Clickmandu
एसईई दिएर बसेका विद्यार्थीका लागि शिक्षा मन्त्रालयले ल्यायो ‘इन्स्पायर सिरिज’

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले एसईई परीक्षा दिएर नतिजाको पर्खाइमा रहेका विद्यार्थीहरूलाई यो खाली समयलाई अवसरको रूपमा उपयोग गर्न विशेष सुझाव दिएका छन् । परीक्षापछिको फुर्सदलाई केवल प्रतीक्षामा मात्र सीमित नराखी आफ्नो रुचि पहिचान गर्न र नयाँ सीप सिक्न उनले आग्रह गरे ।
विद्यार्थीहरूलाई भविष्यको मार्गचित्र कोर्न र नयाँ सम्भावनाहरू खोज्न प्रेरित गर्ने उद्देश्यले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘इन्स्पायर सिरिज’ नामक विशेष कार्यक्रम समेत सुरु गरेको उनले जानकारी दिएका छन् ।
मन्त्रालयको सामाजिक सञ्जालमार्फत प्रसारण हुने यस कार्यक्रममा विभिन्न क्षेत्रका सफल व्यक्तित्वहरूले आफ्ना सङ्घर्ष, अनुभव र सफलताका कथाहरू साझा गर्ने पोखरेलले जनाएका छन् ।
मन्त्री पोखरेलले नतिजा कुरेर बसेका विद्यार्थीहरूलाई सम्बोधन गर्दै यस कार्यक्रमले उनीहरूलाई भविष्यको बाटो तय गर्न थप ऊर्जा र हौसला प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।
‘यो समयलाई रचनात्मक बनाउनुहोस् र आफ्नो क्षमता निखार्न तर्फ लाग्नुहोस्,’ भन्दै उनले विद्यार्थीहरूलाई शुभकामना समेत दिएका छन् ।
मन्त्रालयले सुरु गरेको यो नवीन प्रयासले घरमै बसेका विद्यार्थीहरूलाई डिजिटल माध्यमबाटै भए पनि जीवनोपयोगी शिक्षा र प्रेरणा प्राप्त हुने अपेक्षा गरिएको छ।