npl.977 Nepal News Stream

Tourism Face logo Tourism Face

पूर्वाधार थपिँदा खोटाङका पर्यटकीयस्थलमा पर्यटकको घुइँचो लाग्न थाल्यो

Tourism Face 1 day ago

टुरिजमफेस
खोटाङ । नयाँ वर्ष २०८३ को अवसरमा वैशाख–१ गते खोटाङका पर्यटकीयस्थलमा दिनभर आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्यो । जिल्लामा केही वर्षयता मात्रै नयाँ वर्षको अवसर पारेर पर्यटकीयस्थल घुम्न जाने, सामूहिकरुपमा वनभोज खाँदै रमाइलो गर्ने प्रचलन ह्वात्तै बढेको छ ।

नयाँ वर्षको पहिलो दिन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको रुपाकोट, मझुवागढी, भुलभुले, बगरेभञ्ज्याङ, काङ्साहोप ताल, बाँझोबारी, हलेसी नगरपालिकाको तुवाचुङ–जायजुम, भुम्जुडाँडा, जन्तेढुङ्गा गाउँपालिकाको जन्तेढुङ्गा, होङ्मा पोखरी, बराहपोखरी गाउँपालिकाको बराहपोखरी, केपिलासगढी गाउँपालिकाको केपिलासगढी, मैयुङ, चिलिमढुङ्गा, खोटेहाङ गाउँपालिकाको, रोक्सिमभञ्ज्याङ, कपासेभञ्ज्याङ, साकेला गाउँपालिकाको तावाभञ्ज्याङ, टेम्के र स्याल्मे, दिप्रुङ चुइचुम्मा गाउँपालिकाको मैस्याङटार, रावाबेँसी गाउँपालिकाको डुम्रेकोटगढी र प्रिमाकोटगढी, ऐसेलुखर्क गाउँपालिकाको बहानेपोखरी र झुलेडाँडालगायत पर्यटकीयस्थलमा नयाँ वर्ष मनाउने पर्यटकको बाक्लो घुइँचो लागेको थियो ।

खोटाङ र भोजपुरको सिमानामा पर्ने पर्यटकीयस्थल टेम्केडाँडामा जिल्लाका सबै स्थानीय तह तथा छिमेकी जिल्लाहरु उदयपुर, सुनसरी, सङ्खुवासभा, इलाम, तेह्रथुम, पाँचथरलगायतका पर्यटक पुगेका थिए । समुद्री सहतदेखि तीन हजार १० मिटर उचाइमा पर्ने पर्यटकीयस्थल टेम्केडाँडामा भ्यू–टावर निर्माणाधीन अवस्थामा छ । प्राकृतिकरुपमै पर्यटकीयस्थल टेम्केडाँडामा कोशी प्रदेश सरकारको लगानीमा फलामे ट्रस जडान गरेर भ्यू–टावर निर्माण सुरु गरेपछि निर्माणाधीन अवस्थामै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित हुन थालेका छन् ।

पछिल्लो समय जिल्लाका पर्यटकीयस्थलमा स्थानीय बासिन्दा बाहेक कर्मचारी, सङ्घसंस्थाका प्रतिनिधि, विद्यार्थी, युवायुवती, वृद्धवृद्धा, युगल जोडीसमेतको बाक्लो उपस्थिति देखिने गरेको छ । नयाँ वर्ष मनाउनका लागि राँगा, खसी, सुँगुर, कुखुराको भाले, पेय पदार्थसहित पर्यटकीयस्थल पुगेका जिल्लावासीहरुले सुख, शान्ति, समृद्धिको कामना गर्दै एकापसमा शुभकामना आदानप्रदान गर्छन् ।

ग्रामीण क्षेत्रमा बसोबास गर्नेहरु घण्टौँ पैदलयात्रापछि पर्यटकीयस्थल पुगेर सामूहिक रुपमा वनभोज खाँदै, नाचगान र रमाइलो गरेर नयाँ वर्ष मनाउने गरेका छन् । सडक सञ्जालमा जोडिएका कतिपय स्थानीय तहका बासिन्दा रिजर्भ गरिएका गाडी तथा मोटरसाइकल लिएर पर्यटकीयस्थलमा पुग्ने गरेका छन् ।

वर्षको सुरुका दिन रमाइलो गर्दा वर्षभरि हर्ष र खुसी मिल्ने विश्वासका साथ नयाँ वर्षलाई विशेष महत्व दिएर मनाउने गरिएको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका सञ्जीव राईले बताए । “वर्षभरि विभिन्न कामले थकित भइन्छ । नयाँ वर्ष लागेसँगै केही नयाँ काम गरौँ भन्ने सबैमा हुन्छ”, उनले भने, “वर्षको सुरुका दिन रमाइलो गर्दा वर्षभरि हर्ष र खुसी मिल्ने जनविश्वास छ । त्यसैले नयाँ वर्षलाई विशेष महत्व दिने गरिएको हो ।”

