News of Nepal
निर्वाचन सुरक्षालाई पूर्ण सुदृढ पारिने
–निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको पाइए कडा कारबाही
–कुनै त्रुटि हुन नदिन सबै सुरक्षा निकायको प्रभावकारी परिचालन
–निर्वाचन कर्मचारीलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिइने
काठमाडौं ।
निर्वाचन सुरक्षा र मुलुकको समग्र सुरक्षालाई मजबुत राख्ने उद्देश्यले अब केन्द्रीय सुरक्षा समितिको बैठक दैनिक रूपमा बस्ने निर्णय भएको छ ।
गृहमन्त्रीको अध्यक्षतामा बिहीबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले सुरक्षा रणनीति र निर्वाचन तयारीबारे छलफल गर्दै अब दैनिक रूपमा समितिको बैठक बसेर मुलुकको सुरक्षा व्यवस्था सुदृढ बनाउँदै निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउने गरी वातावरण सुदृढ पारिने निर्णय गरिएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिनुभयो ।
प्रवक्ता काफ्लेका अनुसार सबै सुरक्षा निकायको उच्च समन्वयका साथ परिचालन गर्दै निर्वाचनमा कुनै प्रकारको घटना घट्न नदिन उच्च सतर्कता अपनाइनेछ । कहीँ कतै कुनै प्रकारको धाँधली हुन नदिने र निर्वाचनलाई निश्पक्ष बनाउन सबै सुरक्षाकर्मी तटस्थ रूपमा परिचालित हुनेछन् । यसै गरी कसैले निर्वाचन बिगार्ने गरी गतिविधि गरेको पाइएमा त्यस्ता पक्षलाई कानुनअनुसार कडा कारबाही गर्ने गर्ने निर्णयसमेत भएको गृह प्रवक्ता काफ्लेले बताउनुभयो ।
बिहीबार गृह मन्त्रालयमा बसेको बैठकमा तीनवटै सुरक्षा निकायका प्रमुख तथा नेपाली सेनाको उच्च अधिकारीसहितको उपस्थिति रहेको थियो । सो बैठकमा केन्द्रीय निर्वाचन सुरक्षा रणनीतिको कार्यान्वयन र फागुन २१ गते हुने निर्वाचनको समग्र तयारी सम्बन्धमा छलफल भई आवश्यक निकास र समाधान निकालिएको थियो ।
‘जुम एप’ मार्फत सञ्चालन गरिएको बैठकमा गृहमन्त्री अर्यालले केन्द्रीय सुरक्षा समितिका पदाधिकारी, ७ वटै प्रदेशका प्रमुख सचिव (प्रदेश कमान्ड पोस्ट प्रमुख) तथा ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूबाट प्रदेश र जिल्लागत सुरक्षा रणनीतिको कार्यान्वयन र निर्वाचन तयारीबारे जानकारी लिनुभएको थियो ।