npl.977 Nepal News Stream

Tourism Face logo Tourism Face

‘जमिनको स्वामित्व र रोजगारी भए जीवन बदलिन्थ्यो कि!’

Tourism Face 1 hour ago

विष्णु गौडेल
नवलपरासी । नवलपरासीको मध्यविन्दुमा नारायणी किनारै–किनार बस्ने बोटे समुदायका आँखा आज पनि नदीतिरै टोलाइरहेका छन्—जीवनका उत्तर खोज्दै। पुस्तौँदेखि माछा मार्ने, डुङ्गा चलाउने र ज्याला मजदूरी गर्दै आएको यो समुदायका लागि नदी नै रोजीरोटी हो, नदी नै भविष्य।

मध्यविन्दु नगरपालिका–२ स्थित बोटे माझी टोलमा बिहानको पहिलो घाम लाग्न नपाउँदै जाल बोकेका पुरुषहरू नदीतिर लाग्छन्। कसैले डुङ्गा खेलेर यात्रु पार गराउँछन्, कसैले पानीमै जाल हालेर दिनभरको जोहो गर्छन्। साँझ फर्किँदा हातमा हुन्छ—दिनभरको पसिनाको थोरै कमाइ। त्यो कमाइले परिवार धान्नुपर्छ, छोराछोरीको पढाइ टार्नुपर्छ, औषधि किन्नुपर्छ।

“हामीलाई माछा मार्नेबाहेक अरू काम खासै आउँदैन,” रनकुमार बोटे भन्छन्, “सीप सिकाउने तालिम र रोजगारीको अवसर भए नयाँ बाटो रोज्न सकिन्थ्यो।” उनका शब्दमा गुनासोभन्दा बढी चाहना सुनिन्छ—परिवर्तनको चाहना।

शिक्षा र स्वास्थ्यमा केही पहुँच बढे पनि रोजगारीको सुनिश्चितता छैन। नयाँ पुस्ता विद्यालय त जान्छ, तर पढाइ सकेपछि के गर्ने भन्ने अन्योल छ। “छोराछोरी पढिरहेका छन्, तर उनीहरूलाई सीप सिकाउने व्यवस्था भए फरक क्षेत्रमा जान सक्थे,” श्यामकुमारी बोटे भन्छिन्, “सम्मानित जीवन जिउन सजिलो हुन्थ्यो।”

विसं २०५८ मा नारायणी नदीमा आएको भीषण बाढीले २३८ घरपरिवार विस्थापित हुँदा करिब ३८ बोटे परिवारलाई यहाँ स्थानान्तरण गरिएको थियो। सरकारले दिएको १० धुर जमिनमा उनीहरू बसिरहेका छन्, तर अझै लालपुर्जा हात परेको छैन। “बसोबास त गरिरहेका छौँ, तर कानुनी कागज नहुँदा मनमा असुरक्षा हुन्छ,” स्थानीयहरू भन्छन्, “जमिन आफ्नै नाममा भए भविष्यप्रति ढुक्क हुन सकिन्थ्यो।”

सामाजिक र आर्थिक रूपमा सीमान्तकृत यो समुदायका लागि परम्परागत पेशा संरक्षणसँगै आधुनिक सीप विकास अनिवार्य देखिन्छ। मत्स्यपालनको आधुनिकीकरण, नदी पर्यटन, साना उद्यम र सीपमूलक तालिममार्फत नयाँ सम्भावना खोल्न सकिने स्थानीयको विश्वास छ।

जिल्लाका गैँडाकोट, देवचुली, कावासोती र मध्यविन्दु क्षेत्रमा बोटे समुदायको उल्लेख्य बसोबास छ। २०७८ सालको राष्ट्रिय जनगणनाअनुसार यहाँ उनीहरूको जनसंख्या २ हजार ४०६ छ। तर संख्याभन्दा ठूलो छ उनीहरूको संघर्षको कथा।

“हामी नदीसँगै जन्मियौँ, नदीमै बाँचेका छौँ,” एक ज्येष्ठ बोटे भन्छन्, “अब हाम्रा सन्तानलाई नयाँ बाटो देखाइदिए हाम्रो संघर्ष सार्थक हुन्थ्यो।”

जमिनको स्वामित्व, सीपको विकास र स्थायी रोजगारी—यी तीन आधार खडा भए बोटे समुदायको जीवन साँच्चै बदलिन सक्छ। नदीसँगको सम्बन्ध जोगाउँदै भविष्य सुरक्षित गर्ने अवसर राज्यले दिन सके, नारायणी किनारको यो बस्ती केवल संघर्षको प्रतीक होइन, सम्भावनाको उदाहरण बन्न सक्छ।

The post ‘जमिनको स्वामित्व र रोजगारी भए जीवन बदलिन्थ्यो कि!’ first appeared on Tourism Face.

Read more news from Tourism Face

Explore by Source or Category