मुन्दुम पदमार्ग: प्रकृति, संस्कृति र साहसको अनुपम संगम
Tourism Face|7 hours ago
भोजपुर । पूर्वी नेपालको भोजपुर जिल्लामा अवस्थित मुन्दुम पदमार्ग पछिल्ला वर्षहरूमा एक आकर्षक र सम्भावनाशील पर्यटकीय गन्तव्यका रूपमा उभिँदै आएको छ। शान्त, स्वच्छ र प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो पदयात्रा मार्गले आन्तरिक मात्र होइन, विदेशी पर्यटकलाई पनि लोभ्याउन थालेको छ।
एकै यात्रामा अग्ला हरियाली डाँडाकाँडा, उत्तरतर्फ टल्किने हिमशृङ्खला र दक्षिणतर्फ फैलिएका तराईका समथर फाँटको मनोरम दृश्य देख्न पाइने विशेषता यहाँको मुख्य आकर्षण हो। पदयात्राको क्रममा विशाल घाँसे मैदान, चौँरी र भेडीगोठ, गोठालाको जीवनशैली तथा किराँत समुदायको मौलिक संस्कार–संस्कृतिको साक्षात्कार गर्न सकिन्छ। यसले यात्रालाई केवल प्राकृतिक मात्र नभई सांस्कृतिक अनुभवसमेत बनाउँछ।
टेम्केमैयुङ गाउँपालिका ले पदमार्गलाई व्यवस्थित, सुरक्षित र पर्यटकमैत्री बनाउन पूर्वाधार विस्तारमा सक्रियता देखाएको छ। पदमार्ग वरपर धारा, विश्रामस्थल, संकेतचिन्ह र आधारभूत संरचना निर्माण गरिँदै छ। साथै पर्यटकलाई मार्गसम्बन्धी आवश्यक जानकारी उपलब्ध गराउने उद्देश्यले सूचना केन्द्र स्थापना गरिएको छ, जसले भ्रमणलाई सहज बनाएको छ।
स्थानीय किराँत राई, शेर्पा र तामाङ समुदायको सांस्कृतिक पहिचान झल्कने परिकार तथा अर्गानिक खाद्य सामग्री यहाँको अर्को आकर्षण हो। स्थानीय उत्पादन, जडीबुटी र वनस्पतिले प्रकृतिप्रेमी र अनुसन्धानकर्ताको ध्यान तान्ने गरेका छन्।
यस पदमार्गबाट मौसम अनुकूल हुँदा सगरमाथा, मकालु, कञ्चनजङ्घा, कुम्भकर्ण हिमाल, चाम्लाङ लगायत दुई दर्जनभन्दा बढी हिमशृङ्खला अवलोकन गर्न सकिन्छ। मध्यम स्तरको उकालो–ओरालो भएको यो मार्ग नयाँ तथा अनुभवी दुवै प्रकारका पदयात्रीका लागि उपयुक्त मानिन्छ।
‘मुन्दुम’ किराँत राई समुदायको धार्मिक–सांस्कृतिक ग्रन्थसँग जोडिएको नाम हो, जसले यस पदमार्गलाई ऐतिहासिक र आध्यात्मिक आयामसमेत प्रदान गरेको छ। प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र साहसिक यात्राको संयोजनका कारण मुन्दुम पदमार्ग पूर्वी नेपालको नयाँ पहिचानका रूपमा विकसित हुँदै गएको छ।