Clickmandu
नाइमाको समन्वयमा हाइब्रिड सवारीसाधन सम्बन्धी प्राविधिक तालिम सम्पन्न

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को समन्वयमा हाइब्रिड सवारीसाधनको मेकानिजम, सुरक्षा तथा मर्मतसम्भारसम्बन्धी प्राविधिक तालिम काठमाडौंमा सम्पन्न भएको छ ।
अटोमोबाइल ब्रान्ड टोयोटाका नेपालका आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटको प्राविधिक सहयोगमा काठमाडौंस्थित केन्द्रीय कार्यालयमा उक्त तालिम आयोजना गरिएको हो।
तालिममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभिटी) अन्तर्गत बालाजु इञ्जिनियरिङ तथा प्रविधि विद्यालयका डिप्लोमा तह पाँचौँ सेमेस्टरका विद्यार्थीहरू तथा ट्राफिक चालकसहित २५ भन्दा बढी सहभागीहरूको उपस्थिति रहेको थियो ।
सहभागीहरूलाई हाइब्रिड सवारीसाधन प्रविधिसम्बन्धी विशेष प्राविधिक तालिम प्रदान गरिएको थियो, जसबाट उनीहरूले मेकानिजम, सुरक्षा र मर्मतसम्भारसम्बन्धी महत्वपूर्ण ज्ञान तथा प्रायोगिक सीप हासिल गरेका छन्।
सहभागीहरूले यसअघि गत चैत महिनामा लक्ष्मी हुन्डाईमा आयोजित विद्युतिय सवारीसाधन संयन्त्रसम्बन्धी ३ दिने तालिममा पनि सहभागिता जनाएका थिए। साथै, हाइब्रिड सवारीसाधन संयन्त्रमा केन्द्रित नाइमा मोबिलिटी संवाद कार्यक्रममा सहभागी भई नीतिगत तथा प्राविधिक विषयमा थप जानकारी लिएका थिए ।
नाइमाका अनुसार विद्युतियदेखि हाइब्रिड प्रविधिसम्मको ज्ञानलाई चरणबद्ध रूपमा जोड्दै सहभागीहरूको समग्र प्राविधिक क्षमता अभिवृद्धि गर्ने उद्देश्य राखिएको हो।
कार्यक्रममा नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले प्राविधिक शिक्षा तथा विद्यार्थीहरूको सीप विकासमा यस्ता तालिम उपयोगी हुने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए।
तालिम उद्घाटन सत्रमा सीटीइभिटीका उपनिर्देशक खुशीराम अधिकारीले हाइब्रिड सवारीसाधनसम्बन्धी विषयलाई पाठ्यक्रममा समावेश गर्ने विषयलाई प्राथमिकतामा राखिने र आवश्यक प्रक्रिया अघि बढाइने बताए । उनले नेपालको विविध भौगोलिक अवस्थालाई ध्यानमा राख्दा यस्ता सवारीसाधनको सान्दर्भिकता बढ्दै गएको पनि उल्लेख गरे।
बालाजु इञ्जिनियरिङ तथा प्रविधि विद्यालयका उपप्राचार्य प्रदीप न्यौपानेले नाइमाको प्रयासको प्रशंसा गर्दै दक्ष जनशक्ति उत्पादनका लागि अटो उद्योग र प्राविधिक शिक्षाबीच सहकार्य अझ सुदृढ बनाउनुपर्ने धारणा राखे। उनले हालै सम्पन्न विद्युतिय सवारीसाधनसम्बन्धी तालिमले विद्यार्थीहरूलाई व्यावहारिक सिकाइमा महत्वपूर्ण सहयोग पुगेको बताए।
कार्यक्रमको समापन सत्रमा वैद्यज अर्गनाइजेशन अफ इन्डस्ट्रिज एण्ड ट्रेडिङ हाउसेजका निर्देशक सूर्यांश वैद्यले यस्ता व्यावहारिक तालिमले सहभागीहरूको पेशागत विकासमा टेवा पुर्याउने र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गरे। उनले हाइब्रिड सवारीसाधनलाई उन्नत प्रविधिका रूपमा उल्लेख गर्दै यससम्बन्धी प्राविधिक ज्ञान र सीप विकास अझ आवश्यक रहेको बताए।
तालिम शृङ्खलाअन्तर्गत हाइब्रिड सवारीसाधनसम्बन्धी प्रशिक्षण टोयोटाका प्राविधिक विज्ञहरूले प्रदान गरेका थिए भने विद्युतिय सवारीसाधनसम्बन्धी ३ दिने तालिम लक्ष्मी हुन्डाईका प्राविधिक विशेषज्ञहरूले सञ्चालन गरेका थिए। यसबाट सहभागीहरूले दुवै प्रविधिमा आधारभूत तथा व्यावहारिक ज्ञान प्राप्त गरेका छन्।
नाइमाले आफ्ना प्राविधिक समितिहरू तथा सचिवालयमार्फत क्षमता अभिवृद्धि र प्राविधिक संवादलाई प्राथमिकता दिँदै अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको विकासका लागि यस्ता पहलहरू निरन्तर अघि बढाउँदै आएको जनाएको छ।