Sutra News
रवि लामिछानेले भने– सुधन गुरुङसँग छलफल भइरहेको छ, अब कुलमानसँग गर्छौँ
चितवन । रास्वपा सभापति रवि लामिछानेले आफ्नो पार्टी आगामी निर्वाचनमा बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने चरणमा पुगिनसकेको बताएका छन् ।
मंगलबार तारेख बुझ्न चितवन आइपुगेका सभापति लामिछानेले सोमबार राति बालेन र आफूबिच भएको वार्ताबारे जानकारी दिने क्रममा बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने चरणमा रास्वपा प्रवेश गरिनसकेको बताएका हुन् ।
सोमबार मध्यरातिसम्म लामिछाने र बालेनबिच भेटवार्ता भएको थियो । उनीहरुबिच भेटवार्ता हुनुअघि रास्वपाका नेता शिशिर खनालले आगामी निर्वाचनमा रास्वपाले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने बताएका थिए ।
यसलगत्तै बालेनसँग छलफलमा पनि लाछिानेले प्रधानमन्त्रीको उम्मेदवार बन्न प्रस्ताव गरिएको बताइएको थियो । तर, यसको केही घण्टामा तारेख बुझ्न चितवन आएका लामिछानेलाई यसबारे पत्रकारले जिज्ञासा राखेका थिए ।
जिल्ला अदालत चितवन परिसरमा पत्रकारले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति गर्नु भएको हो ? भन्दै गरेको प्रश्नको जवाफ दिँदै लामिछानेले भने, ‘ हामी त्यस चरणमा प्रवेश गरेका छैनौँ ।’
आफूले वैकल्पिक राजनीतिक शक्तिहरूसँगको संवाद थालेको बताएका उनले सोही क्रममा बालेनसँग भेटेको र भेटमा एक अर्कोको कुरा सुन्ने मात्र काम भएको जानकारी दिए ।
‘एक अर्कासँग परिस्थितिबारे जानकारी लिनुपर्यो । ’तपाईंहरू हतार नगर्नुस्। बिस्तारै राजनीतिक चरणमा प्रवेश गर्छौं,’ सभापति लामिछानेले भने । वैकल्पिक शक्तिका रुपमा आएका सुधन गुरुङसँग पनि कुराकानी भइरहेको र कुलमान घिसिङसँग पनि संवाद गर्ने उनको भनाइ छ ।