News of Nepal
सिभिल मलमा लगानी नै नगरी ५० प्रतिशत सेयर हत्याउने प्रयास
काठमाडौं ।
विभिन्न ठगी प्रकरणमा दोषी देखिएर सजाय पाएका विवादास्पद सहकारी व्यवसायी तथा पूर्व सांसद इच्छाराज तामाङ पुनः बिनालगानी सिभिल मलको ५० प्रतिशत सेयर हत्याउने खेलमा लागेको पाइएको छ ।
सिभिल बिजनेस कम्प्लेक्स प्रालिको स्वामित्वमा रहेको सिभिल मलमा व्यवसायी लालकाजी गुरुङ र उहाँकी श्रीमती मीना गुरुङको शतप्रतिशत लगानी छ । सिभिल मलको सेयर लागतअनुसार ५० प्रतिशत सिभिल सेभिङ्स एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडको नाममा र बाँकी ५० प्रतिशत गुरुङ दम्पतीको नाममा रहेको देखिन्छ ।
तर, तामाङको सिभिल सेभिङ्सले ५० प्रतिशत सेयर आफ्नो नाममा पारे पनि एक पैसा पनि भुक्तानी नगरेपछि त्यसविरुद्ध सेयर सदस्य मीना गुरुङले दायर गरेको मुद्दा अझै अदालतमा विचाराधीन छ । तत्कालीन समयमा ३४ करोड रुपियाँको मूल्यांकन गरिएको सिभिल मलको सुन्धारास्थित जमिन पनि गुरुङले विश्वासको भरमा सिभिल विजनेस कम्प्लेक्स प्रा.लि.को नाममा हस्तान्तरण गर्नुभएको हो ।
यसैबीच सिभिल सहकारीमा वचतकर्ताको बचत हिनामिनामा गरेका तामाङले आफ्नो र आफ्नो सहकारीले एक सुको पनि आर्थिक लगानी नभएको उक्त मलमा ५० प्रतिशत सेयरको दाबी गर्दै गुरुङ परिवारलाई दुःख र हैरानी दिइरहेको बताइएको छ ।
विगतमा विभिन्न समयमा सहकार्य गरेका गुुरुङ र तामाङबीच केही रियल इस्टेट परियोजनामा सहकार्य हुनुका साथै सम्बन्ध पनि राम्रो थियो । सोही क्रममा केही वर्षअघि गुरुङले आफ्नो उक्त जमिनमा मल निर्माण गर्ने योजना बनाएपछि सिभिल सहकारीका अध्यक्ष इच्छाराज तामाङले त्यसमा आफूले पनि साझेदारी गर्ने र ५० प्रतिशत हिस्सा लिने प्रस्ताव राख्नुभएको थियो ।
पुरानो चिनचान र विश्वासका आधारमा गुरुङले उक्त प्रस्ताव स्वीकार गर्दै आफ्नो जमिन सिभिल विजनेस कम्पलेक्सलाई हस्तान्तरण गरी सिभिल सहकारीलाई ५० प्रतिशत सेयर दिलाउनुभएको थियो । सेयर लिए पनि इच्छाराज तामाङ वा सिभिल सहकारीले उक्त कम्पनीमा कुनै पनि प्रकारको लगानी नगरेको देखिन्छ । तामाङले केही समय पछि लगानी गर्छु भन्दै गुरुङलाई लामो समयदेखि झुलाएका कारण गुरुङले उल्टै आफ्नो अन्य सम्पति बिक्री गरेर सिभिल मलमा थप ३० करोड रुपियाँ लगानी गर्न बाध्य हुनुभएको थियो ।
तामाङ नेतृत्वमा रहेको सिभिल सहकारीको १८ औं वार्षिक प्रतिवेदनमा उल्लेख भएको लगानीको विवरणले पनि सिभिल मलमा तामाङ वा सिभिल सहकारीले एक पैसा पनि लगानी नगरेको स्पष्ट देखाउँछ । काठमाडांै बचत तथा ऋण सहकारीमा १० हजार रुपियाँ लगानी गरेको समेत देखिएको सिभिल सहकारीको प्रतिवेदनमा सिभिल मलमा ५० प्रतिशत लगानी गरेको विषय भने उल्लेख गरिएको छैन । यसले पनि तामाङको सिभिल सहकारीले सिभिल मलमा कहिल्यै कुनै लगानी नगरेको सहजै पुष्टि हुन्छ ।
सिभिल सहकारीको १८ आंै प्रतिवेदनअनुसार अधिकांश रकम सिभिल होम्स प्रालि (७ अर्ब १ करोड ३७ लाख ११ हजार २११ रुपियाँ), सिभिल अपार्टमेन्ट प्रालि (३४ करोड ६७ लाख ८० हजार) र सिभिल इस्टेट प्रालि (६ करोड ६८ लाख ४६ हजार रुपियाँ) कर्जा लगानी गरिएको देखिन्छ । यसरी वास्तविक लगानी भएका क्षेत्रबाट रकम फिर्ता गर्ने पहल नगरी सिभिल मलतर्फ ध्यान मोड्ने प्रयास गर्नुले इच्छाराज तामाङको नियतमाथि नै पनि गम्भीर प्रश्न उठेको छ ।
