npl.977 Nepal News Stream

Sutra News logo Sutra News

के निर्वाचन विथोल्न खोजिएको हो ?

सुत्र न्युज 22 hours ago

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन आउन १३ दिन बाँकी छ । राजनीतिक दलहरुले यही फागुन ४ गतेबाट आफ्नो प्रचारप्रसार तीव्र बनाएका छन् ।

तर, बिहीबार राति (फागुन ७) नेकपा (एमाले)को झण्डा जलाइएको विषयलाई लिएर एमाले र रास्वपाबीचको तिक्तता चुलिएको छ । एमालेका विभिन्न संगठनले झण्डा जलाउनेलाई कारबाही नगरे प्रतिकारमा उत्रने चेतावनी दिएलगत्तै रास्वपाले पूर्वनिर्धारित कार्यक्रम स्थगित गर्न थालेको छ ।

एमालेले रास्वपाका नेता कार्यकर्ताले आफ्नो झण्डा जलाएको आरोप लगाएको छ । तर, यो आरोपलाई अस्वीकार गर्दै रास्वपाले घुसपैठ भएको दाबी गरेको छ ।

बिहीबार राति दाङको तुलसीपुरमा एक समूहले एमाले पार्टीको झण्डा जलाउँदै एमाले नेतृत्वविरुद्ध नारावाजी गरेको थियो । यसप्रति महासचिव शंकर पोखरेलसहित एमाले नेताहरुले आपत्ति जनाउँदै झण्डा जलाउनेलाई कारबाहीको माग गरेका छन् ।

एमालेको लडाकु दस्ता नेशनल भोलेन्टियर्स फोर्स र विद्यार्थी संगठन अनेरास्ववियुले पार्टीको झण्डा जलाउनेलाई तत्काल कारबाही गर्नुपर्ने भन्दै अन्यथा प्रतिकारमा उत्रने चेतावनी दिएका छन् ।

एमालेले झण्डा जलाएको आरोप रास्वपाले अस्वीकार गर्दै खण्डन गरेको छ । बिहीबार राति नै रास्वपा दाङका सभापति विनय घिमिरेले विज्ञप्ति निकालेर एमालेको झण्डा जलाउने कार्यमा आफूहरुको संलग्नता नरहेको बताएका छन् । उनले पनि एमालेको झण्डा जलाउने कार्यमा संलग्नलाई कारबाहीको माग गरेका छन् ।सभापति घिमिरेले शुभेच्छुकहरूको उत्साहजनक उपस्थितिले अत्तालिएकाहरूले घुसपैठ गरी रास्वपाविरुद्ध भ्रमपूर्ण वातावरण सिर्जना गरेको आरोप लगाएका छन् ।

पार्टीको झण्डा जलाएपछि प्रतिकारमा उत्रने एमालेको लडाकु दस्ता नेशनल भोलेन्टियर्स फोर्स र विद्यार्थी संगठन अनेरास्ववियुको उद्घोषले देश मुडभेटतर्फ उन्मुख हुन खाजेको भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ ।

बिहीबार राति एमालेको झण्डा जलाउने कार्यमा संलग्नलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । शुक्रबार दिउँसो १ बजेसम्म प्रहरीले कसैलाई पक्राउ गरेको छैन । सो घटनामा संलग्नलाई कानुनी दायरामा नल्याउँदा दलहरुबीच मुडभेट हुन सक्ने भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ ।

एमालेका युवा दस्ता प्रतिकारमा उत्रने बताइरहँदा रास्वपाले पूर्वनिर्धारित दुईवटा सभा स्थगित गरेको छ । रास्वपाले शनिबार रुपन्देहीको भैरहवा र आइतबार पोखरामा गर्ने भनिएको चुनावी सभा स्थगित गरेको हो । दुवै कार्यक्रम विशेष कारणवस स्थगित गर्नुपरेको रास्वपाले जनाएको छ ।

 

यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदै छ । दलहरुलाई यही फागुन ४ देखि १८ गतेसम्म प्रचारप्रसार गर्न निर्वाचन आयोगले समय निर्धारण गरेको छ । तर, चुनावी प्रचारमा लाग्नुपर्ने दलहरुबीच झडप हुने, सभा स्थगित गर्नुपर्ने अवस्था सिर्जना भएकाले कतै निर्वाचन नै विथोल्न खोजिएको हो कि भन्ने आमजनतामा आशंका पैदा भएको छ ।

Read more news from Sutra News

Explore by Source or Category