पछिल्लो समय पर्यटकीयस्थलबाहेक अग्ला–अग्ला थुम र डाँडामा समेत नयाँ वर्ष मनाउने आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्न थालेको छ । दिक्तेल बजारको सबैभन्दा नजिक रहेको पर्यटकीयस्थल रुपाकोट र मझुवागढीमा नयाँ वर्षको अघिल्लो दिनदेखि नै सर्वसाधारणको बाक्लो घुइँचो लाग्ने गरेको स्थानीय बताउँछन् ।

चारैतिर घना जङ्गलले घेरिएको पर्यटकीयस्थल रुपाकोटमा दिक्तेल, खार्मी, नुनथला, जालपा, पाथेका, नेर्पा, लफ्याङ, खाल्लेलगायका बुढापाका, युवायुवती र बालबालिकाको चहलपहल हुन्छ । परिवारका सदस्य, साथीभाइ र आफन्तसहित पर्यटकीयस्थल रुपाकोट पुगेका सर्वसाधारण गीत तथा दोहोरी गाउँदै नाचेर रमाइलो गर्छन् ।

नयाँ वर्ष मनाउन बन्दोबस्तीका सामानसहित रुपाकोटमा आइपुगेका स्थानीय रुपाकोटमै दुई÷तीन दिनसम्म बसेर रमाइलो गर्ने गरेको खार्मीका दिलकुमार राईले बताए । “वर्षको अन्तिम दिन अर्थात् चैत मसान्तमा रुपाकोट आउने र रातभरि जाग्राम बसेर रातको १२ बजे पुरानो वर्षलाई बिदा गरिन्छ । यो चलन लामो समयअघिदेखि चलिआएको हो”, उनले भने, “नया“ वर्षको पहिलो दिन दिनभर रुपाकोट क्षेत्र घुमफिर गर्दै रमाइलो गरिन्छ । राति जुहारी गाउँदै बसेर बिहान सूर्योदयको स्वागतपछि विभिन्न परिकार खाइन्छ । सूर्योदयको बेला वर्षभरि शुभ रहोस् भन्ने कामना गर्दै नयाँ कामको थालनी गर्ने अठोट लिएर घर फर्किने चलन छ ।”

पर्यटकीयस्थल रुपाकोटबाट सर्वोच्च शिखर सगरमाथा, उच्च हिमश्रृङ्खला, तराईका फाँट, घाँसेमैदान तथा सूर्यदय तथा सूर्यास्तको दृष्यसमेत अवलोकन गर्न सकिन्छ । समुन्द्री सतहदेखि करिब दुई हजार ६०० मिटर उचाईमा रहेको रुपाकोटमा नयाँ वर्षबाहेक अन्य समयमा समेत आन्तरिक तथा बाह्य पर्यटक जाने गरेका छन् ।

आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख पर्यटकीय गन्तव्य बन्दै गएको रुपाकोटमा ३० फिट अग्लो भ्यूटावरसमेत निर्माण गरिएको छ । नेपाल सरकारले निर्धारण गरेको १०० पर्यटकीय गन्तव्यमा पर्ने ‘मुन्धुम ट्रेल’ पदमार्गमा निर्माण गरिएको सो टावरका लागि नगरपालिकाले रु २७ लाख बजेट उपलब्ध गराएको थियो ।

पर्यटकीयस्थलमा आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने थालेपछि जिल्लाका सबै स्थानीय तहले आ–आफ्नो क्षेत्रमा पर्ने पर्यटकीयस्थलको प्रवद्र्धन गर्न स्तरोन्नतिको काम गरेका छन् । प्राकृतिकरुपमै सुन्दर रहेको पर्यटकीयस्थललाई देशमा सङ्घीयता लागू भएपछि तीनवटै तहका सरकारको लगानीमा भौतिक सुविधासहित स्तरोन्नति गरिएसँगै आन्तरिक तथा बाह्य पर्यटक झनै आकर्षित हुन थालेका हुन् ।

पर्यटन क्षेत्रलाई आम्दानीको स्रोतका रुपमा विकास गर्ने उद्देश्यसहित जिल्लाका सबै स्थानीय तहले आ–आफ्नो क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीयस्थलको प्रवद्र्धन गर्न स्तरोन्नतिका साथै प्रचारप्रसारसमेत सुरु गरेका छन् । हलेसी तुवाचुङ नगरपालिकाले विशेषगरी बाह्य पर्यटकलाई लक्षित गरेर क्युआरकोर्डमार्फत पर्यटकीयस्थल अध्ययन गर्न सकिने एप्स नै विकास गरिरहेको छ ।

The post पूर्वाधार थपिँदा खोटाङका पर्यटकीयस्थलमा पर्यटकको घुइँचो लाग्न थाल्यो first appeared on Tourism Face.

Read more news from Tourism Face

Explore by Source or Category