npl.977 Nepal News Stream

News of Nepal logo News of Nepal

रवीन्द्र मिश्रले भ्रम फैलाएको राप्रपा क्षेत्रीय समितिको आरोप

न्युज अफ नेपाल 21 hours ago

काठमाडौँ। 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौँ क्षेत्र नम्बर– १ क्षेत्रीय समितिले पार्टीको वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले फागुन २१ गतेको निर्वाचनको लागि प्रत्यक्ष तर्फको उम्मेदवार सिफारीसको विषयमा भ्रम फैलाएको आरोप लगाएको छ ।

राप्रपा काठमाडौँ क्षेत्र नम्बर– १ क्षेत्रीय समितिको सोमवार बसेको बैठकले फागुन २१ को निर्वाचनको लागि प्रत्यक्ष तर्फ पार्टीको वरिष्ठ नेता पशुपति शम्शेर राणा, समाजसेवी एवम् पार्टीको सह– कोषाध्यक्ष शोभित उप्रेती, प्रतिमा थापा श्रेष्ठ र रामेश्वर श्रेष्ठलाई सिफारिस गरेको जनाएको छ । बैठकले वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको नाम सिफारिस गरिएको भनी सामाजिक सञ्जाल र केही सञ्चारमाध्यमहरुमा आएको सूचनामा विश्वास नगर्न सबैलाई आग्रह गरेको छ । 

बैठकले प्रत्यक्ष तर्फ पार्टीको वरिष्ठ नेता पशुपति शम्शेर राणा लगायत चार जना र समानुपातिक तर्फ प्रा. डा. जयन्तनाथ खनाल लगायत छ जनाको नाम पुष १ गते नै सिफारिस गरेर त्यसलाई केन्द्रीय कार्यालयमा दर्ता गरिएको र पूर्ववत् निर्णयमा कुनै फेरबदल नभएको जनाएको छ ।

राप्रपा काठमाडौँ क्षेत्र नम्बर– १ क्षेत्रीय समितिको बैठकमा राप्रपाका केन्द्रीय सल्लाहकार वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, समिति सदस्य रामेश्वर श्रेष्ठ, विनोद दवाडी, बागमती प्रदेश ख का अध्यक्ष भीमसेन पुरी, वडा नम्बर– १० का अध्यक्ष सरोजजंग थापा, वडा नम्बर– ११ का अध्यक्ष अम्बिका अर्याल, वडा नम्बर– २९ का अध्यक्ष रिना शाही वली, सदस्य शक्ति चौलागाई, विपिन वली, वडा नम्बर– ३१ का अध्यक्ष चमन कोईराला र सचिव रामकिशोरको सहभागिता रहेको थियो ।

१६ सदस्यीय  समितिमा ११ जनाको सहभागिता रहेको बैठकले वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले प्रत्यक्ष तर्फको सिफारीसमा आफ्नै नाम रहेको भन्दै भ्रम फैलाएको निष्कर्ष सहित त्यसलाई खारेज गरेको समिति सदस्य विनोद दवाडीले बताए । 

Read more news from News of Nepal

Explore by Source or Category