स्रोत नखुलेको ५ लाख भन्दाबढी रकमसहित एक जना भारतीय नागरिक पक्राउ
विराटनगर- स्रोत नखुलेको नेपाली ५ लाख रुपैयाँ भन्दाबढी रकमसहित एक भारतीय नागरिकलाई विराटनगरबाट पक्राउ गरिएको छ ।
भारतबाट नेपाल भित्रिने क्रममा सीमास्थित दुई नम्बर ढाटमा सशस्त्र प्रहरी बलको टोलीले ५ लाख १ सय १५ रुपैयासँगै भारतीय प्लेट नम्बरको मोटरसाइकल बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म मुख्यालय रानीबाट खटिएको सशस्त्र प्रहरीका प्रहरी नायब उपरिक्षक तिलकबहादुर खड्काको टोलीले बीआर ३८ एनएन १४३८ नम्बरको मोटरसाइकलमा सवार विहार अररिया जोगबनीका ३० वर्षीय आनेशकुमार चौधरीलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ परेका चौधरीबाट स्रोत खुल्न नसकेको १ हजार दरका दुई सय थान, ५ सय दरका ६ सय थान, एकसय रुपैया र १० रुपैयागरि कुल ५ लाख १ सय १५ रुपैया बरामद भएको हो ।
सशस्त्र प्रहरीले शंका लागेर चेक गर्ने क्रममा रकम बरामद भएपछि चौधरीले रकमको स्रोत खुलाउन नसकेको बताइएको छ । यद्धपि, सो रकम हुण्डी कारोबारीको हुनसक्ने प्रहरीको अनुमान छ ।
सशस्त्र प्रहरीले पक्राउ परेका चौधरी, बरामद भएको नगद र मोटरसाइकल थप अनुसन्धान तथा कार्वाहीका लागि इलाका प्रहरी कार्यालय रानीलाई जिम्मा लगाएको छ ।