकु शाखा कालिमाटी शाखामा समायोजन हुने ।
– काठमाडौंको पुतलीसडक शाखा कमलादी शाखामा समायोजन हुने ।

समायोजन हुने शाखाहरू १५० मिटरदेखि २ किलोमिटरसम्मको दूरीमा रहेका छन् । यी शाखाहरू गाभिएपछि ग्राहकहरूले एकीकृत भएका शाखा कार्यालयहरूबाट सम्पूर्ण बैंकिङ सेवाहरू प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

५. एनआईसी एशिया बैंक

एनआईसी एशिया बैंकले सार्वजनिक गरेको तीनवटा फरक–फरक सूचना अनुसार आगामी २०८३ साल वैशाख ३ गते (२०८३/०१/०३) देखि देशभरका कुल ४४ वटा शाखा कार्यालयहरू अन्य नजिकका शाखाहरूमा समायोजन (गाभिन) हुन लागेका छन्।

कुन शाखा कुनमा समायोजन हुँदैछन्:
– विराटनगरको मेनरोड र हाटखोला शाखा विराटनगर शाखामा समायोजन हुने ।
– रानी मिल्स एरिया शाखा रोडशेष चोक शाखामा समायोजन हुने ।
– वीरगञ्जको लिङ्क रोड र पावरहाउस चोक शाखा वीरगञ्ज आदर्शनगर शाखामा समायोजन हुने ।
– काठमाडौंको नागपोखरी, पुतलीसडक, दरबारमार्ग, ज्ञानेश्वर र बागबजार शाखाहरू कमलादी शाखामा समायोजन हुने ।
– काठमाडौंको बोहोराटार, माछापोखरी र ढुङ्गेधारा–नर्सरी चोक शाखाहरू बालाजु शाखामा समायोजन हुने ।
– न्यूरोड खिचापोखरी, भोटाहिटी र किलागल शाखाहरू न्यूरोड विशालबजार शाखामा समायोजन हुने ।
– काठमाडौंको तिन्चुली र चाबहिल शाखाहरू बौद्ध शाखामा समायोजन हुने ।
– काठमाडौंको अनामनगर, शङ्खमूल र मध्य बानेश्वर शाखाहरू नयाँ बानेश्वर शाखामा समायोजन हुने ।
– काठमाडौंको सिनामङ्गल, मित्रपार्क र कालोपुल शाखाहरू बत्तिसपुतली शाखामा समायोजन हुने ।
– काठमाडौंको नरेफाँट शाखा कोटेश्वर शाखामा समायोजन हुने ।
– काठमाडौंको बालुवाटार शाखा लाजिम्पाट शाखामा समायोजन हुने ।
– काठमाडौँको खसीबजार शाखा कलङ्की शाखामा समायोजन हुने ।
– काठमाडौंको कपन शाखा सुकेधारा शाखामा समायोजन हुने ।
– काठमाडौंको गोंगबु शाखा सामाखुसी शाखामा समायोजन हुने ।
– काठमाडौंको सोह्रखुट्टे शाखा ठमेल शाखामा समायोजन हुने ।
– काठमाडौंको टेकु शाखा त्रिपुरेश्वर शाखामा समायोजन हुने ।
– ललितपुरको ग्वार्को र खुमलटार शाखाहरू सातदोबाटो शाखामा समायोजन हुने ।
– ललितपुरको लगनखेल र मङ्गलबजार शाखाहरू जावलाखेल शाखामा समायोजन हुने ।
– ललितपुरको सानेपा शाखा पुलचोक शाखामा समायोजन हुने ।
– ललितपुरको खोकना शाखा भैँसेपाटी शाखामा समायोजन हुने ।
– भरतपुरको बसेनी शाखा हाकिम चोक शाखामा समायोजन हुने ।

यी शाखाहरू ३०० मिटरदेखि ४.१ किलोमिटरसम्मको दूरीमा रहेका छन् । समायोजन पश्चात् साबिकका शाखाका ग्राहकहरूले समायोजन भएको एकीकृत शाखाहरूबाट सम्पूर्ण बैंकिङ सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

६. कुमारी बैंक

कुमारी बैंकले सार्वजनिक गरेका दुईवटा फरक–फरक सूचना अनुसार १६ वटा शाखा कार्यालय र ८ वटा विस्तारित काउन्टरहरू अन्य नजिकका शाखाहरूमा समायोजन (मर्जर) गर्ने भएको हो ।

