News of Nepal
काठमाडौँमा मूल्यवृद्धि चर्कियो, अनुगमन कमजोर
काठमाडौ ।
काठमाडौँ उपत्यकामा पछिल्लो समय दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा बढेको छ। विशेषगरी केराको मूल्य खुद्रा बजारमा प्रतिदर्जन ३५० देखि ४०० रुपैयाँसम्म पुगेको छ, जबकि किसानले भने ६० देखि ८० रुपैयाँ मात्रै पाउने गरेका छन्।
ग्यास अभावको समस्यासमेत बढ्दै गएको छ। सिलिन्डर साट्न ५ सयदेखि १ हजार रुपैयाँसम्म लिने गरिएको उपभोक्ताहरूको गुनासो छ। यसैबीच सरकारले तोकेको भन्दा बढी भाडा लिएको भन्दै यातायात क्षेत्रमा पनि असन्तुष्टि बढेको छ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै बजारमा समग्र महँगी बढे पनि नियामक निकायको प्रभावकारी अनुगमन नहुँदा कालोबजारी मौलाएको आरोप छ। बजार अनुगमनको जिम्मा पाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ले भने मूल्य निर्धारण खुला बजारले गर्ने भएकाले तोकिएको मूल्यभन्दा बढी नलिएको अवस्थामा कारबाही गर्न नसकिने बताएको छ।
उपभोक्ता अधिकारकर्मीहरूले भने कानुनको अभाव देखाएर पन्छिन नमिल्ने भन्दै कडा अनुगमन र कारबाहीको माग गरेका छन्। नेपालको संविधान धारा ४४ अनुसार उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा पाउने अधिकार सुनिश्चित गरिएको छ।
विशेषज्ञहरूका अनुसार संघ, प्रदेश र स्थानीय तहबीच समन्वय अभाव हुँदा बजार अनुगमन प्रभावहीन बनेको छ, जसले उपभोक्ता थप मारमा परेका छन्।