npl.977 Nepal News Stream

Nepali Link

हार्लोमा नेपाली नयाँ वर्ष कार्यक्रम

Nabin Pokharel 3 days ago


लन्डन – बेलायत एसेक्सस्थित सामाजिक संस्था हार्लो नेपाली समुदायले शोब्रिजवर्थ कम्युनिटी हलमा कार्यक्रम आयोजना गरी नेपाली नयाँ वर्ष २०८३ लाई स्वागत गरेको छ।

हार्लो नेपाली समाजका अध्यक्ष प्रमोद भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष राजेन्द्र पुडासैनीलाई बेलायतमा नेपाली समुदायप्रति पुर्‍याएको योगदानको कदर गर्दै सम्मान तथा अभिनन्दन गरिएको थियो।

कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतिहरू—गीत, संगीत तथा नृत्य—प्रस्तुत गरिएको थियो, जसले नेपाली कला र संस्कृतिको झल्को दिएको थियो।

रूबी पुडासैनी र सानभी भट्टराईले बालबालिकाहरूका लागि विशेष कार्यक्रम प्रस्तुत गरेक भने सलिसा र ग्रिसा सुधाकरले बेजोड नृत्य प्रस्तुत गरेका थिए जसले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

उक्त कार्यक्रममा जिसिएसई पढाई सक्नुका साथै विद्यालय र समाजमा उच्च अनुशासन देखाएका रोनव लुईटेललाई सम्मान गरिएको थियो। साथै क्यान्सर जस्तो गम्भीर रोगलाई पराजित गर्दै साहसको उदाहरण प्रस्तुत गर्ने हिरा दवाडी लुईटेललाई पनि विशेष सम्मान गरिएको थियो।

कार्यक्रममा समाजमा बढ्दै गएको मानसिक स्वास्थ्य समस्या, पारिवारिक चुनौतीहरू तथा जोखिममा रहेका परिवार र व्यक्तिहरूलाई लक्षित जनचेतनामूलक विषयहरूमा समेत छलफल गरियो।

उक्त अवसरमा प्रमुख अतिथि एनआरएनए युके अध्यक्ष राजेन्द्र पुडासैनीले नेपालीपनको महत्वबारे प्रकाश पार्दै ‘जहाँ नेपाली त्यहाँ नेपाल’ भन्ने भावना विश्वभर फैलिएको उल्लेख गरे ।

उनले नेपालीहरूको एउटै जाति—नेपाली जाति—भएको बताउँदै फूलको माला जस्तै विविधतामा एकता रहेको धारणा व्यक्त गरे।

अध्यक्ष पुडासैनीले ‘एक पटक नेपाली, सधैंको नेपाली’ भन्ने गैरआवासीय नेपाली संघको मूल मन्त्रलाई स्मरण गर्दै विश्वभर रहेका नेपालीहरूबीच आपसी सम्बन्ध सुदृढ बनाउन आवश्यक रहेको बताए।

उनले नेपालमा नवनिर्वाचित सरकारले गैरआवासीय नेपालीहरूको भावनालाई कदर गर्नेमा आशावादी रहेको पनि उल्लेख गरे।

पुडासैनीले प्रवासमा रहेका विभिन्न पुस्ताका नेपालीहरूलाई आफ्नो जरा, भाषा, संस्कृति र परम्परासँग जोडिराख्नु आवश्यक रहेकोमा जोड दिँदै सांस्कृतिक सम्पदा संरक्षण तथा मातृभूमिको राष्ट्र निर्माणमा सहयोग गर्न सबैलाई आह्वान पनि गरे।


कार्यक्रममा बेलायती समुदायसँग बढ्दो सम्बन्धलाई पनि उजागर गरिएको थियो।

हार्लो क्षेत्रका सांसद क्रिस भिन्सले कार्यक्रमका लागि शुभकामना सन्देश पठाएका थिए।

कार्यक्रम सञ्चालन संस्थाका सचिव रामसुन्दर रायमाझी र सन्दीप सुधाकरले संयुक्त रूपमा गरेका थिए।

कार्यक्रममा संस्थाका उपाध्यक्ष राजेन्द्र लुईटेलले स्वागत मन्तव्य राखे भने कोषाध्यक्ष सचिता सत्याल बस्नेतले संस्थाको गतिविधिबारे जानकारी दिइन् ।

सानो संख्यामा भएपनि सक्रिय र विस्तार हुँदै गएको हार्लो नेपाली समुदायले यस कार्यक्रममार्फत आपसी एकता, सहकार्य, सामाजिक चेतना तथा सांस्कृतिक पहिचानलाई अझ सुदृढ बनाउँदै प्रवासी नेपालीहरूको बीचमा एकताको सन्देश प्रवाह गरेको छ।

Read more news from Nepali Link

Explore by Source or Category