npl.977 Nepal News Stream

Clickmandu logo Clickmandu

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा पहिलो दिन नै ६ गुणा आवेदन

क्लिकमान्डु 17 hours ago

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको पहिलो दिननै झण्डै ६ गुणा बढी आवेदन परेको छ । रिलायन्सको ९ लाख २४ हजार ७६८ कित्ता आईपीओमा सोमबारदेखि सर्वसाधारणले आवेदन दिन पाउने भएकामा पहिलो दिनमै मागभन्दा ५.८४ गुणा बढी आवेदन परेको छ ।

सोमबार आवेदन खुला भएको ४० मिनेटमै रिलायन्सको आईपीओ ‘ओभर सब्सक्राइब’ भएको थियो । सीडीएससीका अनुसार सोमबार बेलुका ५ बजेसम्म आईपीओमा ५३ लाख ९८ हजार १०० कित्ता माग भएको हो । यो आवेदन माग गरिएको संख्याभन्दा झण्डै ६ गुणा बढी हो ।

साँझ ५ बजेसम्म १ लाख ९ सय १७ जनाले सो संख्यामा सेयर माग गरेका हुन् । आवेदन दिएको सेयरको कुल मूल्य ४ अर्ब ४३ करोड ७ लाख ६० हजार रूपैयाँ हुन्छ ।

यो आईपीओ ५०-५० कित्ताका दरले १८ हजार ४ सय ९५ जनालाई पर्नेछ ।

रिलायन्सले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी १ अर्ब ९० लाखको १०.१४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको १९ लाख २६ हजार ६०० कित्ता आईपीओ बुक बिल्डिङमार्फत् जारी गर्ने अनुमति पाएकामा ४० प्रतिशत अर्थात् ७ लाख ६० हजार ६४० कित्ता सेयर योग्य लगानीकर्तालाई बाँडफाँड भइसकेको छ । बाँकी ६० प्रतिशत अर्थात् ११ लाख ५५ हजार ९६० कित्ता सेयर सर्वसाधारणमा जारी गर्ने अनुमति पाएकामा त्यसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि १ लाख १५ हजार ५९६ कित्ता , ५७ हजार ७९८ कित्ता सामूहिक लगानी कोषका लागि र ५७ हजार ७९८ कित्ता सेयर कम्पनीका कर्मचारीका लागि जारी भइ बाँकी रहेको ९ लाख २४ हजार ७६८ कित्ता सेयरमा सर्वसाधारणले आवेदन खुला भएको हो ।

वैदेशिक रोजगार र सामूहिक लगानी कोषतर्फ पनि करिब १७ गुणा बढी आवेदन परी सेयर बाँडफाँट भइसकेको छ ।

कम्पनीले पुस ७ गतेदेखि पुस ११ गतेसम्म आवेदन दिन सक्ने गरी सर्वसाधारणका आईपीओ खुलाएको हो । उक्त आईपीओमा लगानीकर्ताले प्रतिकित्ता ८२० रूपैयाँ ८० पैसाका दरले आवेदन दिनुपर्ने छ । प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले न्यूनतम ५० कित्ता र अधिकतम २० हजार कित्ता सम्म आवेदन दिन सकिनेछ । अर्थात् प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले ५० कित्ताको ४१ हजार ४० रुपैयाँ हुन आउँछ । तसर्थ, यो आईपीओ भर्नका लागि लगानीकर्तासँग ४१ हजार ४० रुपैयाँ हुनुपर्नेछ ।

रिलायन्स स्पिनिङ मिल्स नेपालको सबैभन्दा ठूलो धागो उत्पादक र रोजगारदाता उद्योग हो । कम्पनीले आफ्नो उत्पादनको ७० देखि ७५ प्रतिशतभन्दा बढी उत्पादनहरु भारत, टर्की, भियतनाम, बेलायत लगायत मुलुकहरुमा निर्यात गर्दै आएको छ । वार्षिक ५ करोड अमेरिकी डलरको निर्यात हुन्छ । कम्पनीको मूल–उद्योग सुनसरीको खनार र शाखा उद्योग दुहबीमा रहेको छ । नेपालका प्रतिष्ठित र सफल उद्योपतिहरु पवनकुमार गोल्याण, अक्षय गोल्याण र शशिकान्त अग्रवाल कम्पनीका संस्थापक लगानीकर्ता हुन् ।

कम्पनीको पछिल्लो ५ वर्षको प्रतिशेयर आम्दानी (ईपीएस) को अनुपात हेर्दा वार्षिक ४० रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७७/७८ मा ५३.९१ रुपैयाँ, २०७८/७९ मा ६१.१२ रुपैयाँ, २०७९/८० मा ५४.३४ रुपैयाँ, २०८०/८१ मा २.९५ रुपैयाँ र २०८१/८२ मा २७.८७ रुपैयाँ छ । गत आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा ९ ईपीएस ९ गुणा बढेको छ । २०८१/८२ को लेखापरीक्षण गरिएको वार्षिक वित्तीय विवरणमा कम्पनीको वित्तीय अवस्था निकै मजबुत देखिन्छ ।

मंसिर पहिलो साता सार्वजनिक गरिएको लेखापरीक्षण प्रतिवेदनअनुसार कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब ४८ करोड ९३ लाख ८४ हजार ५४७ रुपैयाँ कूल नाफा गरेको छ, जब कि अघिल्लो आर्थिक वर्षमा यो अंक ८६ करोड ५० लाख ६० हजार ३२५ रुपैयाँ मात्र थियो । गत आर्थिक वर्षमा कम्पनीको खुद नाफा ४७ करोड ५८ लाख ११ हजार ९७९ रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षमा खुद नाफा ५ करोड ३ लाख ८३ हजार ७९३ रुपैयाँ थियो । खुद नाफामा साढे ९ गुणा बढी वृद्धि भएको छ ।

आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले ५ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो भने प्रतिशेयर आम्दानी २ रुपैयाँ ९५ पैसा थियो । गत आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले खुद नाफा ४७ करोड ५८ लाख रुपैयाँ पुर्‍याएको छ । प्रतिशेयर आम्दानी पनि ८४४ प्रतिशतको दरले बढेको छ ।

कम्पनीको रेटिङ पनि राम्रो रहेको छ । साधारण सेयर निष्काशनको लागि ‘क्रेडिट रेटिङ नियमावली, २०६८’ को नियम ३ बमोजिम नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ संस्था केयर रेटिङ नेपालबाट रेटिङ गराएको छ । केयर रेटिङले कम्पनीलाई ‘केयर एनपी सिंगल ए’ इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले समयमा नै सुरक्षित रुपले वित्तीय दायित्व बहन गर्न पर्याप्त क्षमता रहेको कम्पनी हो भन्ने बुझाउँछ ।

Read more news from Clickmandu

Explore by Source or Category