बैंकले २०८२ चैत २ गतेदेखि ९ वटा शाखा र विस्तारित काउन्टरहरू समायोजन गरी एकीकृत कारोबार सुरु गरिसकेको छ । त्यस्तै चैत १५ गतेदेखि १५ वटा शाखा र विस्तारित काउन्टर समायोजन गरी एकीकृत कारोबार सुरु गरेको छ ।

यी हुन् समायोजन भएका शाखा:
– ललितपुरको टङ्गाल शाखा मङ्गलबजार शाखामा समायोजन भएको ।
– काठमाडौंको जनवहाल शाखा न्यूरोड शाखामा समायोजन भएको ।
– काठमाडौंको बानेश्वर शाखा मैतीदेवी शाखामा समायोजन भएको ।
– काठमाडौंको वसुन्धरा शाखा महाराजगञ्ज शाखामा समायोजन भएको ।
– काठमाडौंको सिफल शाखा चाबहिल शाखामा समायोजन भएको ।
– काठमाडौंको बल्खु विस्तारित काउन्टर कुलेश्वर शाखामा समायोजन भएको ।
– काठमाडौंको जैसीदेवल विस्तारित काउन्टर न्यूरोड पाको शाखामा समायोजन भएको ।
– काठमाडौंको बालाजु विस्तारित काउन्टर बालाजु शाखामा समायोजन भएको ।
– काठमाडौंको छाउनी विस्तारित काउन्टर डल्लु शाखामा समायोजन भएको ।
– काठमाडौंको महाराजगञ्ज विस्तारित काउन्टर महाराजगञ्ज शाखामा समायोजन भएको ।
– काठमाडौंको सामाखुसी विस्तारित काउन्टर सामाखुसी शाखामा समायोजन भएको ।
– काठमाडौंको कुलेश्वर विस्तारित काउन्टर कुलेश्वर शाखामा समायोजन भएको ।
– काठमाडौंको ताहाचल विस्तारित काउन्टर डल्लु शाखामा समायोजन भएको ।
– पोखराको बाँझापाटन शाखा काहुँखोला शाखामा समायोजन भएको ।
– पोखराको विरौटा शाखा लेकसाइड शाखामा समायोजन भएको ।
– पोखराको अमरसिंहचोक शाखा चिप्लेढुङ्गा शाखामा समायोजन भएको ।
– मोरङको पोखरा शाखा चिप्लेढुङ्गा शाखामा समायोजन भएको ।
– विराटनगरको मेनरोड शाखा विराटनगर शाखामा समायोजन भएको ।
– विराटनगरको वरगाछी शाखा विराटनगर शाखामा समायोजन भएको ।
– वीरगञ्जको ड्राइपोर्ट शाखा सिर्सिया शाखामा समायोजन भएको ।
– वीरगञ्जको प्रतिमाचोक शाखा वीरगञ्ज शाखामा समायोजन भएको ।
– भरतपुरको शहीदचोक शाखा नारायणगढ शाखामा समायोजन भएको ।
– भरतपुरको भरतपुर शाखा हाकिमचोक शाखामा समायोजन भएको ।
– भरतपुरको पोखरा बसपार्क शाखा नारायणगढ शाखामा समायोजन भएको ।

समायोजन पश्चात् साविकका शाखाहरूका ग्राहकहरूले समायोजनपछि रहने शाखा कार्यालयहरूबाट सम्पूर्ण बैंकिङ सेवाहरू प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

७. माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकले सार्वजनिक गरेको सूचना अनुसार कुल ८ वटा शाखा कार्यालयहरू अन्य नजिकका शाखाहरूसँग समायोजन (मर्जर) हुन लागेका छन्। यी शाखाहरू २०८३ साउन १८ गतेदेखि एकीकृत भई सञ्चालनमा आउनेछन् ।

कुन शाखा कुनमा समायोजन हुँदैछन् :
– चितवनको हाकिम चोक शाखा नारायणगढ शाखामा समायोजन हुने ।
– काठमाडौंको बालाजु शाखा गोंगबु शाखामा समायोजन हुने ।
– काठमाडौंको खुसीबु शाखा डल्लु शाखामा समायोजन हुने ।
– काठमाडौंको कलङ्की शाखा स्वयम्भू शाखामा समायोजन हुने ।
– काठमाडौंको कोटेश्वर शाखा नयाँ बानेश्वर शाखामा समायोजन हुने ।
– काठमाडौंको ठमेल शाखा दरबारमार्ग शाखामा समायोजन हुने ।
– पोखराको लामाचौर शाखा बगर शाखामा समायोजन हुने ।
– वीरगञ्जको लिङ्करोड शाखा आदर्शनगर शाखामा समायोजन हुने ।

