npl.977 Nepal News Stream

Sutra News logo Sutra News

पूर्वराजा ज्ञानेन्द्रको अभिव्यक्तिप्रति राप्रपाको समर्थन, निर्वाचनपूर्व नवीन समझदारीका लागि आह्वान

सुत्र न्युज 23 hours ago

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको राष्ट्रिय समस्या समाधान गरेर मात्र निर्वाचनमा जानु उचित हुने अभिव्यक्तिप्रति राप्रपाले स्वागत गर्दै समर्थन जनाएको छ ।

प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा बुधबार (फागुन ६) भिडियो सन्देश जारी गर्दै पूर्वराजा शाहले भनेका थिए, ‘पहिले राष्ट्रिय समस्याको समाधान गरेर मात्र आसन्न निर्वाचन प्रक्रियातर्फ जानु उचित हुने र निर्वाचनपछि कुनै द्वन्द, अशान्ति र खिचातानी नहोस् भन्ने विषयलाई ध्यानमा राखेर राष्ट्रिय सहमति र सबैलाई समेटेर जाने समझदारी बनाएर मात्र निर्वाचनमा जाँदा नै त्यसले सही बाटो समात्ने थियो ।’

बुधबार (फागुन ७) मा वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङको अध्यक्षतामा बसेको बैठकले पूर्वराजा शाहको अभिव्यक्तिको स्वागत गर्दै समर्थन जनाएको हो ।

पूर्वराजा शाहको अभिव्यक्ति मुलुकको धरातलीय यथार्थको प्रतिबिम्ब र आमजनताको चाहनाअनुसार भएको राप्रपाको ठहर छ । यसबारेमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिनुका साथै विभिन्न राजनीतिक दलहरूसँग वार्ता र विचारविमर्श गरिरहेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

यसबारे प्रवक्ता श्रेष्ठले जारी गरेको विज्ञप्ति

राप्रपाको केन्द्रीय पदाधिकारीको बैठक आज केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको छ। चुनावी अभियानको क्रममा अध्यक्ष राजेन्द्र लिङ्देन उपत्यका बाहिर रहनुभएकाले अध्यक्षको निर्देशनमा वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङको अध्यक्षतामा बसेको बैठकमा पूर्व अध्यक्षद्वय डा.प्रकाशचन्द्र लोहनी र कमल थापा एवं काठमाण्डौंमा उपलब्ध केन्द्रीय पदाधिकारीको उपस्थिति रहेको थियो । बैठकले,

राजा ज्ञानेन्द्रबाट प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा देशवासीको नाममा दिइएको सन्देशमा व्यक्त विचारको राष्ट्रिय प्रजातन्त्र पार्टी स्वागत र समर्थन गर्दछ। ‘पहिले राष्ट्रिय समस्याको समाधान गरेर मात्र आसन्न निर्वाचन प्रक्रियातर्फ जानु उचित हुने र निर्वाचनपछि कुनै द्वन्द, अशान्ति र खिचातानी नहोस् भन्ने विषयलाई ध्यानमा राखेर राष्ट्रिय सहमति र सबैलाई समेटेर जाने समझदारी बनाएर मात्र निर्वाचनमा जाँदा नै त्यसले सही बाटो समात्ने थियो’ भन्ने राजाको अभिव्यक्ति मुलुकको धरातलीय यथार्थको प्रतिबिम्ब हो। आम जनताको चाहना नै त्यही हो।

राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकको वर्तमान अवस्थालाई दृष्टिगत गर्दै सबै विचार र शक्तिहरूको प्रतिनिधित्व हुने गरी सर्वपक्षीय सम्मेलन गर्ने र नविन समझदारी कायम गर्ने बारे पटकपटक आवाज उठाउँदै आएको सर्वविदित छ। यसै क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीले सम्माननीय प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिनुका साथै विभिन्न राजनीतिक दलहरूसँग यस सम्बन्धमा वार्ता र विचारविमर्श गरिरहेको छ।

यथासम्भव निर्वाचनपूर्व नै राष्ट्रिय समस्याको समाधानका निम्ति समझदारी कायम गर्न सरकार र राजनीतिक दलहरूसँग फेरि पनि हामी आग्रह गर्दछौं। साथै, राजाको सन्देश तथा पार्टीको नीति अनुरूप उच्च मनोबलका साथ चुनावी अभियानमा समेत नवीन समझदारीको निम्ति दबाब दिन तथा आम जनतालाई जागरुक तुल्याउन राप्रपा आह्वान गर्दछ।

मोहन कुमार श्रेष्ठ
प्रवक्ता एवं प्रचार विभाग प्रमुख
७ फागुन २०८२

Read more news from Sutra News

Explore by Source or Category