राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)
अपहरणमा परेकी ७ बर्षीया बालिकाको उद्दार
राजविराज । सप्तरीको खडक नगरपालिका बाट अपहृत ७ बर्षीय बालिकालाई प्रहरीले दुई दिनपछि सकुशल उद्दार गरेको छ । उक्त पालिकाको वडा नम्बर ८ विसनपुर टोलका इमरान खानका ७ बर्षीया छोरी आसु खातुन भन्ने नेहालाई बिहीबार साँझ प्रहरीले उद्दार गरेको हो ।
दुईदिन अघि मंगलबार साँझ अचानक उनी परिवारजनसँग सम्पर्क विहीन भएकी थिइन् । तर, अपहरणकारीले फिरौती वापत रकम माग्दै फोन गरेपछि उनको अपहरण भएको खुलेको थियो ।
एक करोड रुपैयाँ र ५ किलो सुन फिरौती माग्ने अपहरणकारी प्रहरी फन्दामा
गोप्य सुचना तथा विभिन्न प्रविधिको प्रयोगको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीको कमाण्डमा इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक संजिव वोगटी, प्रहरी चौकी विसनपुर प्रहरी सहायक निरीक्षक हरेन्द्र प्रसाद यादव सहितको संयुक्त प्रहरी टोलीले रुपनी गाउँपालिका १ स्थित खाँडो खोला नजिकको एकान्त स्थलमा राखेको अवस्थामा बालिकाको उद्दार गरेको हो ।
उद्दार गरिएकी बालिकाको स्थानिय गजेन्द्रनाराण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण गरि परिवारजनको जिम्मा लगाइएको छ ।
बालिका अपहरणमा संलग्न रहेका खडक नगरपालिका ९ लालपट्टी टोलका ३० बर्षीय ईम्तियाज अहमद पक्राउ परेका छन् । शुक्रबार उनलाई अपहरण तथा शरीर बन्धक, मानव बेचबिखन तथा ओसारपसार कसुरमा सप्तरी जिल्ला अदालतबाट ७ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पुरीले बताए ।
मंगलबार साँझ नेहा सम्पर्क बिहीन भएपछि परिवारजन खोजतलाशका लागि आफन्तजनका साथै प्रहरीमा पुगेका थिए । प्रहरीले खोज तलाश गरी रहेकै बेला अपहरणमा परेकी बालिकाका बुवा इमरानलाइ अपहरणकारीले फोन गरी फिरौती वापत एक करोड रुपैयाँ तथा ५ किलो सुन मागेको प्रहरीको भनाई छ ।
अपहरणकारीले उक्त फिरौती रकम लिएर खाँडो खोला नजिक नआए छोरीको ज्यानै जान सक्ने भन्दै इमरानलाई धम्काएको अनुसन्धानको क्रममा खुलेको छ । ईम्तियाजले फिरौतीकै लागि उक्त दिन घर नजिकै खेली रहेकी नेहालाई मोटरसाईकलमा राखि अपहरण गरि लिई गएको स्वीकारेका छन् ।
The post अपहरणमा परेकी ७ बर्षीया बालिकाको उद्दार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....