अर्को हास्यस्पद कुरा त यो छ कि तामाङले सिभिल मलमा ५० प्रतिशत सेयर ‘प्रोफेसनल म्यानेजमेन्ट’ फिको रूपमा प्राप्त गरेको दाबी गर्दै आइरहनुभएको छ तर प्रबन्धपत्र तथा नियमावलीमा यस्तो व्यवस्था नै नभएकोले यस्तो दाबी व्यावहारिक र कानुनी दुवै किसिमले असंंगत देखिन्छ ।
यो विषयमा उच्च अदालत पाटनले समेत नगद, जमिन वा बैंकिङ कारोबार कुनै पनि आधारमा तामाङ तथा उहाँको सहकारीको कुनै पनि लगानी नदेखिएको भन्दै मीना गुरुङको पक्षमा ‘स्टे अर्डर’ गरेको थियो । उच्च अदालत पाटनले २०७७ साल श्रावण २१ गते मिना गुरुङको पक्षमा फैसला गर्दै सिभिल विजनेस कम्प्लेक्स प्रालिका सञ्चालक समिति र सञ्चालकहरूबाट निवेदक सेयर सदस्यको हित प्रतिकूल हुने गरी कम्पनीको श्रीसम्पत्ति बिक्री गर्ने, धितो राख्ने र कम्पनीको दायित्व सिर्जना हुने कुनै पनि कामकारबाही नगर्नु ÷नगराउनु भन्ने आदेश दिएको थियो ।
उक्त आदेशविरुद्ध तामाङले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । तर, सर्वोच्चले पनि २०८१ साल श्रावण ३२ गते यस प्रकरणमा उच्च अदालत पाटनबाट यसअघि भएको आदेश बेरितको नदेखिएको हुँदा अन्यथा गर्नुपरेन, कानुनबमोजिम गर्नु भनी आदेश दिएको थियो ।
यसैबीच इच्छाराज तामाङले सिभिल सहकारीका निक्षेपकर्ताहरूलाई सिभिल मलमा ५० प्रतिशत स्वामित्व रहेको र उक्त सेयर बिक्री गरेर सबैलाई रकम फिर्ता गर्ने आश्वासन दिँदै आउनुभएको छ । जबकि उहाँको सिभिल मलमा कुनै लगानी नै छैन । तामाङले यसरी आश्वासन दिए पनि सर्वोच्च अदालत र उच्च अदालतको आदेश थाहा पाएपछि सहकारीका निक्षेपकर्ताहरू भने तामाङको भनाइमा विश्वास गर्न सकेका छैनन् । बचतकर्ताहरू सिभिल सहकारीले सिभिल मलमा कुनै लगानी नगरेकोमा विश्वस्त भएका छन् ।
सिभिल मलमा कुनै लगानी नै नगरी ५० प्रतिशत सेयर हत्याउन खोज्ने तामाङ अहिले गुरुङ परिवारलाई दुख दिने उद्देश्यले काठमाडौंका प्रमुख जिल्ला अधिकारीको कार्यालय धाइरहनुभएको छ । यतिमात्रै होइन, उहाँले आफू केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा पनि जाने भने हल्ला फिजाइरहनु भएको छ ।
जबकि, यो विषयमा उच्च अदालत र सर्वोच्च अदालतबाट समेत सिभिल मलको सेयर सम्पत्ति वितरणसम्बन्धी कुनै काम नगर्नु भनी ‘स्टे अर्डर’ जारी भइसकेको छ । ईच्छाराज तामाङ आफ्ना निक्षेपकर्तालाई रकम फिर्ता गर्नुको साटो उनीहरूको ध्यान अन्तै मोड्ने र बारम्बार भ्रम सिर्जना गर्ने प्रयासमा देखिएको छ ।
–सिभिल विजनेस कम्प्लेक्स प्रालिका सञ्चालक समिति र सञ्चालकहरूबाट निवेदक सेयर सदस्यको हित प्रतिकूल हुने गरी कम्पनीको श्रीसम्पत्ति बिक्री गर्ने, धितो राख्ने र कम्पनीको दायित्व सिर्जना हुने कुनै पनि कामकारबाही नगर्नु÷नगराउनु ।
उच्च अदालत पाटनको आदेश (२०७७ साल श्रावण २१ गते)
–उच्च अदालत पाटनबाट यसअघि भएको आदेश बेरितको नदेखिएको हुँदा अन्यथा गर्नुपरेन, कानुन बमोजिम गर्नु ।
सर्वोच्च अदालतको आदेश (२०८१ साल श्रावण ३२)