Clickmandu
कार बम विस्फोटमा रुसका सैनिक अधिकृतको मृत्यु, युक्रेनको हात रहेको आशंका

एजेन्सी । रुसको राजधानी मस्कोको दक्षिण भागमा सोमबार कारमुनि राखिएको विस्फोटक पदार्थ विस्फोट हुँदा एक वरिष्ठ रुसी जनरलको मृत्यु भएको छ ।
रुसको अनुसन्धान समितिले जनरल स्टाफ अन्तर्गतको तालिम विभाग प्रमुख रहेका लेफ्टिनेन्ट जनरल फानिल सर्भरोभको हत्याबारे अनुसन्धान सुरु गरेको एएफपीले रिपोर्ट गरेको छ ।
एक विज्ञप्ति जारी गरेर अनुसन्धान एजेन्सीले यो आक्रमण युक्रेनी विशेष बलसँग सम्बन्धित थियो कि भन्ने विषय अनुसन्धानको एउटा पाटो भएको बताएको छ ।
फेब्रुअरी २०२२ मा रुसले युक्रेनमा सैन्य कारबाही सुरु गरेदेखि नै रुसभित्र र रुसको नियन्त्रणमा रहेका युक्रेनका भागहरूमा रुसी सैन्य अधिकारीहरू र क्रेमलिन समर्थक व्यक्तिहरूलाई लक्षित गरी भएका शृंखलाबद्ध आक्रमणहरूको आरोप कीभमाथि लाग्दै आएको छ ।
यो हत्या हालैका वर्षहरूमा भएका उच्चस्तरीय आक्रमणहरूपछि भएको हो । अप्रिल महिनामा जनरल स्टाफका उपप्रमुख जनरल यारोस्लाभ मोस्कालिनको मस्को नजिकै भएको कार बम विस्फोटमा मृत्यु भएको थियो । डिसेम्बर २०२४ मा रुसको रेडियोलोजिकल, रासायनिक र जैविक रक्षा बलका प्रमुख इगोर किरिलोभको मस्कोमा विस्फोटक पदार्थ जडान गरिएको इलेक्ट्रिक स्कुटर विस्फोट हुँदा मृत्यु भएको थियो । त्यसको जिम्मेवारी पछि युक्रेनको एसबीयू सुरक्षा सेवाले लिएको थियो ।
यसअघिका घटनाहरूमा अप्रिल २०२३ मा रुसी सैन्य ब्लगर म्याक्सिम फोमिनको हत्या समावेश छ । सेन्ट पिटर्सबर्गको एउटा क्याफेमा मूर्ति विस्फोट हुँदा उनको मृत्यु भएको थियो । अगस्ट २०२२ मा कार बम आक्रमणमा कट्टर राष्ट्रवादी विचारक अलेक्जेन्डर डुगिनकी छोरी दारिया डुगिना मारिएकी थिइन् ।
पछिल्लो आक्रमणका लागि जिम्मेवार व्यक्तिहरू पत्ता लगाउन अनुसन्धान भइरहेको रुसी अधिकारीहरूले बताएका छन् ।