Clickmandu
आफ्नो धैर्यतालाई कमजोरी नठान्न रास्वपालाई एमालेको आग्रह, ‘नयाँको मानक’ यहि हाे ?

काठमाडौं । नेकपा एमालेले आफ्नो धैर्यतालाई कमजोरीको रुपमा नलिन आग्रह गरेको छ । बिहीबार राति दाङको तुल्सीपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले एमालेको चुनाव चिह्न ‘सूर्य’ अङ्कित झन्डा जलाएका थिए । सो विषयमा नेकपा एमालेले आफ्नो चुनाव चिह्न ‘सूर्य’ अङ्कित झन्डा जलाएको घटनाको निन्दा गर्दै यस्तो आग्रह गरेको हो ।
एमालेका केन्द्रीय प्रचार संयोजक मीनबहादुर शाहीले विज्ञप्ति जारी गरी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अपाच्य शब्दसहित नाराबाजी तथा महासचिव शङ्कर पोखरेलको गृहनगरमै रास्वपाका कार्यकर्ताले गरेको यो शैली राज्य, जनता, लोकतन्त्र र संविधानविरुद्धको अपराधजन्य कार्य भएको उल्लेख गरेका छन् ।
देश जलाउनेहरूबाटै एमालेको चुनाव चिन्ह ‘सूर्य’ अंकित झण्डा जलाउनु निर्वाचन आचारसंहिताको गम्भीर उल्लङ्घन भएको एमालेले टिप्पणी गरेको छ ।
विज्ञप्तिमा भनिएकोछ, ‘दलीय प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्नु लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष हो । प्रतिस्पर्धाकै लागि चुनावी माहोलमा होमिएको एउटा स्थापित राष्ट्रिय शक्ति एमालेको आस्थामा चोट पुऱ्याउने काम रास्वपाले भन्ने गरेको ‘नयाँको मानक’ बन्न सक्ला । तर यो लोकतन्त्रको परिधिभित्र पर्दैन । रास्वपाका कार्यकर्ताको यो हर्कत मुलुकलाई चरम अस्थिरताको चक्रव्यूहमा फसाउने र चुनावी द्वन्द्वलाई आमन्त्रण गरिएको एक उदाहरण हो ।’
एमाले अनुशासित पार्टी भएकाले यो घटनाबाट उत्तेजित नभएको उल्लेख गरेको छ । ‘यद्यपि हाम्रो संयमता, धैर्य हामी कमजोर भएर होइन । एमाले कानुनी शासनको सम्मान गर्ने भएकाले झण्डा जलाउने रास्वपाका कार्यकर्ताहरूलाई तत्काल पहिचान गरी कानुनी दायरामा लिई कारवाही गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउन चाहन्छ ।’ विज्ञप्तिमा भनिएको छ ।
‘झण्डा जलाउने कार्यबाट निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघन भएको छ । तसर्थ, निर्वाचन आयोगले सम्बन्धित दललाई तत्कालै प्रष्टीकरण लिई उनीहरूको जवाफ सार्वजनिक गर्न एमाले जोड्दार माग गर्दछ । यदि झण्डा जलाउने दल र त्यसका कार्यकर्ताहरू माथि कानुनी कारवाही नगरिए त्यसबाट उत्पन्न हुने जुनसुकै परिस्थिति र घट्नाको जिम्मेवार सरकार, निर्वाचन आयोग र झण्डा जलाउने दल रास्वपा हुने यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ ।’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।