npl.977 Nepal News Stream

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

धनकुटामा निर्वाचन कार्यालयको तयारी तिब्र, दलको गतिविधि शुन्य

ईश्वर थापा 20 hours ago

धनकुटा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा धनकुटामा सुरक्षा निकाय र निर्वाचन कार्यालयको गतिविधि क्रमशः बढ्दै गएको छ। मतदान गर्ने दिन शान्त, निष्पक्ष र विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न गर्ने लक्ष्यसहित जिल्ला सुरक्षा समिति र निर्वाचन कार्यालय आ–आफ्नो जिम्मेवारीमा जुटेका छन्। पहाडी जिल्लामा भौगोलिक अवस्था, टाढाटाढा रहेका मतदानस्थल र विगतका अनुभवलाई ध्यानमा राख्दै यसपटक तयारीलाई थप व्यवस्थित बनाउने प्रयास गरिएको छ।

निर्वाचनलाई लक्षित गर्दै जिल्ला सुरक्षा समितिले धनकुटाका विभिन्न मतदानस्थलमा स्थलगत अनुगमन सुरु गरेको छ। मतदानस्थलको भौतिक अवस्था, सुरक्षाको दृष्टिले देखिएका सम्भावित जोखिम, सडक तथा पहुँचको अवस्था र मतपेटिका ढुवानीमा देखिन सक्ने चुनौती’bout विस्तृत अध्ययन भइरहेको छ। प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काका अनुसार मतदानस्थलको निरीक्षणले सुरक्षा योजना यथार्थपरक बनाउन सहयोग पुग्नेछ। भौगोलिक कठिनाइ र सुरक्षाका चुनौती पहिल्यै पहिचान गरेर तयारी गरेमा निर्वाचनमा कुनै समस्या नआउने विश्वास रहेको खड्काले बताए।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनकुटामा १ सय १९ वटा मतदानस्थल रहने भएका छन्। ती मतदानस्थललाई सुरक्षा जोखिमका आधारमा वर्गीकरण गरिएको छ। जसअनुसार १६ वटा मतदानस्थल अति संवेदनशील, ४९ वटा संवेदनशील र ५४ वटा सामान्य सूचीमा राखिएका छन्। यही वर्गीकरणका आधारमा सुरक्षाकर्मीको तैनाथी, गस्ती र निगरानी प्रणाली तयार गर्न थालिएको धनकुटाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक शरतकुमार थापा क्षेत्रीले बताए। जिल्ला प्रहरी कार्यालयका अनुसार मतदानस्थलको भूगोल, सडकको अवस्था र जनघनत्वलाई ध्यानमा राखी आवश्यक जनशक्ति परिचालन गर्ने तयारी गरिएको छ। प्रहरी उपरीक्षक थापा क्षेत्रीले सूचना संकलन, नियमित गस्ती र तत्काल प्रतिक्रिया दिन सक्ने संयन्त्रलाई मजबुत बनाइने तयारी थालिएको बताए। उनका अनुसार धनकुटामा निर्वाचनलाई केन्द्रीत गरेर नेपाल प्रहरी र निर्वाचन प्रहरी कति चाहिने भनेर योजना बनाइ सकिएको छ। जिल्ला प्रहरी कार्यालय निर्वाचन सेल, सुचना संकलन, सम्भावित मतदान केन्द्र थप र उमेद्धवार सुरक्षाका लागि ५ सय ७८ नेपाल प्रहरी र १ हजार ४ सय निर्वाचन प्रहरी चाहिने भनेर प्रदेश प्रहरी कार्यालय र प्रहरी प्रधान कार्यालयमा जानकारी गराएको प्रहरी उपरीक्षक थापा क्षेत्रीले जानकारी दिए।

सुरक्षासँगै निर्वाचन प्रशासनले पनि आन्तरिक तयारीलाई निरन्तरता दिएको छ। जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली संकलनको काम सम्पन्न गरिसकेको छ भने हाल मतदाता नामावली अद्यावधिकको प्रक्रिया चलिरहेको छ। नामावली अन्तिम भएपछि निर्वाचन आयोगको कार्यतालिका अनुसार मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद अधिकारीले जानकारी दिए। मतदातालाई मतदान प्रक्रिया, गोप्य मतदानको महत्व र निर्वाचनमा सहभागिता’bout सचेत गराउन मतदाता शिक्षाको मुख्य उद्देश्य रहेको उनको भनाइ छ। धनकुटामा विगतका निर्वाचनमा मत बदरको अवस्था धेरै रहेकोले मतदाता शिक्षाको कार्यक्रम प्रभावकारी ढंगबाट सञ्चालनको तयारी थालिएको अधिकारीको भनाइ छ।

