npl.977 Nepal News Stream

Nepali Link

नेपाली साहित्य विकास परिषद् नेपाल च्याप्टरमा नयाँ कार्यसमिति गठन

Nabin Pokharel 1 day ago

काठमाण्डौं । नेपाली साहित्य विकास परिषद् यूके नेपाल च्याप्टरको प्रथम विशेष साधारण सभा परिषद्का अध्यक्ष इल्या भट्टराईको अध्यक्षतामा सम्पन्न भयो ।

काठमाडौंमा सम्पन्न उक्त साधारण सभाले इल्या भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । कार्यसमितिका अन्य निर्वाचित पदाधिकारीमा उपाध्यक्षद्वय गोविन्द प्रसाद श्रेष्ठ तथा डा. रेनुका थापा चयन भएका छन् भने महासचिवमा वीरेन्द्र कुँवर र कोषाध्यक्षमा राजेश जङ्ग शाह निर्वाचित भए ।

त्यसैगरी कार्यकारिणी सदस्यहरूमा जयदेव भट्टराई, मदनबहादुर शाही, लालपुरा शाही र व्याकुल पाठक चुनिएका छन् । ११ सदस्यीय कार्यसमितिमा एक जना सचिव र एक जना सदस्य पछि कार्यसमितिले चयन गर्ने गरी तोकिएको छ। त्यसैगरी वरिष्ठ कवि गोपाल पराजुलीको संयोजकत्वमा १४ सदस्यीय सल्लाहकार परिषद् गठन गरिएको छ ।

सल्लाहकार परिषदमा डा. विष्णुविभु घिमिरे, प्रा. डा. देवीप्रसाद सुवेदी, प्रा. डा. गोविन्दराज भट्टराई, डा. तुलसी भट्टराई, डा. ज्ञानु पाण्डे, निमा वाङ्गेल लामा, डा. माधवी भट्ट, ध्रुव सापकोटा, डा. नारायण चालिसे, वियोगी बुढाथोकी, हरिशरण लामिछाने, डा. लक्ष्मण गौतम र महेश पौड्याल छन् ।

यसअघि विशेष साधारण सभाले आगामी दुई वर्षका लागि कार्यसमिति र सल्लाहकार समिति चयनका लागि परिषद्का संस्थापक तथा निवर्तमान केन्द्रीय अध्यक्ष सुरेश जङ्ग शाहको अध्यक्षतामा अध्यक्ष मण्डल गठन गरिएको थियो ।

परिषद्की अध्यक्ष इल्या भट्टराईको सभापतित्व र महासचिव हरिशरण लामिछानेको सञ्चालनमा शुरु भएको उक्त सभामा अध्यक्ष भट्टराई, प्रमुख सल्लाहकार संयोजक गोपाल पराजुली, महासचिव हरिशरण लामिछाने र संस्थापक सुरेश जङ्ग शाहले आ–आफ्नो मन्तव्य राखेका थिए ।

समारोहमा परिषद्लाई उल्लेखनीय योगदान पुरयाउने नेपाली भाषा साहित्यका विशिष्ट साहित्यकारद्वय गोपाल पराजुली तथा प्रा. डा. देवीप्रसाद सुवेदीलाई केन्द्रीय परिषदद्वारा प्रदान गरिएको विशिष्ट सम्मान रजत वर्ष अभिनन्दनपत्र तथा पदक पुरस्कार अध्यक्ष इल्या भट्टराईले प्रदान गरिन् ।

Read more news from Nepali Link

Explore by Source or Category