विराट गोल्डकपको उपाधिका लागि झापा–११ र सम्राट स्पोर्टिङ भिड्ने
मोरङ – विराट गोल्डकपको ३८ औं संस्करणका उपाधिका लागि घरेलु टोली सम्राट स्पोर्टिङ क्लब र डार्बी क्लब झापा एघारले आआफ्नो तर्फबाट जितको दाबी गरेकाछन्। सहिद मैदानमा शुक्रबार सम्पन्न प्रि म्याच कन्फ्रेन्सका क्रममा २०७१ सालमा उपाधि चुमेको झापा एघारले उपाधि दोस्रोपटक हात पार्ने दाबी गरेको छ।
झापा एघारका टोली ब्यवस्थापक गणेश खड्काका अनुसार फुटबल प्रतियोगिताहरूको तालिकाले खेलाडीहरू ब्यस्त भइरहँदासमेत झापा एघार प्रदेशकै प्रतिष्ठित प्रतियोगिताको उपाधि चुम्न तयार रहेको बताए। विराटनगरको यस मैदानमा २०६७÷०६८ सालमा हिमालयन शेर्पाले उपाधि चुमिरहँदा आफू खेलाडी रहेकोदेखि गत संस्करणमा थ्रीस्टार क्लबले उपाधि हात पारिरहँदा प्रशिक्षक रहेको बताएका खड्काले झापाले आफ्नो लयलाई काम राख्दै घरेलु टोलीविरुद्ध प्रतिस्पर्धा गर्न बताए।
घरेलु दर्शकको साथ डार्बी क्लबलाई समेत रहने विश्वास लिएको बताउँदै उनले आफूहरू जित्नकै लागि मैदानमा उत्रिने प्रस्टाए। उनले भने, ‘पछिल्लोसमय अधिकांश खेल जुधिरहेको छ। खेलाडीहरू कता ल्याउने कता पठाउने ब्यस्तता बढेको छ। तथापी, झापा एघार दोस्रोपटक विराट गोल्डकप उचाल्न आतुर रहेको छ। हामी विपक्षीमाथि जित हात पार्ने गरि खेल्छौ।’
घरेलु टोलीसंग खेल्न केही दबाव हुने बुझेका ब्यवस्थापक खड्काले भने, खड्काले भने, “हामीसँग तीन जना विदेशी खेलाडी छन्। सम्राटलाई हामीले कमजोर ठानेका छैनौं, उनीहरूले नाम चलेका क्लबका खेलाडीहरू ल्याएका छन्, त्यसैले प्रतिस्पर्धा रोचक हुनेछ।”
त्यसैगरि, घरेलु टोलीका रुपमा रहेको विराटनगरको सम्राट स्पोर्टिङ क्लबले पनि उपाधि उचाल्ने दाबी गरेको छ। २०५५ सालमा स्थापित क्लबका मुख्य प्रशिक्षक पारस चौधरीले क्लबले विदेशी खेलाडी भन्दा आफ्नै राष्ट्रिय र स्थानीय खेलाडीलाई प्राथमिकता दिएको बताए। मुख्य प्रशिक्षक चौधरीले भने “पहिलो सहभागितामै फाइनल पुग्नु हाम्रा लागि ठूलो उपलब्धि हो,” उनले भने, “झापासँग विदेशी खेलाडी भए पनि हाम्रा खेलाडीहरू प्राविधिक रुपमा उत्कृष्ट छन्। घरेलु मैदानमा उपाधि जित्दै इतिहास रच्नेछौं।” उनले फाइनलमा कोमल खवासलाई मैदान उतारिने जानकारी समेत दिए।
पहिलो र दोस्रो खेलमा फिनिसिङ राम्रो नभएको स्वीकार गरेका मुख्यप्रशिक्षक चौधरीले भने, ‘पहिलो खेलमा केही अफ्टयारो महसुस भयो। किन भने खेलको समय तालिका नमिलेर । प्रतियोगिताको तालिका जुधेपछि खेलाडीहरू एकदिन अघिमा बाहिर खेलेर आएका थिए। थकान महसुस बढि गरे। तर, अहिले हामी एकढिक्का भएर फिट भएकाछौ। उपाधि भिडन्तमा राम्रो नजिता दिनेछौ।’
मुख्यप्रशिक्षक चौधरीले सेमीफाइनलमा खेलिएको खेलाडी तालिकामा फेरबदल नहुने बताएकाछन्। गोल्डकपमा पहिलोपटक सहभागिता जनाएको सम्राट स्र्पोटिङ क्लबले पहिलो खेलमा भारतको अल झारखण्ड विरसा मुण्डा स्पोर्टिङ एकेडेमी र सेमीफाइनलमा चर्च ब्वाईज युनाईटेडलाई हराएको थियो।
त्यसैगरि, यसअघि त्रिभुवन आर्मी क्लबलाई हराउँदै गोल्डकपको उपाधि चुमेको झापाले उद्घाटन खेलमा आर्मी क्लबलाई र सेमीफाइनलमा नेपाल पुलिस क्लबलाई पराजित गरेको थियो। गोल्डकपमा विजेता टोलीले ११ लाख रुपैया र उपविजेता हुने टोलीले ५ लाख रुपैया हात पार्ने आयोजक गोल्डकप ट्रष्टका कोषाध्यक्ष अनुज बानियाँले जानकारी दिए।