धनकुटामा प्रतिनिधिसभा निर्वाचनलाई लिएर प्रशासनिक र सुरक्षागत तयारी तीव्र रूपमा अघि बढिरहेको छ। चुनौतीपूर्ण भूगोल र सीमित पहुँचबीच पनि सुरक्षित र व्यवस्थित निर्वाचन गराउने तयारी प्रशासनिक र सुरक्षा निकायले गरेका छन।

राजनितिक दलका गतिविधि शुन्य
यद्यपि, सुरक्षा निकाय र निर्वाचन प्रशासन सक्रिय देखिए पनि जिल्लामा राजनीतिक दलका निर्वाचन केन्द्रीत गतिविधि भने खासै देखिएका छैनन्। दलहरू आन्तरिक महाधिवेशन, एकता भेला र संगठन विस्तारमा व्यस्त हुँदा निर्वाचनसँग सम्बन्धित भेला, उम्मेदवारको चर्चा र प्रचार–प्रसार सुरु हुन नसकेको हो। धनकुटामा नेपाली कांग्रेशले उमेद्धवारको नाम सिफारिस गरेर केन्द्रमा पठाएपनि अन्य दलले सो काम पनि गरेका छैनन्। धनकुटामा नेपाली कांग्रेश सहित नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत राष्ट्रिय पार्टीहरु क्रियाशिल रहेका छन्।

नेपाली कांग्रेश धनकुटाका सभापति दिनेश राईले पार्टीको आन्तरिक गतिबिधी व्यस्त रहेको बताए। उनले पार्टीको अधिवेशनको चरणमा रहेको बताउँदै आगामी १६ गते वडा, १८ गते स्थानीय तहको, २१ गते क्षेत्रीय अधिवेशन र २२ गते जिल्ला अधिवेशनको तयारीमा रहेको बताए। अहिले क्रियाशिल सदस्यको अपडेट गरिरहेको र जिल्ला अधिवेशनपछि निर्वाचनको तयारीमा लाग्ने राईको भनाइ छ। उनले निर्वाचनका लागि उमेद्धवारको नाम सिफारिस बाहेक कुनै तयारी नरहेको बताउँदै केन्द्रले उमेद्धवारको नाम टुंगो लगाएपछि गतिबिधी बढ्ने बताए। दलको गतिबिधी नभएपनि निर्वाचनमा शंका गर्न नहुने राईको भनाइ छ।

नेकपा एमाले धनकुटाका सचिव पर्शुराम नेपालले निर्वाचन हुन्छ भन्ने विश्वास नलागेर तयारी नभएको बताए। उनले यो सरकारले निर्वाचन गराउन पनि नसक्ने र निर्वाचन गराउनका लागि संसद पुनस्र्थापना भएर त्यो पछि बनेको सरकारले मात्रै निर्वाचन गराउन सक्ने नेपालको भनाइ छ।

नेपाली कम्युनिष्ट पार्टीका नेता हेमचन्द्र किराँतीले पार्टीको जिल्ला र प्रदेशको एकता कार्यक्रमले निर्वाचनको गतिबिधी नभएजस्तो भएपनि आन्तरिक तयारीमा रहेको बताए। उनले पार्टीले ११ गतेसम्ममा प्रतिनिधी सभाका उमेद्धवार सिफारिस गरिसक्ने केन्द्रको निर्देशन रहेकोले पार्टी तयारीमा लागिसकेको किराँतीको भनाइ छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष बालानन्द दाहालले निर्वाचन तयारी स्वरुप वडा तहसम्म संगठन निर्माणमा लागेको जानकारी दिए। उनले सोही संगठनले निर्वाचनको तयारी गरिरहेको जानकारी दिए। निर्वाचनको मिति नजिकिँदै जाँदा निर्वाचन सफल बनाउन दलहरूले मतदातासँग प्रत्यक्ष संवाद बढाउनुपर्ने भएपनि आन्तरिक कारणले केही ढिलाइ भएको दाहालको भनाइ छ। निर्वाचन सफल बनाउन राजनीतिक दलहरुले सक्रिय सहभागिता सहति मतदाताको उत्साह बढाउने कार्यमा लाग्नुपर्ने देखिएको छ। जसले लोकतान्त्रिक अभ्यासलाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ।

The post धनकुटामा निर्वाचन कार्यालयको तयारी तिब्र, दलको गतिविधि शुन्य appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Read more news from राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

Explore by Source or Category