npl.977 Nepal News Stream

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

दैलेखमा प्रादेशिक महोत्सव हुँदै, स्थानीय उत्पादन र पर्यटन प्रवर्द्धनमा जोड

राजधानी समाचारदाता 7 hours ago

काठमाडौं । दैलेखमा वैशाख ७ गतेदेखि १९ गतेसम्म प्रादेशिक महोत्सव आयोजना हुने भएको छ । दैलेख उद्योग वाणिज्य संघले पत्रकार सम्मेलन गरी ‘कृषि, उद्यम, पर्यटन र व्यापार, समृद्ध दैलेखको आधार’ भन्ने नारासहित महोत्सव आयोजना गर्न लागिएको जानकारी दिएको हो ।

महोत्सवमार्फत दैलेखका स्थानीय उत्पादन, पर्यटकीय क्षेत्र तथा सांस्कृतिक सम्पदाको प्रवर्द्धन गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ। महोत्सवमा कर्णालीको पहिचान झल्कने स्टलहरू राखिनेछन्, जसमा स्थानीय अर्गानिक उत्पादनलाई विशेष प्राथमिकता दिइनेछ।

आयोजकका अनुसार महोत्सवमा दैलेखका ११ वटै पालिकाका कला, संस्कृति, भाषा र भेषभूषा प्रस्तुत गरिनेछ । विशेषगरी न्याउली भाका र ठाडो भाका लगायतका मौलिक सांस्कृतिक प्रस्तुति समेटिनेछ भने ३८ जातिको सांस्कृतिक पहिचानलाई उजागर गरिने योजना रहेको छ ।

संघका अध्यक्ष नरेन्द्र थापाले दैलेखको सम्पदा, संस्कृति, इतिहास र पर्यटनलाई राष्ट्रियस्तरमा चिनाउने लक्ष्य लिइएको बताए । उनले दैलेख कृषि, जलविद्युत र पर्यटनका दृष्टिले महत्वपूर्ण जिल्ला भएकाले यसको समग्र विकासका लागि सबैको सहकार्य आवश्यक रहेको उल्लेख गरे।

महोत्सवमा दैलेखका ऐतिहासिक तथा धार्मिक स्थलहरू जस्तै पञ्चकोशी तीर्थस्थल, पुराना शिलालेख, सयौँ वर्ष पुराना रुख, देवल, खोलानाला तथा वनजंगल र जडीबुटीको सम्भावनालाई समेत उजागर गरिने जनाइएको छ ।

संघले दैलेखमा उत्पादन हुने वस्तुहरूलाई एउटै स्थानमा राख्ने उद्देश्यसहित “कोशेली घर” निर्माण गर्ने योजना अघि सारेको छ। महोत्सवबाट उठेको रकम यसै कार्यमा प्रयोग गरिने योजना रहेको जनाइएको छ।

यसैबीच, दैलेखी सेवा समाज काठमाडौंका अध्यक्ष प्रताप शाहीले दैलेख जलाधार, धार्मिक र ऐतिहासिक दृष्टिले अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै दैलेखबिना नेपाल अधुरो जस्तो लाग्ने बताए ।

The post दैलेखमा प्रादेशिक महोत्सव हुँदै, स्थानीय उत्पादन र पर्यटन प्रवर्द्धनमा जोड appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Read more news from राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

Explore by Source or Category