Sutra News
के जिग्री र काकु मिलेर एकसाथ फिल्म बनाउँदै छन् ?
काठमाडौं । एकबेला हास्य टेलिशृङ्खला ‘भद्रगोल’ देखि ‘सक्किगोनी’ सम्म अटुट सहकार्य गरेको जिग्री (कुमार कट्टेल), पाँडे (अर्जुन घिमिरे) र काकु (दीपक आचार्य)को मित्रता दर्शकमाझ निकै लोकप्रिय थियो। पर्दामा होस् वा पर्दाबाहिर, उनीहरूको मित्रता सधैँ चर्चामा रहन्थ्यो।
तर गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘लाज शरणम्’ बाट भने उनीहरूबीचमा अलि खटपट आएजस्तो देखियो। यद्दपि त्यो लामो समय रहेन। काकुले सार्वजनिक रूपमा उक्त विवादबारे कसैप्रति आरोप लगाएनन्। बरू ‘लाज शरणम्’लाई शुभकामना दिए।
‘लाज शरणम्’ कुमार कट्टेलको निर्देशनमा बनेको थियो। राम्रो व्यापार गरेको यो फिल्ममा अर्जुन घिमिरे कार्यकारी निर्माता र कलाकार थिए। उनै अर्जुनको फिल्म ‘झरी पछिको इन्द्रेणी’ अहिले प्रदर्शनरत छ, राम्रो दर्शक प्रतिक्रियासहित।
त्यसैले होला, अर्जुन र कुमारले सामाजिक सञ्जालमार्फत दीपकको फिल्म ‘परान’लाई शुभकामना दिएका थिए। ‘परान’ हेरेपछि मिडियासँग बोल्दै कुमारले भनेका थिए, ‘यो फिल्म सबै नेपालीले हेर्नैपर्ने खालको बनेको छ, हामी दुवै हिजो, आज र भोली सँगै हुनेछौं।’
नभन्दै, ‘परान’ यस वर्षकै सर्वाधिक कमाउने सफल फिल्म बनेको छ। फिल्मले १८ करोड बढीको कमाई गर्यो।
यही मेसोमा ‘लाज शरणम्’ र ‘परान’ निर्देशक एकसाथ सहकार्यमा जुटेका छन्। स्रोतका अनुसार कुमार र दीपकले कमेडी जनराको फिल्म एकसाथ मिलेर बनाउन लागेका हुन्। भलै, यसमा अर्जुन चाहिं जोडिन्छन् या जोडिदैनन्, त्यो हेर्न बाँकी छ।
फिल्म फागुनबाट फ्लोरमा जाने बताइन्छ। जेठमा रिलिज गर्ने तयारी रहेको छ।