यी शाखाहरू ०.७ किलोमिटरदेखि ३.० किलोमिटरसम्मको दूरीमा रहेका छन् । समायोजन पश्चात् ग्राहकहरूले एकीकृत भएका शाखाहरूबाट सम्पूर्ण बैंकिङ सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

८. सिद्धार्थ बैंक

सिद्धार्थ बैंकले सार्वजनिक गरेको सूचना अनुसार कुल ८ वटा शाखा कार्यालयहरू अन्य नजिकका शाखाहरूसँग समायोजन हुन लागेका छन्। यी शाखाहरूको एकीकृत कारोबार २०८३ साउन १ गतेदेखि सुरु हुने बैंकले जनाएको छ ।

कुन शाखा कुनमा समायोजन हुँदैछन् :
– काठमाडौंको कालोपुल शाखा चाबहिल शाखामा समायोजन हुने ।
– काठमाडौंको कुलेश्वर शाखा कालिमाटी शाखामा समायोजन हुने ।
– काठमाडौंको न्यूरोड गेट शाखा न्यूरोड शाखामा समायोजन हुने ।
– काठमाडौंको नरदेवी शाखा पुतलीसडक शाखामा समायोजन हुने ।
– काठमाडौंको जावलाखेल शाखा बी एण्ड बी शाखामा समायोजन हुने ।
– पोखराको चिप्लेढुङ्गा शाखा पोखरा सभागृह शाखामा समायोजन हुने ।
– पोखराको बगर शाखा अब प्रस्याङ शाखामा समायोजन हुने ।
– पोखराको बुद्धचोक शाखा अब पोखरा सभागृह शाखामा समायोजन हुने ।

९. नबिल बैंक

नबिल बैंकले विभिन्न महानगरपालिकाभित्र नजिकै रहेका आफ्ना ७ वटा शाखा कार्यालयहरूलाई आपसमा समायोजन (मर्जर) गर्ने प्रक्रिया अघि बढाएको छ। बैंकले एक सूचना जारी गर्दै कार्यसञ्चालनमा सहजता ल्याउन नजिकका शाखाहरूलाई गाभ्न लागेको जनाएको छ ।

कुन शाखा कहाँ समायोजन हुने ?
– काठमाडौंको मालिगाउँ र भाटभटेनी शाखा विशालनगर शाखामा समायोजन हुने ।
– काठमाडौंको मित्रपार्क शाखा चाबहिल शाखामा समायोजन हुने ।
– काठमाडौंको घण्टाघर शाखा तीनधारा शाखामा समायोजन हुने ।
– काठमाडौंको नयाँ बानेश्वर र सिनामङ्गल शाखा बिजुलीबजार शाखामा समायोजन हुने ।

बैंकले समायोजन हुने शाखाका ग्राहकहरूलाई अब समायोजन भई सञ्चालनमा रहने सम्बन्धित शाखा कार्यालयहरूबाट सम्पूर्ण बैंकिङ सेवा तथा सुविधाहरू लिन आग्रह गरेको छ । शाखा समायोजन कार्यलाई प्रभावकारी बनाउन बैंकले समायोजन हुनुभन्दा ९० दिन अगावै यो सूचना प्रकाशित गरेको जनाएको छ ।

१०. एनएमबि बैंक

एनएमबि बैंकले आफ्ना ४ वटा शाखा कार्यालयहरूलाई नजिकैका अन्य शाखाहरूमा समायोजन गर्ने कार्य सम्पन्न गरेको छ । बैंकले २०८२ चैत २५ गतेदेखि नै शाखा समायोजन गरी एकीकृत भएका शाखाहरूबाट सम्पूर्ण बैंकिङ सेवाहरू सुचारु भइसकेको जनाएको छ ।

कुन शाखा कुनमा समायोजन भयो?
– विराटनगर महानगरपालिकामा रहेको विराटनगर शाखा महेन्द्रचोक शाखामा समायोजन भएको ।
– भरतपुरको नारायणगढ मेनरोड शाखा लायन्स चोक शाखामा समायोजन भएको ।
– पोखरा महानगरपालिकाको पोखरा शाखा चिप्लेढुङ्गा शाखामा समायोजन भएको छ।
– पोखराको रामबजार शाखा अमरसिंह शाखामा समायोजन भएको ।

Read more news from Clickmandu

Explore by Source or Category