राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)
एमालेको संकल्पः विकासका ५ आधार, सरकारका ११ काम, समृद्धिका २५ थाम
काठमाडौं नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले घोषणापत्र सार्वजनिक गरेको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच अध्यक्ष केपी शर्मा ओलीले २१ फागुनमा हुने निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेका हुन् । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्ने संकल्पसहित एमालेले घोषणापत्र सार्वजनिक गरेको हो ।
‘एमालेले बनाउँछ’ भन्ने मूल नारा बोकेर ल्याइएको घोषणापत्रमा एमालेले विकासका लागि भनेर पाँच आधारभूत घोषणा गरेको छ । एमालेले विशेषगरी महिला, युवा, विद्यार्थी, श्रमिक र विपन्न वर्गलाई लक्षित गरी लोकप्रिय कार्यक्रमहरू घोषणा गरेको छ । डिजिटल नेपाल, सुशासन, कृषिमा आधुनिकीकरण र भ्रष्टाचार नियन्त्रणलाई पनि एमालेले प्रमुखताका साथ घोषणापत्रमा समेटेको छ ।
एमालेले मन्त्रिपरिषद्को पहिलो बैठकबाट तत्काल थाल्ने ११ काम पनि अघि सारेको छ भने ‘समृद्धिका २५ स्तम्भ’ भनेर घोषणापत्रमा उल्लेख गरेको छ । एमालेले अब ५ वर्षभित्र नेपालको अर्थतन्त्रको आकार १ सय खर्ब रुपैयाँ पु¥याउने बाचा पनि गरेको छ । यस्तै, अबको १० वर्षभित्र मुलुकको अर्थतन्त्रको आकार २ सय खर्ब रुपैयाँ पु¥याउने लक्ष्य’boutमा समेत एमालेले घोषणापत्रमा उल्लेख गरेको छ ।
एमालेले हरेक वर्ष ७ देखि ९ प्रतिशतसम्म आर्थिक वृद्धिको लक्ष्य पनि राखेको छ । विद्यार्थीलाई २० लाख रुपैयाँ निब्र्याजी ऋण दिने, श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार रुपैयाँ पु¥याउने, स्वास्थ्य स्वयंसेविकाको भत्ता मासिक २० हजार रुपैयाँ दिने, महिलालाई २० लाख रुपैयाँ निब्र्याजी ऋण दिने र गरिब परिवारको ऋण माफ गर्ने योजनासहितको महत्वाकांक्षी योजनाहरू घोषणापत्रमा समेटिएको छ । घोषणापत्रमा जेनजी उमेर समूहलाई फ्री डेटा उपलब्ध गराउनेदेखि जन्मदर बढाउनेसम्मको योजनासमेत समेटिएको छ ।
‘घट्दो जनसंख्या वृद्धिदरको प्रवृत्ति रोक्न सुत्केरी हुने महिलालाई प्रतिजन्म २० हजार रुपैयाँ मातृशिशु पोषणभत्ता गराइने छ,’ घोषणापत्रमा उल्लेख गरिएको छ । एमाले अध्यक्ष ओलीले १८ देखि २८ वर्षका युवाहरूलाई हरेक महिना १० जिबी डेटा फ्री उपलब्ध गराउने योजना पहिलो प्राथमिकतामा रहेको उल्लेख गरेका छन् ।
घोषणापत्रमा सूचना प्रविधि क्षेत्रमा मात्र काम गर्नेहरूका लागि १० हजार रुपैयाँबराबरको डलर कार्ड उपलब्ध गराउने, विदेशमा रहेका श्रमिकको खातामा योगदानमा आधारित वर्षमा ५ हजार रुपैयाँ सरकारले थपिदिनेलगायतका योजनाहरू रहेका छन् । पारिश्रमिकसहितको इन्टर्नसीप, १० कक्षासम्म खाजा र किशोरीका लागि प्याड निःशुल्क, शिक्षकको मर्यादाक्रम तोक्ने, उनीहरूलाई सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गराउनेलगायतका योजनाहरू एमालेले सार्वजनिक गरेको छ ।
सुरक्षाकर्मीहरूको मनोबल उच्च राख्न उनीहरूको सम्मान र कल्याणका विशेष कार्यक्रमहरू सञ्चालन गरिने घोषणापत्रमा उल्लेख छ । यसैगरी स्वदेशमै रोजगारी सिर्जना गर्ने, सुरक्षित आवास र आधुनिक सहर निर्माण गर्ने र पूर्व–पश्चिम रेलमार्ग तथा मेट्रोरेल जस्ता ठूला पूर्वाधारहरू निर्माण गरी मुलुकको मुहार फेर्ने संकल्पसमेत एमालेले गरेको छ । एमालेले ५ वर्षमा ११ काम, ५ आधारभूत घोषणा र समृद्धिका २५ स्तम्भलाई मुख्य एजेन्डा बनाएको छ । यसैगरी एमालेले खरानी बनाइएको सिंहदरबार, सर्वोच्च अदालतलगायत राज्यका संरचनाहरू उठाउने काम समयसीमा तोकेरै अगाडि बढाउने प्रतिबद्धता गरेको छ ।
