राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)
पाल्पा अस्पतालको सेवा सुधारमा भौतिक संरचना बाधक
पाल्पा । जिल्लाको सरकारी अस्पतालमा उपचार सेवा बिस्तार, औषधी उपलब्धता र चिकित्सकहरू नियमित भएपछि बिरामी चाप बढ्न थालेको छ । बिरामीको चाप बढेसँगै पाल्पा अस्पतालमा भौतिक संरचना भने अपुग र मापदण्ड अनुसार सेवा दिन अप्ठारो परेको छ ।
सेवाको गुणस्तर सुधारसंगै दैनिक ६ सयसम्म बिरामी अस्पतालबाट सेवा लिन आउने गरेका छन् । अस्पताल राणाकालीन समयदेखिको भवनमै कोठा थप्ने, खाली ठाउँमा कोठा बनाउने गरेर चलाइएको छ । नयाँ भवन बनाउन पटक–पटक पहल भएपनि सरकारी मापदण्डले भवन बन्न सकेको छैन । विगतमा अस्पतालको नयाँ भवन बनाउन १२ रोपनी जग्गा चाहिने सरकारी मापदण्डले भवन निर्माण प्रक्रिया अन्यौलमा परेको हो ।
एउटा कोठामा २–३ जना चिकित्सक बसेर बिरामीको चेकजाँच गर्दा बिरामी र चिकित्सक दुबैलाई अफ्ठेरो परेको छ । अस्पतालले हाडजोर्नी, स्त्रिरोग, फिजियो थेरापी, आँखा, दाँत, तथा कल्चर ल्याब सहित विशेषज्ञ उपचार सेवा दिन थालेको छ तर अस्पतालको मुख्य समस्या सेवा प्रवाहलाई चाहिने प्राप्त कोठा नहुनु नै हो ।
अस्पताल सञ्चालनमा पहिलो भौतिक पुर्वाधार, दोस्रो जनशक्ति र तेस्रो उपकरणको आवश्यकता पर्दछ । पाल्पा अस्पताल हाल भौतिक पुर्वाधारको अभाव रहेको अस्पतालका मेडिकल सुपरिटेण्डन डा. राजेन्द्र पौडेलले बताए ।
अस्पतालले विशेषज्ञ चिकित्सक गुणस्तरीय उपचार सेवा प्रदान गर्न थालेको छ । स्वास्थ्य बीमा रहेका करिब ७० प्रतिशत बिरामीको उपचार पाल्पा अस्पतालमै हुने गरेको छ । लुम्बिनी प्रदेशका ११ जिल्ला अस्पतालबाट अप्रेसन सेवा सञ्चालन भएपनि कोठा अभावले पाल्पा अस्पतालमा सेवा सञ्चालन भएको छैन । थप आधुनिक उपचार सेवा सञ्चालन गर्न पनि असहज छ ।
अस्पताल विकास समितिले प्रदेश र संघीय सरकारसँग ५० शैंया अस्पताल सञ्चालन गर्न सकिने मापदण्ड अनुसार भवन बनाउन अनुमति प्रदान गर्नुपर्ने माग गरेको छ । अस्पतालसँग ८ रोपनी जग्गा रहेको बहुतले भवन निर्माण गर्न सकिन्छ त्यसैले हाल भएको कानूनी जटिलतालाई संघीय सरकारले संशोधन गर्नुपर्ने माग छ । कानुनी जटिलालाई हटाउन लागि परेको पाल्पा अस्पताल विकास समितिका अध्यक्ष अजयमान कर्माचार्यले बताए ।
लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले ८ रोपनी जग्गामा पनि अस्पताल भवन बनाउन सकिने प्रवधान ल्याएको छ तर संघीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यसलाई सम्बोधन गर्न आवश्यक देखिन्छ । राणाकालीन भवनमै चालेको पाल्पा अस्पतालमा नयाँ भवन बनाउने कानूनी जटिलता हटेमात्रै सरकारी अस्पतालमै पाल्पाली पाउने गुणस्तर स्वास्थ्य सेवमा सुधार हुने देखिन्छ ।
The post पाल्पा अस्पतालको सेवा सुधारमा भौतिक संरचना बाधक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....