राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)
धरहरा व्यवस्थापन काठमाडौं महानगरअन्तर्गत हुने सहमति
काठमाडौं । ऐतिहासिक धरहरा सञ्चालन तथा व्यवस्थापन काठमाडौं महानगरपालिकाअन्तर्गत हुने भएको छ । संघीय सरकार र महानगरपालिकाबीच शुक्रबार भएको छलफलले धरहरा सञ्चालन तथा व्यवस्थापन गर्न तत्काल अध्ययन समिति गठन गर्ने निर्णय गरेसँगै महानगरपालिकामातहत सञ्चालन हुने भएको कार्यवाहक प्रमुख सुनिता डंगोलले जानकारी दिइन् ।
धरहराको पार्किङ र सञ्चालन ठेक्का लिएको निजी कम्पनीलाई कुनै पनि असर नपर्नेगरी अध्ययन गरेर निष्कर्ष निकाल्ने र सोहीअनुसार अघि बढ्ने गरी महानगरपालिकाले विस्तृत अध्ययन गराउने डंगोलले बताइन् । धरहराको बेसमेन्ट पार्किङ व्यवस्थापनसमेत महानगरपालिकालाई दिने निर्णय’bout संघीय सरकार र महानगरपालिकाबीच छलफलमा भएको हो ।
‘धरहरालाई काठमाडौं महानगरलाई हस्तान्तरण गर्नुपर्छ भन्ने माग गर्दै आएका छौं । पहिले पनि धरहरा व्यवस्थापन तथा सञ्चालन काठमाडौं महानगरपालिकाले नै गर्दै आइरहेको हो र अहिले स्थानीय सरकारका रूपमा धरहरा व्यवस्थापन र सञ्चालन काठमाडौं महानगरपालिकाले गर्छ र यसका लागि तत्पर छ,’ बैठकमा भएको छलफल र महानगरपालिकाको राय उल्लेख गर्दै डंगोलले भनिन् ।
ऐतिहासिक धरहरा महानगरलाई हस्तान्तरण प्रक्रिया र सञ्चालन’bout अध्ययन गर्नका लागि समिति गठन गर्ने निर्णय भए पनि त्यसको विस्तृत ‘मोडालिटी’ केही समयपछि मात्रै सार्वजनिक हुने डंगोलले जानकारी दिइन् । महानगरपालिकाले न्युरोड क्षेत्रलाई ‘नो पार्किङ जोन’ घोषणा गरी कार्यान्वयन गरिरहेको अवस्थामा धरहरामा निःशुल्क पार्किङ सुविधा गर्न सकिने सम्भावना भएको कार्यवाहक प्रमुख डंगोलले जानकारी दिइन् ।
डंगोलले धरहरा व्यवस्थापन र हस्तान्तरण काठमाडौं महानगरपालिकालाई दिइए महानगरको आन्तरिक राजश्व बढ्ने विश्वास पनि व्यक्त गरिन् । सरकारले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रसहित विशिष्ट संरचना सञ्चालन गर्ने अलग्गै संयन्त्र निर्माण गर्नेगरी २०८१ सालमा गरेको निर्णयलाई उल्ट्याउने तयारीस्वरुप काठमाडौं महानगरपालिकालाई जिम्मा लगाउने तयारी गरेको हो ।
नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, ललितपुर गोदावरीको सनराइज सम्मेलन केन्द्र, बुटवल सम्मेलन केन्द्र, झापाको मल्टीपल विजनेस कम्प्लेक्स तथा काठमाडौंको ऐतिहासिक धरहरा सञ्चालनका लागि विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापनसम्बन्धी अलग्गै निकाय खडा गर्ने निर्णय गरेको थियो ।
The post धरहरा व्यवस्थापन काठमाडौं महानगरअन्तर्गत हुने सहमति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....