‘यी ११ काम हामी तत्काल गर्छाैं’
२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनपछि एमालेको सरकार गठन भएपछि ‘हामी गर्छांै’ भन्दै एमालेले ११ काम तत्काल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
१. १० जिबी इन्टरनेट डाटा जेनजी युवालाई प्रत्येक महिना निःशुल्क उपलब्ध गराउने
२. युवा र उद्यमीलाई १० हजार रुपैयाँबराबरको डलर कार्ड
३. वैदेशिक रोजगारीमा रहेकाहरूको खातामा ५ हजार र सामाजिक सुरक्षामा निरन्तरता
४. विद्यार्थीलाई २० लाख निब्र्याजी ऋण, पारिश्रमिकसहितको इन्टर्नसिप
५. सबै विद्यालयका किशोरीलाई निःशुल्क प्याड, कक्षा १०सम्मका विद्यार्थीलाई खाजा
६. श्रमिकहरूको न्यूनतम पारिश्रमिक २५ हजार
७. शिक्षकको मर्यादा र सामाजिक सुरक्षा
८. स्वास्थ्य स्वयंसेविकालाई २० हजार भत्ता र सामाजिक सुरक्षा
९. २० लाखसम्म उद्यमी महिला निब्र्याजी ऋण, २० हजार सुत्केरी महिला भत्ता र ५ लाखको निःशुल्क जीवन बिमा
१०. २५ हजारसम्मको ऋण मिनाहा, सामाजिक सुरक्षा
११. सुरक्षाकर्मीको सम्मान र कल्याण
यी हुन समृद्धिका २५ स्तम्भ
एमालेले सार्वजनिक गरेको चुनावी घोषणापत्रमा समृद्धिका २५ स्तम्भ अघि सारेको छ । देशलाई उन्नतिको मार्गमा हिँडाउने लक्ष्यका साथ समृद्धिका आधारहरू भन्दै एमाले निर्वाचनपछि पार्टीको सरकार गठन भएपछि लागू गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
१. आधा दशकमा १ सय खर्ब र एक दशकमा २ सय खर्बको अर्थतन्त्र बनाउने लक्ष्य
२. स्वदेशमै पर्याप्त रोजगारी र कामको अवसर सिर्जना गर्ने
३. आधुनिक तथा नागरिकमैत्री आवासको व्यवस्था गर्ने
४. गाउँलाई उत्पादनको केन्द्र र सहरलाई पुँजी तथा प्रविधिको आधार बनाउँदै आर्थिक विकासको नयाँ लहर ल्याउने
५. समुन्नत र स्वच्छ सहर निर्माणका लागि पूर्वाधारको पूर्णता
६. स्वस्थ नेपालीका लागि घरघरमा स्वच्छ खानेपानी पु¥याउने अभियान
७. उत्पादनमा वृद्धि गरी कुल गार्हस्थ्य उत्पादनमा उद्योगको योगदान २० प्रतिशत पु¥याउने
८. भुक्तानी सन्तुलन राष्ट्रको पक्षमा ल्याउने नीति
९. आधुनिक खेती, उन्नत व्यवसाय कृषिमै रोजगारी र पर्याप्त आय सुनिश्चित गर्ने
१०. हरियो वन, समुदायको धन ः वनको संरक्षण, उपयोग र दिगो व्यवस्थापन गर्ने
११. सहकारी क्षेत्रमा पारदर्शिता कायम गरी बचतकर्ताको हित संरक्षण गर्ने
१२. पर्यटकको संख्या र बसाइ अवधि बढाएर स्थानीय तहमा आम्दानी बढाउने
१३. बाह्रै महिना सिँचाइ सुविधा पु¥याई खाद्यमा आत्मनिर्भर बन्ने
१४. ज्ञानयुक्त नागरिक तयार गर्न उन्नत प्रविधि र गुणस्तरीय शिक्षामा जोड।
१५. निरोगी नेपालका लागि स्वस्थ खानपान र शारीरिक व्यायामको महाअभियान
१६. विकास र सुशासनको आधारको रूपमा डिजिटल प्रविधिलाई अघि बढाउने
१७. आधुनिक भौतिक पूर्वाधार र दिगो यातायात प्रणालीको विकास गर्ने
१८. जलविद्युतको स्वदेशमा खपत बढाउने र विदेशमा निर्यात गर्ने
१९. भदौ २३ र २४ को घटनामा क्षति भएका सार्वजनिक भवनहरू एक वर्षभित्र पुनर्निर्माण गर्ने
२०. नागरिकको बचतको सुरक्षा र उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गर्ने
२१. नवीन विचार भएका युवाहरूलाई समाज रूपान्तरणको आधार बनाउने
२२. खेलकुदको विकास गरी राष्ट्रको मान बढाउने
२३. भ्रष्टाचारमुक्त सुशासन र गुणस्तरीय सेवा प्रवाह
२४. कसैसँग शत्रुता नराखी सन्तुलित परराष्ट्र सम्बन्ध कायम गर्ने
२५. गैरआवासीय नेपालीलाई सद्भाव दूत मानी मातृभूमिको विकासमा सहभागी गराउने
The post एमालेको संकल्पः विकासका ५ आधार, सरकारका ११ काम, समृद्धिका २५ थाम appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....