npl.977 Nepal News Stream

देशसञ्चार logo देशसञ्चार

कर्णाली प्रदेशको पर्यटन विकासका लागि दशवर्षे गुरुयोजना तयार

राजन रावत 8 hours ago

हुम्ला- कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले कर्णालीको पर्यटन विकासका लागि १० वर्षे दीर्घकालीन गुरुयोजना तयार पारेको छ।

उक्त गुरुयोजना अनुसार अब कर्णालीको पर्यटनको विकास गरिने जनाइएको छ। मन्त्रालयका अनुसार प्रदेश सरकारले कर्णालीको पर्यटन विकासका लागि १० वर्षे दीर्घकालीन गुरुयोजना तयार पारेको छ।

गुरुयोजनामा विभिन्न पर्यटकीय गन्तव्यको पहिचान र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ। ‘गन्तव्य कर्णाली’ मोबाइल एपमार्फत पर्यटकलाई सूचना दिने कार्य भइरहेको छ। मोबाइल एपमा होटल, रुट, शुल्क र दूरीको विस्तृत जानकारी राखिएको छ।

यसै गरी प्रदेश सरकारले २०३० सम्म कर्णालीमा वार्षिक १५ लाख आन्तरिक र दुई लाख बाह्य पर्यटक भित्र्याउने महत्त्वाकांक्षी लक्ष्य लिएको छ। मन्त्रालयका अनुसार हाल पर्यटकको बसाइ औसतमा चार दिन रहेकोमा त्यसलाई बढाएर १० देखि २१ दिनसम्म पुर्याउने योजनासहित प्रदेश सरकार अघि बढेको छ। यसका लागि हवाई उडानलाई सुर्खेतबाट सिधै हिमाली जिल्लामा जोड्न नागरिक उड्डयन प्राधिकरणसँग समन्वय भइरहेको छ।

यसैबीच कर्णाली प्रदेशमा पर्यटक दोहोरिएर नआउनुमा आतिथ्यको कमी मुख्य कारण रहेको सरोकारवालाले बताएका छन्। सुर्खेतमा भएको कर्णाली उत्सवको सातौँ संस्करणको ‘घुमिफिरी कर्णाली’ सत्रका वक्ताले कर्णाली पर्यटकीय सम्भावनाले भरिएको भए पनि घुम्न आउनेहरू आतिथ्यकै कारण दोस्रो पटक फर्केर नआउने गरेको गुनासो गरेका छन्।

Read more news from देशसञ्चार

Explore by Source or Category